टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको बिरुद्धमा परेको रिटको सुनुवाई हुँदैछ । आज सर्वोच्च अदालतले उनको आम माफी बिरुद्धमा परेको रिटको सुनुवाई गर्न लागेको हो । शारदा बोहरा कडायतले आईतवार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो । शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।
हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमबिरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।