चोलुंग पार्क लिम्बूजातिहरुको विषयमा खोज अनुसन्धान गर्ने अनुसन्धान केन्द्रको रुपमा विकसित भइरहेको छ । त्यहाँ घुम्नको लागि मात्र नभएर विभिन्न कलेज तथा विश्वविध्यालयका प्राध्यापक तथा विद्यार्थीहरु अवलोकन भ्रमणका लागि पनि आउने गर्दछन ।
-सविन घिमिरे
विश्व बैंकको अनुसार सन् २०२२ मा नेपालमा पर्यटन व्यावसायको योगदान २ खर्ब ८९ अर्ब रुपैया भन्दा बढीको देखिन्छ, जुन कुल ग्राहस्थ उत्पादनको ६.७ % हुन आउछ । पर्यटनको कुरा गर्दा हामी गर्वका साथ् ” पर्यटनमा धनी देश नेपाल ” भन्छौ। नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको चर्चा यहाँ मैले गर्न थाले भने शायदै सयौ हजारौ पन्नामा लेख्दा पनि नसकिएला । नेपालको काही नभएको प्राकृतिक भौगोलिक संरचना नै सर्वप्रथम विश्वको ध्यान खिच्न लायक छ ।
यहाँ १५० देखि २०० किलोमिटरको छोटो दुरी मात्र पार गर्दा समुद्री सतहदेखि २८ किलोमिटरमा रहेको केचना कबल देखि विश्वकै अग्लो चुचुरो सगरमाथा पुग्न सकिन्छ । विश्वका अग्ला चुचुरोहरुमध्ये ८ वटा त नेपालमै छन्। विस्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल मात्र यहाँ छैन यस्ता सयौं ताल तलैया , खोला नदि , वन जंगल , हिमाल तथा पहाड हाम्रो देशमा रहेको छ । नेपालमा विश्वकै गहिरो उपत्यका काली गण्डकी उपत्यका अवस्थित छ। एसियाकै चौथो अग्लो झरना ह्याथ्रुंग झरना तेह्रथुममा छ ।२८ प्रजातिका गुराँस तथा सयौं प्रकारका जडिबुटि पाउन सकिने तीनजुरे मिल्के जलजले जस्ता क्षेत्र अथाह छन् हामीसंग। विश्वका सयौं देशहरुले मानवनिर्मित सानोतिनो पहाड , ताल , नदी बनाउन अरबौ खर्च गरेका छन् । यहाँका कैयौं नदी र सयौं खोला र झरना प्रकृतिको देनका रूपमा सित्तैमा हामीले पाएका छौ ।
सहिष्णुता, सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति विश्वमै उत्कृष्ट छ । हामी संस्कृतिका धनी मात्र छैनौ अनेकतामा एकताको बासना विश्वभरि फैलिएको छ । झन्डै १२५ जातजाति हामी कहाँ छन्, जसको फरक भाषा, संस्कार, संस्कृति, लवाईखवाई र रहनसहन रहेको छ । । २ अर्ब विश्वभरका हिन्दुहरुको महत्वपुर्ण धार्मिक स्थल पशुपतिनाथ मात्र होइन तर विभिन्न लाखौ मठमन्दिरहरु हाम्रै देशमा छ। ४० करोड बौद्ध धर्मालम्वीहरुले आस्था गर्ने गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो जुन विश्वभरको वौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र हो।
यसरी अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू अधार हामीले पाएका छौ जुन गौढ कुरा होइन । गौढ कुरा त यसलाई हामीले सदुपयोग गरेका छौ छैनौ भन्ने हो।
नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई नेपाल आउनको लागि खुला गरिएको थियो तर यसको विकास तथा विस्तार भने वि.सं २००७ को ऐतिहासिक परिवर्तनपछि नै भएको हो । विभिन्न समयका सरकारहरुले सरकारले देशको समृद्धिका लागि पर्यटन प्रवर्द्धनलाई मुख्य हतियार बनाउने रणनीति विभिन्न समयमा नलिएको होइन । विगतदेखि नै नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विश्वस्तरमा चिनाउने प्रयासहरु पनि विभिन्न सरकारको पालामा भइरहेका छन् । भ्रमण वर्ष १९९८ ले नेपालको पर्यटनलाई निकै राम्रो ब्राण्डिङ्ग र प्रचार गरेको मानिन्छ तर त्यस यता १० वर्षे जनयुद्धले नेपालको पर्यटन धरासायी बन्यो । साख चाहि मर्न नपाएको नेपालको पर्यटन २ वर्षको कोभिड महामारीले पनि थला परेको अवस्था थियो । महामारीको कारण नेपाल भ्रमण वर्ष २०२० तुहिएको जस्तो भयो ।
कोभिड पछिको अवस्था हेर्ने हो भने पर्यटन व्यवसाय पुन: टंगरिन थालेको छ। अहिले पनि पर्यटन नै नेपालका लागि आर्थिक लाभको क्षेत्र हो जुन देशको समृद्धिको आधार पनि हो। तर यस क्षेत्रमा सरकारको पर्याप्त ध्यान पुग्न सकेको छैन , पर्याप्त मात्रामा लगानी हुन सकेको छैन । पर्यटन विकासका लागि स्थानिय , प्रदेश तथा संघिय सरकारले सोचेजस्तो कार्यक्रम ल्याउन सकेको छैन । जसको कारणले यो क्षेत्रबाट आशातीत रूपमा उपलब्धि हासिल भएको छैन ।
नेपालको समग्र पर्यटन विकासमा कोशी प्रदेशको योगदान महत्वपुर्ण छ । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ ओटा गाउँपालिका रहेको कोशी प्रदेशमा १४ ओटा जिल्ला छन् जहाँ तराई, पहाड र हिमाली क्षेत्र समेटिएको छ । प्रदेशमा १ सय ३५ स्थानीय तह छन्। प्रदेशका चौधै जिल्लामा गरी करीब साढे ४५ लाख जनसंख्या छ । नेपालको उत्कृष्ट पर्यटकिय गन्तव्यहरु मध्ये धेरैजसो कोशी प्रदेशमा अवस्थित छन् ।
कोशी प्रदेशमा रहेको विश्वको उच्च शिखर सगरमाथा अरोहण गर्न र त्यस वरपरका क्षेत्रमा घुम्न विश्वका करोडौ मानिसको जिन्दगीकै सपना हो। कोशी प्रदेशमा रहेको सगरमाथा लगायत मकालु , कन्चनजंघा जस्ता पर्वत अरोहण गर्नु तथा हिमालको फेदमा भएपनि पाइला टेक्नु धेरै देशका मानिसहरुको लागि ” सम्झिने पानी छाम्किने” जस्तै हो।
तर जति पनि विश्वका पर्यटकहरु यस क्षेत्रमा जान चाहेका छन् , तिनीहरुसम्म हामी पुग्न सकेको छैन । अर्थात हाम्रो प्रचारप्रसारको पहुँच पर्याप्त भएको छैन । कोशी प्रदेशमा रहेका हिमालहरु आरोहण गर्न आएका पर्यटकले तिर्ने रोयल्टी संघीय सरकारमा जान्छ । यस कारण स्थानीय वा प्रादेशिक सरकारले आफूले गर्न सक्ने योजनाहरु अघि बढाउन केन्द्रको मुख ताक्ने