काठमाडौँ – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए । उनले वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गरे । उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको बताए ।
उनले भने , ‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन् । कर्मचारीतन्त्र चलैकै छैनन् । कर्मचारीले विश्वास गरेका छैनन् । विदेशीले विश्वास गरेका छैन । नेपाली लगानीकर्ताले विश्वास गरेका छैन । अब यो जोडी कायम राख्ने की जोडी बदल्ने की छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ । यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चित छ । किनभने अब यसले कुनै गाढा तान्नसक्ने अवस्था देखिँदैन । किनभने चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको छ । हिजो एकजना मान्य सदस्यले भन्नुभयो, अब झारफुकले हुँदैन, सर्जरी नै गर्नुपर्छ । सर्जरी त गर्ने हो, तर उपकरण ठिक छैन, डाक्टर ठिक छैनन् । डाक्टर बदल्ने की उपकरण बदल्ने की, त्यही काम नलाग्ने उपकरण र काम नलाग्ने डाक्टरलाई सर्जरी गर्न लगाउने ? यो वहस हो । यही उपकरण र डाक्टरले बिरामीको सर्जरी गर्न सक्दैन, बिरामीको मृत्यु हुनु अनिवार्य छ । बिरामी बचाउने हो भने माथिल्लो तहबाट वहस हुुनपर्छ ।’
सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गरे ।