विराटनगर – सहज च्यालेन्ज फण्डले फन्ड–३ अन्तर्गत नविनतम ब्रान्डिङ वा प्याकेजिङ्ग वा वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आव्हान गरेको छ। बिहीबार विराटनगरको होटल इस्टर्न स्टारमा सहज च्यालेन्ज फन्ड तेस्रो चरणको पत्रकार सम्मेलन गरि यस च्यालेन्ज फण्डका लागि २०८० असार ५ सम्म आवेदन दिन सकिने जनाएको छ। सहज च्यालेन्ज फन्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्य श्रृब्खलाहरुमा विद्यमान अवरोधहरु समाधान गर्न नवीन ब्रान्डिब वा प्याकेजिङ्ग वा वितरण प्रणाली सेवाहरु प्रदान गर्ने सेवा प्रदायकहरुलाई सहयोग गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रम ( एन.ए.एम.डी.पी.) का कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले एन.ए.एम.डी.पी, सहज च्यालेन्ज फण्ड, यसका विभिन्न चरण र फण्डले गर्दै आएको कामको बारेमा जानकारी दिइन । प्राक्टिकल एक्सन कन्सल्टिंगका तर्फबाट सहज च्यालेन्ज फण्ड राउन्ड ३ का टिम लिडर अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फण्डले काम गर्ने कार्य क्षेत्र , सहयोगको प्रकार, आवेदन प्रक्रिया र सहयोग रकम बारे चर्चा गरेका थिए ।
पत्रकार सम्मेलनकै क्रममा सहज च्यालेन्ज फण्डका वितरण प्रणाली विशेषज्ञ दिवीभ भक्त श्रेष्ठले ब्रान्डिङ्ग, प्याकेजिङ्ग र वितरण प्रणाली क्षेत्रमा रहेका बाधा–अवरोध र च्यालेन्ज फण्डले प्रोत्सहान गरेको नवप्रवर्तनकारी सेवाहरुले यी बाधा अवरोधलाई कसरी हटाउँछ भन्ने बारे जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशका सचिव मेघनाथ तिमल्सिनाले कृषि उत्पादनहरुको प्रशोधनमा आविष्कारको आवश्यक छ भनी टिपण्णी गर्दै, साना भए पनि नवप्रवर्तनात्मक समाधानलाई अगाडि बढाएर ठूला आयोजना बन्ने मोडल बनाएर अगाडि बढ्न सकेमा विद्यमान चुनौतिलाई न्यूनीकरण गरी कोशी प्रदेशलाई विकासको शिखरमा पु¥याउन सकिने बताए ।
यस च्यालेन्ज फण्डका लागि २०८० असार ५ सम्म आवेदन दिन सकिने र आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मुल्यांकन गरिनेछ र सफल आवेदकहरुलाई पूर्ण व्यवसायिक योजना बुझाउन अनुरोध गरिने जनाइएको छ । पेश गरिएका व्यवसायिक योजनाको पूर्ण मुल्यांकन पछि छानिएका अधिकतम ५ विजेता आवेदकले सहयोग रकम पाउनेछन्। सहज च्यालेन्ज फण्ड ले रु.५ लाख देखि रु.५० लाख रकम सम्म सहयोग गर्नेछ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरि सहयोग रकम तोकिने जनाइएको छ। उपकरण तथा मेशिनेरी खरिदका लागि भने सहज च्यालेन्ज फण्डले सहयोग गर्ने छैन ।
आवेदकको माग अनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोग मार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्तनमा योगदान पुर्याउने लक्ष्य सहज च्यालेन्ज राखेको छ।