कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताएका छन् ।उनले विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहने पनि बताए।
एमाले र राप्रपाका सांसदहरुले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गर्न नमिल्ने बताउंदै प्रदेश प्रमुखलाई ध्यानाकार्षण पनि गराएको थियो । सभामुखले प्रदेशसभामा पहिलो पटक अध्यक्षता गर्न गएपछि आफू आबद्ध रहेको दलको सदस्यता त्यागेको घोषणा गरेको रेकर्ड प्रदेशसभामा रहेको र दलको सदस्यता परित्याग गरिसकेको व्यक्तिलाई गन्ती गरेर सरकार गठनका लागि बहुमत पुर्याउन नमिले एमालेको अडान छ ।
एमालेका तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख खापुङ्ले सरकार गठनका लागि दावी पेस गर्न बिहीबार साँझ ५ वजेसम्मका लागि समय दिएका थिए ।