काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । बुधवार उहाँलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको हो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि मंगलवार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।
चिकित्सकले थप उपचारका लागि भारत लैजान आग्रह गरेपछि उहाँलाई आज बिहान भारत लगिएको हो । नयाँ दिल्लीस्थित अल इण्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उहाँको थप उपचार हुनेछ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । फेरि उही समस्या बल्झिएपछि थप उपचारका लागि आज भारत लगिएको छ ।