यस मुद्धामा पैसा डुबाएका पिडीतहरु धेरैजनाको घरबार बर्बाद भएको , धेरैको मानसिक तनावले मृत्यु भएको , अहिले पनि धेरैजस्तो डिप्रेसनको सिकार भएको पिडितहरुले जानकारी दिएका छन् ।
सविन घिमिरे | मालिकले गरेको ठगी धन्दामा फसाइएका भनिएको सुनसरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका कामदार लालबहादुर विश्वकर्माको मुद्धाको पुनरावेदनको तोकिएको आजको पेसी स्थाकित भएको छ । असार २६ गते मंगलबार न्यायधिस विपुल न्यौपाने
र किरणकुमारी गुप्ताको इजलासमा परेको पेसी लाल बहादुरका मालिक तर्फका अधिवक्ताले सारेका हुन् । अधिवक्ताले आजको पेसीमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएसंगै पेसी स्थगित भएको हो । अर्को पेसी श्रावण १६ गतेका लागि तोकिएको छ ।
जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध लाल बहादुर विकले गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका हुन् । उनको पहिलो पेसी पुस ३ गते राखिएको थियो । त्यो दिनको पेसी सरेपछि पुष २६ मा भएको सुनुवाइमा लाल बहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको थियो । उच्च अदालतको आदेशमा ‘सुनसरी जिल्ला अदालतबाट भएको फैसला कानुनको रोहमा फरक पर्न सक्ने देखिँदा विपक्षी नेपाल सरकार पक्षलाई जानकारी दिई नियमअनुसार पेस गर्न’ भनिएको थियो । माघ ३ गते र माघ २४ गते गोलाप्रथा गर्दा झझी झिकाउने न्यायधिस नै परेको कारण हेर्न नमिल्ने भएको थियो। फागुन १६ गते सुनुवाई हुने भएपनि प्रतिवादी दिपक गजमेर ( लालबहादुरका मालिक ) पक्षका अधिवक्ताले आफु विरामी भएको कारण देखाई पेसी सारेको कारण सो दिन पनि सुनुवाई हुन सकेन । फागुन ३० गते गोलाप्रथा गर्दा चुनिएका न्यायधिस अनुपस्थित भएको कारण पेसी सर्यो । चैत्र २८ र वैशाख १९ गतेको पेसीमा झझी झिकाउने न्यायधिस परेको कारण सो दिनहरुको पेसी पनि सरेको थियो । जेष्ठ ९ गतेको पेसी सुनुवाइमा न्यायधिस राम बहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जाहेरवालाहरुको सक्कली पासबुक लगायत बरामदी मुचुल्कामा उल्लेखित कागज प्रमाणहरु झिकाउन आदेश दिएको थियो ।
विभिन्न बाहानामा पटक पटक पेसी सरेको सरै गर्दा आफुहरु आजित भएको लाल वहादुर विक र उनका परिवार लगायत जाहेरवालाहरुले बताएका छन्। यस मुद्धामा लाल बहादुर निर्दोष रहेको जाहेरवालाहरुले बताउंदै आएका छन् । यसका साथै यस मुद्धामा पैसा डुबाएका पिडीतहरु धेरैजनाको घरबार बर्बाद भएको , धेरैको मानसिक तनावले मृत्यु भएको , अहिले पनि धेरैजस्तो डिप्रेसनको सिकार भएको पिडितहरुले जानकारी दिएका छन् ।
लाल बहादुर विकका परिवारले वर्षौदेखि लाल बहादुर निर्दोष छन् भनेर हारगुहार गरिरहेका छन् । लाल बहादुरलाई न्याय दिनपर्छ भनेर चौतर्फी अहिले आवाज उठीरहेको छ ।
घटना के हो ?
सुनसरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका कामदार गोपाल भनिने लालबहादुर विश्वकर्मा झुम्का कारागारमा थुनिएको ७ महिना पुगेको छ । उनीमाथि सुनसरी जिल्ला अदालत निर्मला योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली र ठगी मुद्दामा ७० हजार जरिवाना तथा डेढ वर्ष कैदको सजाय तोकेको थियो ।
०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सले बचतकर्ताको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित ९ जनाले उजुरी हालेका थिए । भोलिपल्ट अर्थात असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा परेको थियो । सो मुद्धामा ज्वेलर्समा कालिगडका रूपमा काम गरिरहेका लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो । उक्त मुद्दामा नै २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम हुँदा लाल बहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र १८ महिना जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा दीपकका दिदि सीता विश्वकर्मा, बुबा कृष्णबहादुर विश्वकर्मा, भाइ कमल विश्वकर्मा र उनका कामदार लालबहादुर विक छन् । कमल विश्वकर्मा अहिलेसम फरार छन् भने अन्य सबै कारागारमा छन्।
त्यसो त ‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् र उनीबाट आफुहरु नठगिएको’ भनी मुख्य जाहेरवाला सुकमित गुरुङ सहित ७२ जना जाहेरवालाहरुले समेत बकपत्र गरेका छन् ।
लाल बहादुरका मालिक दिपक गजमेर , कृष्ण बहादुर विश्वकर्मा ( दीपकका बुबा ) र सीता गजमेर ( दीपकका दिदि ) ले लाल बहादुर विक पसलको कालिगढमात्र रहेको र उनको यसमा कुनै संग्लाग्नता नरहेको भनी वकपत्र गरेका छन्।
प्रतिवादी कृष्णबहादुर विश्वकर्मा गजमेरले अदालतमा सहप्रतिवादी लालबहादुर विश्वकर्मा आफुहरुको सुन पसलका कालिगड रहेको र छोराहरू पसलमा नहुँदा आफुलाई दस्तखत गर्न नआएकोले कालीगढ लालबहादुर विश्वकर्माले सिंहदेवी ज्वेलर्स इन्डस्ट्रिज प्रा.लि. लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु. ५,००,०००।– (पाँच लाख) र अम्बिका अन्जना राईको जम्मा गरेको नगद रु. १०,७२,०००।– (दशलाख बहत्तर हजार) लगायतका पासबुकमा दस्तखत गर्न नलाई सो रकम म आफूले बुझिलिएको भनी वकपत्र गरेका छन्।
लाल बहादुरले आफ्नो मालिक कृष्ण वहादुर विश्वकर्माले सहि गर्नु भनेको कारण सहि मात्र गरेको तर पैसा बुझी लिएको छैन र आफुले जाहेरिवालाहरुलाई ठगि गरेको छैन भनेर बयान दिएका छन् । अन्य कारोवारमा आफ्नो संग्लाग्नता नरहेको भन्दै उनले वकपत्रमा आफु उपरको जाहेरी र अभियोग दावी झुट्टा रहेको बताएका छन्।
लाल बहादुरले दस्तखत गरेका पैसा संकलनकर्ता कन्चन चौधरी र अम्बिका अञ्जना राईले समेत लाल बहादुर विक कामदार हुन् र उनीसंग कुनु कारोवार भएको छैन भनेर वकपत्र गरेका छन्। अन्य संग्लाग्नताबारे अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन ।
सिंहदेवी ज्वेलर्समा पैसा राख्ने तथा जाहेरवालाहरुले जिल्ला अदालत सुनसरीले गरेको फैसलामा लालबहादुरलाई सजाय भएको न्यायोचित नरहेको बताउदै आएका छन्। लाल बहादुरलाई अन्याय भएको भन्दै उनलाई न्याय दिनुपर्ने मागसहित सामाजिक सन्जालमा ” जस्टिस फर लाल बहादुर” अभियान ब्यापक चलेको थियो। उनको समर्थनमा इटहरी र काठमाडौंमा प्रदर्शन समेत भएको थियो। इटहरीका मेयर हेमकर्ण पौडेल , मानव अधिकारकर्मी तथा विभिन्न अभियान्ता समेत लाल बहादुर बिकको घरमा गई पारिवारलाई भेटघाट गरेका थिए। सबैले लाल बहादुरको न्यायको लागि पहल गर्ने आश्वासन दिएका थिए ।