काठमाडौँ – प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरु को–को हुन् भन्ने कुरा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताए । त्यस्तै उनले सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताउनु भयो । सांसद सुवालले वर्तमान राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्न नपाउने पनि बताए ।
त्यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री चोखो हुन नसक्ने बताए । उनले सो प्रकरणमा कर्मचारी थुनामा जाने तर राजनीतिक व्यक्ति उम्किने खेल हुनसक्ने भन्दै राजनीतिक व्यक्तिलाई उम्काने कुुरा संसद र जनताले स्वीकार नगर्ने बताए । उनले सबै प्रकारको भ्रष्टाचारको अधिकार सम्पन्न छानविन आयोग बनाएर छानविन गर्नुपर्ने बताए ।
नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ विषय नभएको बताए । उनले एमालेले सोही विषय यस अघि नै राष्ट्रिय सभा बैठकमा उठाएको भन्दै स्मरण गराए । उनले एमाले भ्रष्टाचार र अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै सुशासनको पक्षमा दृढतापूर्वक उभिएको बताए । उनले वाइडबडी काण्ड, बासबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानविन गर्न प्रधानमन्त्रीलाई चुनौति दिए ।
एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सत्ता पक्षीय व्यक्तिहरुलाई उन्मुक्ति दिने दुषित मनशाय देखिएको बताए । उनले आरोपितहरुको बयान लुकाउन लागिएको भन्दै छानबिन पारदर्शी तरिकाले छानबिन गर्न माग गरे ।
त्यसैगरी एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई दबाब आएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै कसको दबाब हो भन्नेकुरा स्पष्ट भन्न आग्रह गरे । उनले क्यान्टनमेन्टको अर्बौँ भ्रष्टाचार र कमानसिंह लामा ठगि प्रकरणको छानविन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले नागरिकलाई विदेशिन नागरिकता त्याग्न समेत बाध्य पार्ने राजनीतिक दलहरु भएको भन्दै शरणार्थी बन्न बाध्य पार्नेहरुलाई कारबाहीको माग गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्ष दलहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरे । उनले आरोपित एमालेका सचिव टोपबहादुर रायमाझिलाई कानूनी दायरामा बुझाउन पनि आग्रह गरे ।
नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले नेपाली राजनीतिमा जो बदमाश गर्छ उसैले बढी डकार गर्छ भन्नेजस्तो अवस्था आएको टिप्पणी गरे । उनले आफ्नो मान्छे दोषि देखिने भएपछि बचाउनका लागि प्रधानमन्त्री समक्ष म्याउम्याउ गरिएको बताए ।
नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्तारुढ दलले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न राष्ट्रपतिलाई दबाब दिइएको भन्दै त्यसको बिरोध गरे । नागरिकता विधेयक संसदमा पेश हुनुपर्ने उनले बताए । नागरिकता विधेयक संवैधानिक प्रक्रिया र अभ्यास बिरुद्ध जारी गरे एमालेलाई स्वीकार्य नहुने उनले बताए ।
जनमत पार्टीकी सांसद अनिता देवीले कार्यव्यवस्था परामर्श समितिमा एउटा कुरा र संसद बैठकमा आउँदा अर्कै कुरा भएको भन्दै असन्तुष्टि जनाइन । उनले नागरिकता हुनेहरु नागरिकता त्यागेर शरणार्थी हुन जाने भन्दै नागरिकता नहुनेहरुलाई चाहीँ कहाँ पु¥याउने भनेर प्रश्न गरिन ।
नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले थुनामा रहेका आरोपितहरुलाई सरकारी वकिलका अगाडी बयान फेर्न दबाब दिइएको बताए । उनले थुनामा रहेका दुई जनालाई संसदमा ल्याएर बयान गराउनुपर्ने माग राखे ।
नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले संसदमा पक्ष र विपक्ष भएर भ्रष्टाचारीलाई जोगाउन नपाइने धारणा राखिन ।
जनता समाजवादी पार्टीकी सांसद रञ्जु कुमारी झाले संसदभित्रै मानव तस्करहरु भएको भन्दै दुख व्यक्त गरिन । उनले पक्ष र विपक्षमा विभक्त भएर भ्रष्टाचारीलाई उन्मुक्ति दिन नसकिने बताइन । उनले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने धारणा राखिन ।
नेपाली काँग्रेसकी सांसद आरजु राणाले आफ्नो परिवारको सम्पती विवरण सरकारसँग सुरक्षित रहेको भन्दै सम्पति विवरण सार्वजनिक गर्न माग गरिन । त्यस्तै सबै सांसदहरुको सम्पती विवरण प्रकाशित हुनुपर्ने उनले बताइन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने बताए ।
नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन सरकारले नै अपराधिक काम गरेको भन्दै तत्कालिन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संसदमा सत्तापक्ष र विपक्षीले भ्रष्टाचारको मात्रै कुरा गरिरहेको भन्दै गणतन्त्र यही दिनका लागि ल्याएको हो ? भनि प्रश्न गरे ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने धारणा राखे ।
बैठकको शुरुमै सांसदहरुले आफू बोल्न पाउनुपर्ने भन्दै हात उठाएपछि बैठक एकछिन प्रभावित भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक २०८० बैशाख २५ गते सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ ।