विराटनगर – कोशी नाम खारेजीका माग राख्दै संघर्ष गरिरहेका पहिचान पक्षधरले भोलिको आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ । विराटनगरमा आइतबारको आन्दोलनमा पक्राउ परेका रिहा हुन बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि पुनः नामाकरण संघर्ष समितिले भोलिदेखि भनिएको आम हड्तालको कार्यक्रम फिर्ता लिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा आज (मंगलबार) भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएको छ ।
प्रहरीले अस्पतालमा उपचार गराइरहेका घाइतेसमेत गरी ८६ जनालाई गिरफ्तार गरेको थियो ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेश अशान्ति बनिरहदा विराटनगर युद्धभूमि जस्तै बनेको छ । आइतबार प्रदेशसभाको बैठक हुदैन गर्दा बाहिर भने पहिचान पक्षधर र प्रहरीबीच झडप समेत भएको थियो । झडप हुँदा दुवै पक्षका ४० जना बढी घाइते समेत भएका थिए।