विराटनगरमा सार्वजनिक तथा निजि विद्यालयहरुको अवस्था , योगदान र चुनौतीबारे सरोकारवालाहरुबीच छलफल भएको छ । आइतबार विराटनगर महानगरपालिकाको वैठक कक्षमा विकल्प एन अल्टर्नेटिभले आयोजना गरेको ” विराटनगर महानगरपालिकाको शैक्षिक परिदृश्यबारे सरोकारवालाबीच छलफल ” कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला प्रमुख अतिथि र उप प्रमुख शिल्पा निराला कार्की विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए । विकल्प एन अल्टरनेटिभका अध्यक्ष डा भेष प्रसाद धमलाको अध्यक्षता सम्पन्न भएको छलफलमा विराटनगरका विभिन्न निजि तथा सामुदायिक विद्यालयका प्रतिनिधि लगायत प्याब्सन , एनप्याब्सन , राष्ट्रिय परिक्षा बोर्डजस्ता शैक्षिक संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
छलफलको प्रारम्भमा परिचायत्मक समय सकिएपश्चात विकल्प एन अल्टरनेटिभकी अनुसन्धानकर्ता श्रिष्टिका न्यौपाने र सर्वज्ञराज पाण्डेले विराटनगर महानगरपालिकामा केन्द्रित रही सार्वजनिक तथा निजि विद्यालयहरुको अवस्था , योगदान र चुनौतीबारे अध्ययन अनुसन्धान गरी तयार पारेका ” अवधारणा पत्रको पहिलो मस्यौदा ” दुवैले प्रस्तुत गरेका थिए ।
अवधारणा पत्रमा विराटनगरमा रहेका सार्वजनिक तथा निजी विद्यालयहरुको विगत तथा वर्तमान अवस्था , गुणस्तर , प्रभावकारिता तथा योगदानको तुलना गरी अवश्यक सुधारको लागि सुझावहरु दिइएको थियो । अवधारणा पत्र प्रस्तुत गर्दै अनुसन्धानकर्ता स्रिष्टिका न्यौपानेले अनुसन्धानको क्रममा आफुले विराटनगरका ५० अभिभावक र ८४ विद्यार्थी लगायत विराटनगर महानगरपालिकाको शिक्षा शाखा , ५ सामुदायिक तथा ६ निजि विद्यालयका प्रतिनिधि र प्याब्सन , एन प्याब्सन , गैर नाफामुलक शैक्षिक संस्थाका प्रतिनिधिसंगको धारणा संकलन गरेको बताएकी थीइ। अवधारणा पत्रमा विद्यालयहरुले भोग्दै आएका चुनौती , नीतिनियमका अवरोध तथा सहजता इत्यादि जस्ता विविध विषय समेटिएको छ।
अवधारणा प्रस्तुती पश्चात उपस्थित विभिन्न शैक्षिक क्षेत्रका प्रतिनिधिहरुले मस्यौदा पत्रमा केन्द्रित रहेर आ -आफ्नो धारणा राख्नुका साथै मस्यौदा पत्रका लागि थप सल्लाह सुझावहरु पनि दिएका थिए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर नबढ्नुको कारण राजनीतिको प्रभाव भएको बताएका थिए। शिक्षक छनौट गर्दा शिक्षक जस्तै शिक्षक छानिनुपर्ने उनको भनाई थियो । शैक्षिक योग्यताको प्रमाण पत्र भएर मात्र कोहि शिक्षक बन्न नसक्ने कोइरालाले बताएका थिए । शिक्षक हुनको लागि विद्यार्थीमैत्री व्यक्तित्व हुनुपर्ने कुरामा जोड दिदै कहिँ काम नपाएपछि रोजगारको विकल्पको रुपमा शिक्षक पेसालाई हेरिनु दुर्भाग्यपूर्ण रहेको मेयर कोइरालाको भाव थियो ।
विकल्प एन अल्टरनेटिभका अध्ययक्ष डा भेषप्रसाद धमलाले प्रस्तुत गरिएको रिसर्च पेपरको लागि धन्यवाद ज्ञापन गर्दै नेपालमा राष्ट्रिय शिक्षा नीतिको अभाव भएको बताए । उनले शिक्षामा लगानी कम रहेको कारण शिक्षा क्षेत्रको उल्लेखनिय विकास हुन नसकेको जिकिर गरे। शिक्षकहरुलाई तालिमको अभाव भएको बताउंदै डा धमलाले शिक्षक हुनको लागि शैक्षिक योग्यताले मात्र पर्याप्त नहुने विचार राखेका थिए ।