नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहिन्शा सिद्दिकी)लाई जिल्ला अदालत मोरङले ५ महिना अघि प्रहरीको हिरासत हुँदै पुर्पक्षको निम्ति थुनामा राख्न विराटनगरस्थित कारागार पठाएको अवस्था छ । दुई साझेदार बीच भएको आपसी मतभेदको कारण अहिले सिद्दिकी कारागार चलान भएका छन् । नेपाल टाइम्सका साझेदार अरुण राठीले प्रहरीमा दिएको जाहेरी अनुसार सिद्दिकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरी शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग लागेको छ ।
जबकि सिद्दिकीको भनाइ अनुसार चुनाव ताका नेकपा एमालेको तर्फबाट तत्कालिन प्रदेश १ को प्रदेश सभाको समानुपातिकका उमेद्वार रहेका अरुण राठीले बाराम्बार उनी लगायत उनी निकटका संगठनका उमेद्वारहरुलाई नेपाल टाइम्सलाई समर्थन र प्रबर्धन गर्न दबाब दिनुको साथै, विपक्षी पार्टीका उमेद्वारहरुलाई बदनाम गर्न दवाब दिंदा, आफ्नो मिडियाले कसैको पक्ष र विपक्ष लिन अस्वीकार गरे पश्चात राठीले या त मिडिया आफ्नो बनाउने, अन्याथा सिध्याईदिने धम्कि दिएको बताउँछन । चुनावमा राठी लगायत संगठनले अपेक्षित नतिजा ल्याउन नसकेको कारण त्यसको रिस आफु र आफ्नो संस्थासंग पोखेको सहिन्शाको भनाई छ।
” यहि बिषयलाई लिएर सहिन्शाको भाइले बकपत्र हुनु अघि २ पटक गरि २ लाख बुझाएको मेरो जानकारीमा छ । जसमा १ पटक म स्वयम् आफै सहिन्शाको भाइको अनुरोधमा अरुण राठीको घर गएको बेला राठीले सहिन्शाको कान्छो भाइबाट १ लाख नगद बुझेका थिए ।”
यी दुइ व्यक्तिबीच के कुरा भयो भन्ने कुरा उनीहरुलाई नै थाहा छ । तर हामीले सरसर्ती हेर्दा अपहरण भएको भनिएको घटनाको ५ दिन पछि (२०७९ मंसिर १८ गते ) मात्र राठीले प्रहरीमा जाहेरी दरखास्त दिएको देखिन्छ भने, प्रहरीले सहिन्शाविरुद्ध उजुरी परेको खबर गरे लगत्तै नेपाल टाइम्सका सम्पादक जिल्ला प्रहरी कार्यालय पुगी घटनाबारे प्रहरीसंग आवश्यक छलफल गरी फर्किएको देखिन्छ ।
प्रहरीले सहिन्शालाई पक्राउ गरेको भनाइ बाहिर आएपनि १५ डिसम्बर अर्थात मंसिर २९ गते सहिन्शा आफैले अनुसन्धानमा सहयोग गर्नको निम्ति जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको भनि फेसबुकमा स्टाटस लेखेको अहिले पनि देख्न सकिन्छ ।
सहिन्शासंगै पक्राउ परेका चिखु भाइ अजय भन्ने जय कुमार राम नाम गरेका ड्राइभर १ लाख रुपैया धरौटीमा छुटे । उनले प्रहरी र अदालतमा फरक बयान दिएका छन् । प्रहरी समक्ष उनले सहिन्शाको आदेशमा आफुले अरुण राठीको हात र सहिन्शाले खुट्टा बाँधी सकेपछि आफुलाई सहिन्शाले अर्को कोठामा पठाएको र पछि सहिन्शाले बोलाएर अरुण राठीलाई बाधेको तार खोल्न लगाई अरुण राठी र सहिन्शा स्कुटीमा चढेर पुन नयाँ कार्यालय तर्फ गएको भनी बयान दिएका छन् ।
यता अदालतमा वकिलसंगको सोधपुछमा भने “वारदात मितिमा आफुले अब्दुल खताबको गाडी चलाएको, तथा अरुण राठी र सहिन्शा सिद्दिकी र स्कुटीमा आएर अफिसमा बसी कुराकानी गरेको तर आफु अफिस कोठा भित्र नगएको भनि फरक प्रकृतिको बयान दिएका छन् ।
सिसिटिभी फुटेजहरुलाई नियालेर हेर्दा कुनै किसिमको अप्रिय घटना घटेको वा राठीले भने अनुसार अपहरण नै गरेर अंगभंग भएको अवस्था महसुस हुदैन । फुटेज भरि अपहरणको आरोप लागेका सहिन्शाले अघिअघि र अपहरणमा परेको भनिएका अरुण राठी पछिपछि हिडेको, मोबाइल चलाउँदै गरेको, र दुबैजना स्कुटरमा सवार गरी पुरानो र नयाँ कार्यालय परिसर भित्र पसेको र बाहिर निस्केको सामान्य अवस्था देख्न सकिन्छ । अपहरण गरेर फिरौती मागेको भनेका राठीले सहिन्शालाई आफ्नो कार भित्र बसी केहि दिएको सिसिटिभी फुटेजमा देखिन्छ, जुन अरुण राठीले सहिन्शालाई १५ लाखको फिरौती चेक दिएको भन्ने जाहेरीमा उल्लेख छ ।
