विराटनगर – पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट पोखरेललाई नियन्त्रणमा लिएको हो ।
सुनसरीको इटहरी उपमहानगरको आँपगाछीस्थित आवासमा प्रवेश गरेर सोमबार नेविसंघका नेताहरूले दाहालको अनुहारमा छलेर मोबिल पोखिदिएका थिए ।
सुनसरी जिल्ला प्रहरी कार्यालयको अनुसार सेवा आयोगको जाहेरीका आधारमा पोखरेललाई नियन्त्रणमा लिइएको हो । सेवा आयोगको जाहेरीअनुसार अन्य ५/७ जनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
पोखरेललाई पक्राउ गरेको भन्दै नेपाल विद्यार्थी संघ मोरंग , अनेरास्ववियू पु । वि राष्ट्रिय कमिटि र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गरेको छ । तत्काल रिहाइ नगरे आन्दोलनमा उत्रिने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।