अवस्था छ। विश्वको ध्यान खिच्ने कोशी प्रदेशका हिमाली क्षेत्रहरुसम्म पुग्ने सडक तथा हवाई संरचानाको अवस्था नाजुक छ । पर्यटकहरुको लागि ती क्षेत्रमा व्यवस्थित वसोवास र अन्य आकस्मिक सेवा प्राप्त गर्न कठिन छ । विश्वका हजारौ चलचित्रहरु छायांकन गर्ने उत्कृष्ट गन्तव्य बन्न सक्छ हाम्रो हिमालहरु तर त्यस प्रकारको योजनाका लागि लविङ्ग गर्न सरकार तथा सरोकारवाला निकाय चुकेका छन् ।पूर्वी नेपालका उत्कृष्ट पदयात्राहरूले प्रसिद्ध हिमालहरूको विशालता देखाउँछन्। सगरमाथा क्षेत्र बाहेक कोशी प्रदेशले वास्तवमा अपेक्षाकृत कम अन्तर्राष्ट्रिय आगन्तुकहरू पाएका छन् । तर यो क्षेत्र माउन्ट कञ्चनजङ्घाको घर हो जुन विश्वको तेस्रो अग्लो हिमाल हो ।
पूर्वी नेपालको पदयात्रा संसारमा उत्कृष्ट छ। हालैका वर्षहरूमा पूर्वी नेपालमा पदयात्राका लागि पूर्वाधारमा सुधार भइरहेको छ। सडकहरू विकसित भइरहँदा ट्रेलहेडहरूको पहुँच पनि परिवर्तन हुँदैछ । केही अवस्थामा सजिलो हुँदै गइरहेको छ। इलाम , अरुण उपत्यका- एभरेस्ट बेस क्याम्प , मेरा पिक , मकालु बेस क्याम्प र कन्चनजन्ग्घा जस्ता पैदल यात्रा रुटको प्रवर्धन , प्रचार र विकास गर्न सके यहाँ हजारौ आन्तरिक तथा बाह्य पर्यटक पैदलयात्राको मार्फत भित्र्याउने सम्भावना छ ।
विश्वका विभिन्न देशको उदाहरण हेर्ने हो भने त्यहाँको खोलानाला , समुद्री किनारा , ताल , पोखरी , पहाड तथा चट्टान इत्यादिलाई व्यवस्थित गरेर त्यसैको माध्यमबाट हजारौ पर्यटक भित्र्याई विदेशी मुद्रा आर्जन गरेको पाइन्छ । माल्दिभ्सका टापुहरु , इण्डोनेशियाको बालि टापु , भारतको गोआको समुद्री किनारा घुम्न वार्षिक लाखौ पर्यटकहरु जाने गर्छन। माल्दिभ्सले हरेक बर्ष १६ लाख पर्यटक भित्र्याउछ, इन्डोनेसियाको बालि टापुले हरेक बर्ष झन्डै ५०-६० लाख पर्यटक भित्र्याउछ । हाम्रो कोशी प्रदेशका अरुण , तमर , सप्तकोशी जस्ता ठुलाठुला नदिनाला तथा सहायक हजारौ नदिहरुको तिनीहरुलाई क्षति नहुने गरेर पर्यटकिय उपयोगिता पनि छन् कि भनेर अध्ययन गर्न ढिला गर्नुहुदैन । तमोर नदीमा बेला बेला र्याफ्टिङ्ग गरेको देख्न सकिन्छ । यसलाई थप व्यवस्थित र प्रचारप्रसार गरेर सेवा थप गर्न सकिन्छ। अन्य नदीहरुमा पनि यस किसिमको मनोरंजन तथा साहसिक क्रियाकलाप गराउने सम्भाव्यता अध्ययन गरी अन्तरिक पर्यटन थप भित्र्याउन पहल गर्नुपर्छ।
तीनजुरे मिल्के जलजले क्षेत्रको तीनजुरेको आर आर गार्डेनमा अवस्थित चट्टानको पहाडमा रक क्लाइम्बिङ्ग खेलको शुरुवात गरे त्यहाँ रक क्लाइम्बिङ्गको अन्तराष्ट्रिय प्रतिस्पर्धा पनि गराउन सकिने सम्भावना छ । धरानको चिण्डे डाडाबाट बेलाबेला प्याराग्लाइडिङ्ग उडान भएको देखिन्छ। यस प्रकारको अन्य विभिन्न किसिमको साहासिक खेल तथा मनोरन्जनको प्रचुर सम्भावना बोकेको स्थानको अध्ययन गरी कोशी प्रदेशले पर्यटकिय लाभ आर्जन गर्नुपर्छ ।
