अर्थतन्त्रमा देखिको समस्याले व्यावसायिक मन्दी हुँदा सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ४० प्रतिशत सटरहरु खालि भएका छन् । पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रुपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायीहरु पलायन हुने क्रम बढेसँगै शहरी क्षेत्रमा व्यवसायिक सटर तथा गोदामहरु धमाधम खालि हुन थालेका हुन् । बजारमा देखिएको बैंकिङ तरलताको कारण व्यापार व्यवसाय उत्साहजनक छैन ।
आर्थिक गतिविधि नियमित नहुँदा व्यापार व्यवसाय चल्न छोडे पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सक्दा पसल नै बन्द गरेर बस्न बाध्य भएको व्यवसायीहरुले बताए । उनीहरुले मुख्य शहरी क्षेत्रसँगै भित्री बस्तीमा सञ्चालन भएका सटर तथा पसल बन्द भएको बताए ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लोे समय आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले बिहीवार सम्वाददातासंग कुराकानी गर्दै घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खालि भएको बताए । व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटरहरु खालि हुने अवस्था आएको कटुवालले बताए । उनले खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चलेपनि अन्य व्यवसायमा कारोबार न्युन रहेको भन्दै सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको बताए । पूर्वअध्यक्ष कटुवालले घर भाडा घट्ने भन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको गुनासो गरे । उनले प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेकाले व्यवसायीहरु मारमा परेको बताएका छन् । प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोले पनि व्यवहारमा ल्याउन नसकेको उनले उल्लेख गरे । उनले सरकारले निजी क्षेत्रलाई अनकुल हुने बोल्ड निर्णय गर्नु आवश्यक रहेको बताए । सरकारले निजी क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गरेको भन्दै वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा कहिल्यै नपरेको बताएका थिए । लगातार रुपमा सटर खालि हुनुको मुख्य कारण कोरोना महामारी भएको उनले बताए । उनले १०० जना व्यवसायीहरुको हातमा मुलुकको अर्थतन्त्र रहेको भन्दै उनीहरुको हातमा बैंक,लघुवित्त,बीमा कम्पनी, ठूला उद्योग, राजनीतिक दल र सरकारलाई मुठीमा हुँदा समस्या रहँदै आएको बताए।
उनले भनेका छन् ,‘पछिल्लो समय सटर खाली गरेर व्यवसायीहरु पलायन हुनुको मुख्य कारण घर भाडा लगातार रुपमा वृद्धि हुनु,घर भाडा घट्ने भन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको छ । प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेको छ । बैंकको वृद्धि भएको ब्याजदर कम भएको छैन । प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोलेपनि व्यवहारमा ल्याउन सकेको देखिँदैन । यस्ता विविध कारणले ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खालि भएका छन् । यसले घरधनीहरुलाई पनि अफ्ठयारो स्थिति हो । व्यापारी व्यवसायीहरु नरहे घरपनि भाडामा लाग्दैन । व्यवसायीहरुलाई सबैले बचाउन जरुरी रहेको छ । अहिले आएको अवस्थालाई घरधनी, बैैक र सरकारले सोच्नुपर्छ । बैंकहरुले पनि ब्याजदर कम गर्नुपर्छ । बजारमा आएको आर्थिक सिथिलता तथा उच्च ब्याजदर र घरभाडा वृद्धिको कारण धेरै व्यवसायीहरु पलायन हुनुपरेको अवस्था छ । सरकारले निजी क्षेत्रलाई अनकुल हुने बोल्ड निर्णय गर्नुपर्छ । सरकारले नीजि क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गर्छ । वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा परेको देखिँदैन । लगातार रुपमा सटर खालि हुनुको मुख्य कारण कोरोना महामारी हो । सरकारलाई समयमा नै यो अवस्था आउँछ भन्दा वेवास्ता गर्दा अहिलेको अवस्था आएको हो। पछिल्लो समय अर्थतन्त्रमा समस्या हुनु बजारमा तरलता अभाव हुनु केही व्यवसायीहरुको नियन्त्रणमा अर्थतन्त्र चल्नु हो । १०० जना व्यवसायीहरुले मुलुक चलाएका छन् । उनीहरुको हातमा बैंक,लघुवित्त,बीमा कम्पनी, ठूला उद्योग, राजनीतिक दल र सरकारलाई मुठीमा राखेका छन् ।’
चारदेखि पाँच वटा सटर लिएर व्यवसाय गर्ने व्यवसायीले खर्च धान्न नसकेर दुईवटा सटरमा व्यवसाय गर्न थालेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर हेरक घरमा देखिन थालेका छन् ।