विराटनगर – र्यापर गिरिश खतिवडा विरुद्ध जिल्ला प्रहरी कार्यलय मोरंगमा कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दर्ता भएको छ । असार ३ गते विराटनगरस्थित ” जी क्याफे एण्ड बिस्ट्रो” मा घाइते भई उपचारको क्रममा मृत्यु भएका कासिद अन्सारीको सुनियोजित हत्या भएको भन्दै मृतकका दाइले जी क्याफेका संचालक गिरिश खतिवडा सहित क्याफेका कर्मचारी करण कुमार राजवंशी र अनुराग राउत विरुद्ध २०८० असर ४ गते किटानी जाहेरी दिएका हुन्।
जाहेरी दरखास्तमा गिरिश खतिवडा सहितका आरोपितहरु मिलेर सख्त घाइते बनाई सोहि चोटको कारण कासिद अन्सारीको मृत्यु भएको भनिएको छ । वर्षौ देखि मासु पसल संचालन गर्दै आएका मृतक अन्सारीको ” जी क्याफे ” मा पनि कारोबार रहेको र घटना भएको दिन मासुको रकम उठाउन बोलाई सुनियोजित हत्या गरिएको आरोप जाहेरीमा उल्लेख छ।
वारदात भएको अवस्थामा, जी क्याफेको सिसिटिभी क्यामेरा घटना हुनुभन्दा अघि मात्र खुल्ला रहेको र घटना भएको समयमा सिसिटिभी क्यामेरा बन्द गरिएको उल्लेख गर्दै मृत्यु स्वाभाविक नभएको जाहेरीमा उदृत गरिएको छ ।
” जी क्याफे एन बिष्ट्रो” ले मृतक अन्सारी क्याफेमा मासु पुर्याएर फर्किने क्रममा सिसाको ढोकामा ठोकिएर ढोका फुटेको र सोहि फुटेको सिसाले काटेर उनको मृत्यु भएको दावी गर्दै आएको छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले विभिन्न कोणबाट यस घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । हत्या आरोप लागेका विरुद्ध किटानी जाहेरी पर्ने बित्तिकै प्रहरीले पक्राउ गर्न जरुरत नरहेको पनि दाहालले बताएका छन् । हत्या भएको एउटा मात्र प्रमाण भेटिए जाहेरी नपरे पनि पक्राउ गर्नुपर्छ र सिंगल प्रमाण पनि नभेट्दा सम्म पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बाध्यता नहुने प्रवक्ता दाहालको भनाई छ । अहिले सम्म हत्या नै भएको हो भन्ने प्रमाण नभेटिएको र पोस्टमर्टमको रिपोर्टको पर्खाईमा रहेको पनि प्रवक्ता दाहालले जानकारी दिएका छन् ।
उता मृतकका परिवारले हत्या भएको र प्रहरीले पनि अनुसन्धानमा असहयोग गरेको आरोप लगाइरहेको छ ।