विराटनगर – भ्रष्टाचार बिरुद्ध बृहत नागरिक आन्दोलन विराटनगरले जिल्ला प्रशाशन कार्यालय मोरंग मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । बिहिबार जिल्ला प्रशाशन कार्यालय मोरंग अगाडि केहि समय मौन धर्ना दिए पश्चात नागरिक अगुवा , अभियान्ता तथा आन्दोलनमा ऐक्यवद्धता जनाएका नागरिक समाजले प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवलाई भेटी ज्ञापनपत्र र हस्ताक्षर गरिएको कपडा हस्तान्तरण गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संग्लग्न सबैलाई कारवाही हुनुपर्ने , अनुशन्धान र शंकाको घेरामा परेकाहरुको अविलम्बन छानबिन हुनुपर्ने लगायतको माग ज्ञापन पत्रमा गरिएको छ। उच्च ओहोदामा रहेकाहरु समेत यो प्रकरणमा सम्बन्धित देखिएपनि अनुसन्धानको क्रममा तिनीहरुलाई परे राखेर विधिशास्त्रको सामान्य व्यवहारलाई पनि पालना नगरिकन मुद्धालाई अगाडी बढाइएको परिस्थितिमा अपराधीहरुले उन्मुक्त पाउने त् होइन ? भनेर विज्ञप्तिमा प्रश्न गरिएको छ।
जनविश्वास यथावत राख्नको लागि घटनामा संग्लग्न सबैलाई कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्र मार्फत अपिल गरिएको छ। पत्रमा लेखिएको छ , ” अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयान र प्राप्त विभिन्न तथ्यहरुको आधारमा अन्य उच्च ओहदामा रहेकाहरूसमेत यो प्रकरणमा सम्बन्धित देखिन्छन् तर अनुसन्धानका क्रममा तिनीहरूलाई परै राखेर विधिशास्त्रको सामान्य व्यवहारलाई पनि पालना नगरिकन मुद्दालाई अगाडि बढाइएको परिस्थितिमा कतै अपराधीहरुले उन्मुक्ति पाउने त होइन आम आशका रहेको राजनीतिले सबै अंगहरुमाथि अवाञ्छित हस्तक्षेप गरेको र आममानिसको विश्वास गुमाउँदै गरेको राज्यप्रणालीले निष्पक्ष निडर र खुला हृदयबाट कानुनको सक्रियता अनि विस्तृततालाई अझ मजबूत बनाइ यो घटनामा संलग्न जोकोहीलाई सजाय दिलाइ जनविश्वास यथावत् राख्न हामी विनम्रतापूर्वक अपील गर्छौं।
ज्ञापनपत्र र हस्ताक्षर गरिएको कपडा ग्रहण गरी प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले ज्ञापनपत्र र हस्ताक्षर गरिएको कपडा तुरुन्तै सम्बन्धित ठाउँमा पठाउने बताएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विराटनगरमा सुरु भएको भ्रष्टाचार विरुद्धको वृहत् नागरिक अभियान १५ औं दिनमा पुगेको छ । ‘साझा मञ्च साझा सवाल, भ्रष्टाचार सबैको सरोकार वृहत् नागरिक आन्दोलन, भ्रष्टाचार विरुद्धको अभियान’ नामक् अभियानका क्रममा युवा, विद्यार्थी तथा नागरिक अगुवाहरु आन्दोलनमा सहभागी छन् ।