पाथिभरा, वराहक्षेत्र, हलेसी , बुढासुब्बा जस्ता धार्मिक स्थल पनि यो प्रदेशका आकर्षण हुन् । यी धार्मिक स्थलमा धार्मिक क्रियाकलापका लागि भारत लगायत नेपालकै अरु प्रदेशका अन्तरिक पर्यटकहरु पनि वर्षेनी लाखौको संख्यामा आउने क्रम छ । विराटनगरमा एसियाको दोस्रो ठुलो रथ यात्रा प्रत्येक वर्ष आयोजना हुने गर्छ । यस रथ यात्राको अवलोकन गर्न सो दिन नपालभरिबाट तथा भारतबाट पनि लाखौ हिन्दु धर्मालाम्बिहरु आउने गर्छन । महाभारतको इतिहास जोडिएको विराट राजाको दरवार रहेको स्थान पनि विराटनगरमा छ । यसको उन्नतोरी विराटनगर महानगरपालिकाले गरिरहेको छ। हाम्रो प्रदेशमा रहेका धार्मिक स्थलहरुलाई व्यवस्थित , सुरक्षित र आकर्षित गर्न सके धार्मिक पर्यटक फस्टाउने सम्भावना पनि यो प्रदेशले बोकेकै छ ।
विश्वमा लोपोन्मुख रेड पाण्डा , स्नो लियोपार्ड , काडे भ्याकुर , कस्तुरी जस्ता वन्यजन्तु तथा चराचुरुंगीको वासस्थान कोशी प्रदेश हो । जैविक विविधताले भरिपुर्ण कोशी प्रदेशमा कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । २८ जातको गुराँस पाइने गुराँसको राजधानी तीनजुरे मिल्के जलजले , सुर्योदय अवलोकन गर्न सकिने श्री अन्तु , इलामको चियाबगान , तीनजुरे , भेडेटार जस्ता पर्यटकीय गन्तव्यबाट कोशी प्रदेशले लाखौँ अन्तरिक तथा बाह्य पर्यटक भित्र्याई लाभ लीइरहेको छ। विश्वभरका वन्यजन्तु , चराचुरुं तथा वनस्पति सम्बन्धि खोज अनुसन्धान गर्नेहरुको लागि कोशी प्रदेश एक अनुसन्धान केन्द्रको रुपमा विकास हुन सक्छ ।
सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान झापाको केचनकवलसमेत समेटिएको कोशी प्रदेशका हिमाल , पहाड , नदि तथा खोलानाला मात्र नभएर यहाँको १२६ जातजातिको आ आफ्नै भाषा , रितिरिवाज , संस्कृति , भेषभुषा पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण छन् । नेपालको जस्तो जात , धर्म , भाषा , संस्कृति , भेषभुषा , लवाइखवाइको भिन्नता विश्वको थोरै देशहरुमा मात्र पाइन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाले लिम्बू जातिमा आधारित चोलुंग पार्क निर्माण गरी लिम्बू जातिहरुले प्रयोग गर्ने पुराना पुराना सामाग्रीहरु संकलित युमा संग्राहलय पनि स्थापित गरेको छ। चोलुंग पार्क लिम्बूजातिहरुको विषयमा खोज अनुसन्धान गर्ने अनुसन्धान केन्द्रको रुपमा विकसित भइरहेको छ । त्यहाँ घुम्नको