काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामि आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिवद्धता जनाए । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताए । तिब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको प्रधानमन्त्री दाहालको भनाई थियो । दाहालले वदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यक्ता महशुस गरेको उल्लेख गरे । उनले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । प्रधानमन्त्री दाहालले प्रतिभावान विद्यार्थी विदेश पलायन हुनबाट रोक्न विदेशी विश्वविद्यालयहरु नेपालमै सहज रुपमा खोल्न पाउने नीति बनाउने उद्घोष गरे ।
उनले भने , ‘नेपाल सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र बनाएको नीति तथा कार्यक्रम अनुसार नयाँ उद्यमीहरुको उत्पादन, सो उद्यमशीलताको विकास तथा बिस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउने, कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नु आजको मुख्य आवश्यक्ता हो । यस दिशातर्फ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आवश्यक अध्ययन गरेको प्रतिवेदन मैले पाएको छु, उक्त अध्ययनले औंल्याएका सुझावहरु कार्यान्वयनमा नेपाल सरकार आवश्यक पहल कदमी लिन, सहयोग गर्न प्रतिवद्ध रहेको छ । तिब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको छ । विदेशी लगानीमैत्री वातावरण बनाउन हामीले केही कठोर कदम चाल्नुपर्ने महशुस गरेको छु, ऐन होस् वा विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता मैले महशुस गरेको छु । शिक्षामा हजारौँ प्रतिभावान विद्यार्थी विदेश जाने र उतै बस्ने परिस्थिति अन्त्य गर्नका लागि मैले छलफल शुरु गरेको छु । कलेज, विश्वविद्यालय खोल्न किन विदेशीलाई स्वीकृत नदिने, राम्रा विश्वविद्यालयहरु विदेशी लगानीमा नेपालमा भित्र्याउन केले रोकेको छ ? हामी अलि उदार नभइकन आर्थिक विकासलाई गति दिन सकिँदैन ।’
प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताए । उनले आगामी वर्षको बजेटमा उत्पादन र रोजगारी वृद्धि गर्ने बताए । उनले तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रुपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको पनि बताए ।
उनले भने , ‘हामी अहिले पक्कैपनी निकै जटिल र चुनौतिपूर्ण स्थितिबाट मुख्य रुपमा आर्थिक क्षेत्रमा चुनौतिको क्षेत्रबाट अघि बढेका छौँ । हामी सरकारको तर्फबाट अब नीति, कार्यक्रम र बजेट प्रश्तुतको अन्तिम तयारीमा छौँ । उत्पादन र रोजगारी उत्पादन वृद्धि र रोजगारी सृष्टि हाम्रो नीति कार्यक्रम र बजेटको पहिलो प्राथमिकतामा पर्नुपर्छ, त्यसले मात्रै हामीलाई अघि लैजान्छ भन्ने दिशामा हामी अघि बढेका छौँ । यो बीचमा धेरै अन्त्ररक्रिया र समझदारी भएका छन् सरकार र निजी क्षेत्र बीचमा । तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रुपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा पनि हामीले गरिरहेका छौँ ।’