आइतबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले २१ असार भित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् । गत शुक्रबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्तासँग कुन धाराअन्तर्गत सरकार गठनका लागि आह्वान गर्नुपर्ने हो भनेर राय मागेका थिए । महान्यायाधिवक्ताको रायअनुसार खापुङले सरकार गठनको लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको समय दिएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा महान्यायाधिवक्ताबाट असार १७ गते प्राप्त रायसमेतको आधारमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने कोशी प्रदेशसभाको सदस्यलाई २१ असार अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको उल्लेख छ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी ४७, एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन् । जनता समाजवादी पार्टीले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा छ । यसले गर्दा गठबन्धन दललाई सरकार गठनका लागि दाबी पेस गर्न आवश्यक ४७ प्रदेश सांसदको समर्थन पुग्ने अवस्था छैन । यस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मनाउन सकेमात्र गठबन्धनलाई बहुमत प्राप्त हुन सक्छ तर राप्रपाले प्रदेशमा राजनीतिक स्थिरताका लागि राप्रपालाई सरकारको नेतृत्व दिएर मुख्यमन्त्री दिनुपर्ने सर्त अघि सारेको छ ।