लागि मात्र नभएर विभिन्न कलेज तथा विश्वविध्यालयका प्राध्यापक तथा विद्यार्थीहरु अवलोकन भ्रमणका लागि आउने गर्दछन । एवं प्रकारले कोशी प्रदेशमा रहेको विभिन्न जातजातिहरुको रितिरिवाज , संस्कृति , भेषभुषा , सरसमाग्रीलाई संरक्षण गरेर त्यसलाई प्रवर्धन गर्न सके यस प्रदेशलाई पनि जातजाति रितिरिवाज भेषभुसा भाषा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सकिन्छ । विश्वमा धेरै देशहरु छन् जहाँको पुस्ताकालय र संग्राहलय अवलोकन गर्न लाखौ पर्यटकरु जाने गर्छन।
कोशी प्रदेशले प्राकृतिक सौन्दर्य, धार्मिक तथा संस्कृतिक विविधता र हावापानी भिन्नता जस्ता धेरै पर्यटक लोभ्याउने गुण बोकेको छ । तर पनि हाम्रो प्रदेशले यसलाई उपयोग गर्न सक्ने क्षमता नराख्नु बिडम्बना हो । माथि वर्णन गरिएका पर्यटकिय गन्तब्य पुग्न अपर्याप्त पूर्वाधार पर्यटन विकासको बाधक बनेको छ । तीन तहका सरकार एकअर्कासँग राम्रोसँग समन्वय गर्न सकिरहेका छैनन् । तिनै तहका सरकार एक अर्काको पर्यटकीय दृष्टिकोणमा प्रष्ट नभएको आभास हुन्छ।
अहिले पनि कोशी प्रदेशका पर्यटकिय स्थल भनिएका ठाउँहरु पुग्न सडकको कारण धेरै कठिनाई भोग्नु पर्छ। कतिपय ठाउँहरुमा त सडक नै पुग्न सकेको छैन । सरकारका पर्यटक सम्बन्धि काम गर्ने निकायका प्रतिनिधिहरुले पनि कतिपय पर्यटकिय स्थानहरुको बारेमा सुनेका त छन् तर पुगेका छैनन् , अवलोकन र सम्भाव्यताका अध्ययन त परै जाओस ।
अन्तर्निहित नीतिहरू, दक्ष जनशक्तिको अभाव, विज्ञापनको अभाव, सरोकारवालाहरूबीच समन्वय र छलफलको अभाव कोशी प्रदेशमा पर्यटन विकासका धेरै समस्याहरू हुन्। विश्वका दुई विशाल देश चीन र भारत नेपालको नजिकको छिमेकी राष्ट्र हुन् । भारतको जनसंख्या १ । ३ अर्बभन्दा बढी छ भने चीनको पनि । ४ अर्बभन्दा बढी छ । विश्वका अन्य मुलुकलाई छाडेर चीन र भारतका पर्यटकहरुलाई मात्र पनि नेपालमा पर्यटकको रुपमा भित्र्याउने सके पर्यटनको माध्यमबाट देशले आर्थिक रुपमा विकास गर्न सक्ने सम्भावना छ। कोशी प्रदेशमा भारतीय, चिनिया , बंगलादेशी, भुटानी र आन्तरिक पर्यटकलाई प्राथमिकता दिने नीतिहरू विकास गरी लागू गर्न सके कोशी प्रदेशले यी देशका पर्यटकहरुबाट पनि आर्थिक लाभ आर्जन गर्न सक्छ । यसका लागि नेपाल सरकारले ती देशका सरकारसँग कूटनीतिक सम्बन्ध विकास गर्नुपर्छ ।
हाम्रो प्रदेशमा अथाहा पर्यटकिय सम्भावना भएपनि पर्याप्त विज्ञापन तथा ब्राण्डिङ्गको अभावले यहाँका गन्तव्यबारे धेरै देशका मानिसहरुलाई थाहा छैन । भारत तथा चीनका विभिन्न शहरहरुमा यहाँको पर्यटकिय गन्तव्यहरु बारे प्रचार प्रसार गर्न सके धेरैले आफ्नो भ्याकेशनको गन्तब्य नेपाल बनाउने थिए । बेलाबेला विश्व प्रख्यात युट्युबर तथा कलाकारहरुले नेपाल भ्रमण गरी भिडियोको मार्फत विश्वमा हाम्रो देशको बारेमा बताएका छन्। यस प्रकारले भ्रमणमा आएका जो कोहिलाई पनि असल व्यवहार , अतिथ्य सत्कार तथा सुरक्षाको महसुस गरायौ भने विश्वभर राम्रो संदेश जानेछ । नेपालमा पनि धेरै भिडियोग्राफर , भ्लगर , कन्टेन्ट क्रिएटर तथा मिडियाहरु छन् । कोशी प्रदेश सरकारले यहाँको पर्यटन प्रचारमा टेवा पुर्याउने व्यक्ति , समूह तथा मिडियालाई प्रोत्साहित गर्ने काम गर्नुपर्छ । यसले गर्दा पर्यटकिय गन्तव्य तथा यहाँ घुम्न आउनुपर्ने कारणबारे प्रचार प्रसार व्यापक भई पर्यटकलाई जानकारी गराई आकर्षित गराउन थप मद्धत गर्दछ। भारत , चीन तथा अन्य मुलुकका सार्वजनिक स्थलमा नेपालको पर्यटनबारे उताकै भाषाहरुमा प्रचार हुन सक्ने किसिमको विज्ञापनहरु दिन सके पनि नेपालको पर्यटनलाई टेवा पुग्दछ । कोशी प्रदेशमा आउने पर्यटकहरुलाई पर्यटन व्यवसाय र सरकारको सहकार्यमा ट्राभल प्याकेजहरु प्रदान गर्न सकिएको छैन ।यस बारे पनि सरकार , पर्यटन व्यवसायी तथा सरोकालाहरुको ध्यान जान जरुरी छ । त्यस्तै यहाँका युवाहरुलाई चीनिया भाषा तथा अन्य देशका भाषा सिकाउन सके पर्यटक गाइडको रुपमा रोजगार सृजना गर्न मात्र होइन भाषा अनुवादकको सहज उपलब्धताले ती देशका पर्यटकहरु थप आकर्षित हुन्छन।
कोशी प्रदेशमा बेलाबेला स्थानिय सरकार , प्रदेश सरकार , पर्यटन व्यवसायी तथा विभिन्न सरोकालाहरुबिच विभिन्न समयमा पर्यटन प्रवर्धन केन्द्रित छलफलहरु हुने गर्छन । तर ती छलफल छलफलमा मात्र केन्द्रित हुनु भएन । त्यहाँ आएका सुझावहरुलाई आवश्यकता अनुसार कार्यन्वयन तथा योजनामै लाने पहल पनि गरिनुपर्छ ।
पछिल्लो समय २०२३ जुन २ गते होटल श्रीकृष्णमा विकल्प एन अल्टरनेटिभले आयोजना गरेको “पर्यटनका चुनौती र सम्भावना” सम्बन्धी सरोकारवालाहरुको बैठकमा कोशी प्रदेशको पर्यटन उद्योगमा देखिएका वर्तमान चुनौतिहरुको बारेमा छलफल भएको थियो । कोशी प्रदेशमा पर्यटन विकासको लागि सम्भावित अवसरहरू के हुन सक्छन भनेर त्यहाँ छलफल भएको थियो । कार्यक्रममा विराटनगरकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिको रुपमा उपस्थित थीइन भने कोशी प्रदेशका एसएसपी जयराज सापकोटा विशेष अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा कोशी प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, निजी संघसंस्था, व्यवसायी संघ, होटल संघ, नागरिक समाजका प्रतिनिधिले कोशी प्रदेशको पर्यटन उद्योगको वर्तमान अवस्थाका बारेमा आ-आफ्नो बहुमूल्य अन्तर्दृष्टि राखेका थिए ।
