काठमाडौं – विद्यार्थीहरुले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) दिनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका छन् ।सरकारले एनओसीमा रोक लगाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । विभिन्न इन्स्टीच्युटमा अध्ययनरत विद्यार्थीहरुले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।
शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा ब्रिजकोर्ष, भाषा पढ्न जानेलाई पनि एनओसी दिँदै आएको थियो । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तह वा सो भन्दापछिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले त्यसभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि चैत १९ गतेदेखि एनओसी दिन बन्द गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो ।