काठमाडौँ – भरखरै चितवन , तनहुँ र बारामा समापन भएको उपनिर्वाचनको मतपरिणामलाई लिएर विभिन्न सांसदहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्नेबताएका हुन् । उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने बताए । यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने उनको भनाई थियो ।
उनले भने – ‘अवश्यपनि यसले केही सन्देश त दिएकै छ । प्रत्येक निर्वाचनले दिने परिणामको बारेमा विश्लेषण गर्नुपर्दछ । जनताको झुकावहरु कसैप्रति किन गइरहेको छ ? कसैप्रति किन छैन भन्ने बारेमा राम्रो ढंगले विश्लेषण गरेर आफूमा के–के कमजोरी रहेका छन् त्यसलाई सुधार्ने दिशामा अगाडी बढ्नैपर्छ । गम्भिर चिन्तन मनन गर्नु आवश्यक छ । आफूमा भएका कमी कमजोरी सुधा¥यो भने मात्रै जनताले विश्वास गर्छन् । होइन भने जनताले यथास्थितिमा कसैलाई पनि विश्वास गर्दैनन् । हुनत सबैको परीक्षाको घडी शुरु भएको छ । सबैले परीक्षामा पटक–पटक उर्तिण हुनुपर्छ । त्यसमा सबैको ध्यान जाओस् ।’
नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताएका छन् । उनले निर्वाचनको परिणामलाई कुनै चमत्कारको रुपमा नलिइ स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने पनि बताए । उनले भने– ‘अहिलेका निर्वाचनबाट आएका परिणामहरुले हिजोदेखि जनतामा स्थापित भएका कतिपय ठूला दलहरुका सन्दर्भमा जे प्रश्नहरु उठिरहेको छ, ति दलहरु भित्र कतिपय रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउँछ । त्यो एउटा सकारात्मक कुरा हो । त्यसअर्थमा लिनुपर्छ । यो कुनै एउटा चमत्कार भयो भन्ने शैलीमा जसरी व्याख्या गर्न खोजिँदैछ, निर्वाचन एउटा सहज प्रक्रियामा जनताले उहाँहरुलाई छाने । जनताले छान्ने अधिकार हो ।’
त्यस्तै, नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले एमालेले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनता र सामाजिक सुरक्षाको क्षेत्रमा खेलेको भुमिकालाई स्पष्ट रुपमा जनता समक्ष पु¥याउन चुकेको बताएका छन् । एमालेले गरेका कामहरु जनतासम्म पु¥याउन नसकेका कारण एमाले उपनिर्वाचनमा पराजित हुनुपरेको उनको भनाई थियो । उनले भने – ‘एमालेले मुलुक, जनताका लागि, सुशासन र समृद्धिका लागि जे–जे भुमिका खेलेको थियो, राष्ट्रिय स्वाधिनताका सवालमा एमालेले जे भुमिका खेलेको थियो, सामाजिक सुरक्षाका क्षेत्रमा जे भुमिका खेलेको थियो । यि सबै विषयमा नेकपा(एमाले)ले स्पष्ट ढंगले आम जनतालाई आफ्ना विषयहरु राख्न सकेको भए एमालेले राम्रो मत ल्याउन सक्थ्यो । हामी त्यहाँनिर चुक्यौँ । त्यही कारणले यो नतिजा आएको हो ।’
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ठूला दलहरुले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताएका छन् । उनले आगामी दिनमा जनताले आफूहरुको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा वृहत छलफल गरेर अगाडी बढ्नुपर्ने बताए । सांसद खतिवडाले नेताहरुले आफ्नो दिमाग र पार्टीलाई अपडेट गर्नुपर्ने पनि बताएका छन् । उनले भने – ‘विद्रोही भएर पार्टीभित्रकै पनि कोही कोही स्वतन्त्र उम्मेदवारले जितेका छन् नि । अब हामीले बृहत रुपमा छलफल गरेर पार्टीलाई अझ एकतावद्ध भएर, जनतासँग किन हामी पुग्न सकेनौँ, युवासँग किन टच हुन सकेनौ ? युवाहरुको भावनालाई किन बुझ्न सकेनौँ ? किन हाम्रो अनुहारलाई जनताले मन पराएनन् ? भन्ने कुरामा पार्टीभित्र बृहत छलफल गरेर आगामी दिनमा जाने प्रयासमा हामी छौँ । हामीले हाम्रो दिमागलाई पनि अपडेट गर्नुपर्नेछ । पार्टीलाई अपडेट गर्नुपर्नेछ । त्यो गर्छौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताएका छन् । उनले नेपाली जनताहरु परिवर्तन र देशको समान विकासको पक्षमा रहेको देखिएको पनि बताए । उनले भने – ‘यो हाम्रो लागि एउटा महत्वपूर्ण परिणाम हो । यसले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जुन किसिमको भ्रमहरु फैलाइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी आक्रमण भइरहेको थियो । त्यसलाई पनि चिरेको छ जस्तो लाग्छ । त्यो भन्दा ठूलो कुरा नेपाली जनताहरु परिवर्तनको पक्षमा छन् । नेपाली जनताहरु युवाहरुको पक्षमा छन् । जनताहरु देशको समान विकासमा विश्वास गर्छन् भन्नेकुरा लाग्छ मलाई ।’
त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीहरुलाई चुनौति खडा गरेको बताएका छन् । उनले ठूला पार्टीहरुले आफ्नो जीवनशैली र कार्यशैलीका बारेमा गम्भिरतापूर्वक नसोच्ने हो भने चुनौति खडा हुने बताए । उनले भने – ‘यसलाई धेरै ठुलो, अनौठो रुपमा पनि लिन जरुरी छैन । र अहिलेका हामी मुलधारका भनिएका, पुराना भनिएका, ठूला भनिएका पार्टीहरुका लागि एउटा चुनौति खडा भएको छ । यसलाई हामीले गम्भिरतापूर्वक लिएर सामाजिक सञ्जालहरुमा पनि अहिले आम रुपमा छ, सच्चिने कि सक्किने भनेर । त्यही तहमा त बहश गर्दै गरौँला तर कुरा के हो भने मुलधारका ठूला पार्टीहरुले आफुलाई गम्भिरतापूर्वक जीवनशैली, कार्यशैली र अरु समग्र कुराहरुको बारेमा सोचिएन भने एउटा चुनौति खडा भएकै देखिन्छ ।’
उनले निर्वाचनमा गठबन्धन हुँदा बढी जोखिम हुने र अनौठो परिणाम आउने खतरा हुने पनिबताएका थिए । सांसद सापकोटाले वर्तमान सरकारको निरन्तरताको विकल्प नरहेको भन्दै रास्वपाले स्थिरता र स्थायित्वको बारेमा सोच्नेमा विश्वास व्यक्त गरे ।