विराटनगर । विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमाडौँको सहयोगमा विराटनगरमा आयोजना गरिएको “युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम कोशी प्रदेश” को तेस्रो तथा अन्तिम चरणको तालिम समापन भएको छ। विराटनगरमा बैशाख २९ देखि ३१ गतेसम्म आयोजित कार्यक्रममा कोशी प्रदेशका १२ युवाहरुलाई सहभागी गराइएको थियो ।
पहिलो चरणको तालिमका लागि २० देखि ३० वर्ष उमेरका कम्तीमा स्नातक तहमा अध्ययन गरिरहेका तथा कोशी प्रदेशमा कम्तीमा १ वर्ष देखी बसोबास गर्दै आएका नेपाली नागरिकका लागि आवेदन खुलाइएको थियो । आवेदनमा प्राप्त निवेदनबाट कोशी प्रदेशका ५० जना युवाहरुलाई पहिलो चरणको तालिमका लागि छनौट गरिएको थियो । पहिलो चरणको तालिम सकिए पश्चात दोस्रो चरणको तालिमका लागि २३ जना युवाहरुलाई छनौट गरिएको थियो ।
तेस्रो तथा अन्तिम तहको तालिम सकेका १२ जना वाई. पि. जी. फेलोहरुले प्रदेश सभाका सहस्यहरुको निगरानीमा रही, तोकिएका सदस्यहरुसगँ संसदिय कार्यका लागि सक्रिय रुपले २६ हप्तासम्म (१६ घण्टा प्रति हप्ता) काम गर्ने जानकारी आयोजकले दिएको छ । फेलोहरुले विषेश गरेर प्रदेश सभाका सदस्यहरुका लागि अध्ययन तथा अनुसन्धान गरी सभामा प्रश्न गर्नका लागि प्रश्नहरुको खेस्रा बनाउने, भाषण गर्नका लागि भाषण वा छलफलका लागि अध्यन-अनुसन्धान गर्नुका साथै सार्वजनिक महत्वका विषयहरुलाई उठाउन सहयोग गर्ने आदि कामहरु गर्नेछन्। प्रदेश सभा बन्द भएका बेला, फेलोहरु विभिन्न नीति तथा विकास सम्बन्धी प्रशिक्षण वा तालिममा सहभागी हुनेछन् भने शासन पद्दतिको विस्तृत तथा व्यवहारिक ज्ञान लिनका लागि केही अवलोकन भ्रमणमा पनि जानेछन्।
तीन तहको “युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम” मा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गरेका थिए । तालिम अवधिमा सरकारी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न विषयमा युवाहरुलाई कक्षा लिएका थिए । दोश्रो चरणको तालिममा सहभागी युवाहरुले कोशी प्रदेश सभाको अवलोकन भ्रमण पनि गरेका थिए भने सभा अध्यक्ष बाबुराम गौतमको अध्यक्षतामा आइतबार समापन भएको तेस्रो तहको तालिममा सहभागीहरुले कोशी प्रदेश सभाका १८ माननीय सदस्यहरुसंग अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रिया तथा विचार राख्ने क्रममा उपस्थित सबै सभा सदस्यहरुले यस तालिम पश्चात युवाहरु प्रत्यक्ष रुपमा सदनको क्रियाकलापमा सांसदहरुको निगरानीमा प्रत्यक्ष जोडिने हुनाले प्रदेश सभालाई झनै प्रभावकारी बनाउन मद्धत गर्ने विचार व्यक्त गरेका थिए।
युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखिसुरु गरीएको कार्यक्रम हो । सन् २०२० मा सुरु गर्दा यसलाई “Pre-professionals Parliamentary Support Program Fellowship” अर्थात पुर्व ब्यबसायिक संसदीय सहयोग कार्यक्रमको नाममा सुरु गरिएको थियो भने सन् २०२३ देखि पुन: ब्राण्डिङ्ग गरेर यसको नाम युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप (YPG Fellowship) राखिएको हो । सन् २०२०।२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमान्डौको सहयोगमा संचालन गरे पश्चात २०२१।२२ मा कर्णाली प्रदेशमामा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन सँगको सहकार्यमा संचालन भएको थियो भने गण्डकी प्रदेशमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा संचालन गरिएको थियो । २०२२।२३ मा कोशी प्रदेशमा पहिलो पटक यो कार्यक्रम संचालन भएको हो ।