काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताएका छन् ।
बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरुका बीचमा सहमति भएको बताएका हुन् । उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धती अनुसार काम गरिरहेको बताए ।
उनले भने – ‘हामीहरुको भेट बढी चाहीँ सदनलाई कसरी सुचारु रुपले लैजाने, त्यहाँ समितिहरु बनाउने, संयुक्त समितिहरु बनाउने विषयमा नै छलफल हामीले गरेको हो । तपाईहरुलाई लागेको छ त्यही एउटै केसमा होला भनेर त्यो चाहीँ होइन । आशंका गर्नुपर्ने केही कारण छैन । हामीले बिल्कुल क्लियर भाषामा भनेका छौँ । दोषि कोही नछुटोस् । निर्दोष कोही नपरोस् । प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौँ प्रहरीलाई । प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा दुविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि, विधान अनुसार, नियम, पद्धती अनुसार प्रहरीले आफ्नो काम गरेको छ । हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ । यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडी बढाएको छ, उसलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्ने हाम्रो सबैको सहमति छ ।’