यतिका ठुला व्यापारी , त्यसमा पनि देशकै ठूलो राजनीतिक दल नेकपा एमालेको तर्फबाट प्रदेश १ को प्रदेश सभाको समानुपातिकका उमेद्वार, जसको पछाडी पहुँच, शक्ति र पहिचान भएको जानकारी हुँदा हुँदै पनि सहिन्शाले यति हल्का रुपले अपहरण गरि, शरीर बन्धक बनाइ कुटपिट गरेर दिउँसै मानिसहरुको चहलपहल भएको बाटोको बीचमा बसेर राठीबाट फिरौती रकम स्वरुप चेक लिए भनेर भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।
त्यसमा पनि १० लाख भन्दा बढी फलोअर भएको नाम चलेको मिडिया हाउस जसले १०/१२ जनालाई स्थानीय तहमा राम्रो रोजगारीको अवसर सिर्जना गरेको छ, त्यसको संस्थापकले १५ लाखको लागि आफ्नो नाम र आफ्नो संस्थाको नाम बदनाम गर्ने जोखिम लिन्छ कि लिदैंन भन्ने बिषय सोचनीय छ ।
राठीले चेक सहिन्शाको नाममा नभएर नेपाल टाइम्सको नाममा दिएको देखिन्छ, जुन कम्पनीका महानिर्देशक उनि आफै देखिन्छन । यसको अर्थ सो रकममा राठीको पनि हकदावी रहन्छ । नेपाल टाइम्सले उक्त चेक सोहि दिन बैंकमा जम्मा गरेको छ भने सहिन्शाले खाताबाट ११ लाख झिकेको देखिन्छ । उक्त रकम मध्ये ३ लाख कार्यालय खर्च भुक्तानीको निम्ति निकालेको र ८ लाख अर्को दिनआफ्नो तलबस्वरुप पैसा निकालेको उनी बताउँछन । लामो समय देखि आफुले तलब नलिएकोले सो ८ लाख तलब स्वरुप निकालेको र कारको किस्ता तिरेको सहिन्शाको भनाइ रहेको छ । सहिन्शाले तलब र भत्ता स्वरुप मासिक १ लाख भुक्तानी लिदै आएको व्यहोरा भएको पत्रमा स्वयम अरुण राठीले दस्तखत गरेको २०७९-०४-०१ को नेपाल टाइम्सको पत्रमा देखिन्छ ।
आफु निर्दोष भएको जनाउँदै सहिन्शाले जेलबाट नै धेरै पटक राठीलाई केस मिलाइदिन आग्रह गरेका थिए । सहिन्शाले गरेको अपराधको सजाय भोगिसकेको र कसैको भविष्य बिगार्ने किसिमको नियत आफ्नो नभएकाले पाउनु पर्ने रकम वा चेक आफुले पाएको खण्डमा सहिन्शा कारागार मुक्त हुँदा आफुलाई गुनासो नरहने कुरा राठीले उनको घरमा मसंग छलफल हुँदा बताएका थिए । यहि बिषयलाई लिएर सहिन्शाको भाइले बकपत्र हुनु अघि २ पटक गरि २ लाख बुझाएको मेरो जानकारीमा छ । जसमा १ पटक म स्वयम् आफै सहिन्शाको भाइको अनुरोधमा अरुण राठीको घर गएको बेला राठीले सहिन्शाको कान्छो भाइबाट १ लाख नगद बुझेका थिए ।
अरुण राठी र सहिन्शा बीच के भयो भन्ने कुरा यी दुवैलाइ मात्र थाहा छ, तर घटनालाई सर्वसाधारणको नजरियाले हेर्ने हो भने यो कुनै अपहरण र अपराधिक घटना भन्दापनि आपसी लेनदेन र मनमुटावको घटना महसुस हुन्छ । जुन बिषय आपसी छलफलबाट सुल्झाउन सकिने थियो होला ।
यदि सहिन्शाले राठीले भने अनुसार घटना घटाएका हुन् र सबुत प्रमाणले त्यो कुरा प्रमाणित हुन्छ भने निसन्देह पनि उनि कानुन बमोजिम सजायको भागेदार हुनु पर्दछ । तर सहिन्शा माथि लागेको अभियोग उनले घटाएको पुष्टि हुँदैन र उनको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण, पक्षमा बोलिदिने र उभिदिने कोहि नभएकै आधारमा उनी जेल पर्नु न्याय संगत हुदैन। यसले गर्दा केहि गर्छु भन्ने युवाको भविष्यलाई अन्धकारमा धेकेल्नुको साथै एउटा स्थापित र निष्पक्ष हाउसलाई धरासायी बनाउने निश्चित छ । राज्य र यसका संयन्त्रहरुको उत्पति बलियाबाट कमजोरहरुलाई बचाउनको निम्ति स्थापना गरिएको हो ।कमजोर भएकै कारण कोही अन्यायमा पर्नु हुदैन र पहुँच र शक्ति भएकै भरमा न्याय उसको पक्षमा हुनु पर्छ भन्ने हुदैन ।आशा छ सत्य र न्यायको जित हुनेछ ।