होटेल एशोसिएसन नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले कोशी प्रदेशमा रहेका प्राकृतिक सौन्दर्य, धार्मिक विविधता, सांस्कृतिक विविधता र हावापानी भिन्नता जस्ता पक्षले पर्यटक आकर्षित गर्न सक्ने भएपनि प्रदेशले यी सम्भावनाहरुको उपयोग गर्न नसकेको बताएका थिए । पर्यटकीय विकासका लागि तिनै तहका सरकारहरुले समन्वय गर्न नसकेको गुनासो श्रेष्ठको थियो। भारतीय आगन्तुकहरू स्वतन्त्र रूपमा हाम्रो देशमा प्रवेश गर्नका लागि धेरै अवरोधहरू भएको उनको जिकिर थियो । नेपाल घुम्न आउने भारतीय पर्यटकरुलाई अनावश्यक अत्याधीक चेकजाच हुने हुँदा भारतीय पर्यटकहरु आजित भएको उनको भनाई थियो । पर्यटन उद्योगको अवस्था सुधार गर्न कोशी प्रदेशले विराटनगर विमानस्थललाई थप सुद्रिढिकरण गर्नुपर्ने तथा यहाँबाट अन्य ठाउँ र शहरहरुमा पनि उडान शुचारु गर्नु पर्ने सुझाव श्रेष्ठको रहेको थियो । त्यस्तै उनले कोशी प्रदेशको राजधानी विराटनगरले एमआईसीई पर्यटनबाट लाभ उठाउन सक्ने बताउनुभयो । ठुलाठुला सभा सम्मेलन गर्नको लागि पर्याप्त र व्यवस्थित सभाहल तथा यस्तै स्थानहरु निर्माण गर्न सके यस माध्यमबाट पनि छिमेकी मुलुक तथा देशबाटै पनि यस प्रदेशमा पर्यटक भित्र्याउन सकिने उनले बताएका थिए ।
आन्तरिक पर्यटन पुनरुत्थान समितिका कोशी प्रदेश संयोजक भवेश कुमार श्रेष्ठले अन्तर्निहित नीतिहरू, दक्ष जनशक्तिको अभाव, विज्ञापनको अभाव, सरोकारवालाहरूबीच समन्वय र छलफलको अभाव पर्यटन उद्योगका केही समस्याहरू भएको बताएका थिए । कोशी प्रदेशले भारतीय, बंगलादेशी, भुटानी र आन्तरिक पर्यटकलाई प्राथमिकता दिने नीतिहरू विकास गरी लागू गर्नुपर्ने उनको सुझाव थियो । बंगलादेशबाट आउने पर्यटकलाई सडक यात्रा सहज बनाउन सरकारले भारत सरकारसँग कूटनीतिक सम्बन्ध विकास गर्नुपर्ने उहाँको भनाई थियो । कोशी प्रदेशमा घुम्न आउने पर्यटकलाई ट्राभल प्याकेज र विज्ञापनका माध्यमबाट कोशी प्रदेशका अन्य पर्यटकीय स्थलहरू प्रवर्द्धन गरिनुपर्ने उनको सुझाव थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आगन्तुकहरूमा धेरै करहरू लगाउनु नहुने जीकिर गरे । भारतीय रेलवे स्टेशन जस्ता सार्वजनिक स्थलहरूमा कोशी प्रदेशका पर्यटकीय गन्तव्य र आकर्षण देखाउने ब्यानर टाँस्न सरकारी पक्षबाट पहल गरिनुपर्ने सुरानाले सुझाव दिए । पर्यटकहरूको लागि व्यापक र सुविधाजनक प्याकेजहरू प्रस्ताव गरिनुपर्ने पनि उनले सुझाव दिए । पर्यटकहरुलाई सहजीकरण गर्न , सूचनाको प्रसार, सुरक्षा सल्लाह र समस्या समाधानको लागि हप्ताको सातै दिन समर्थन र सूचना केन्द्रहरु विस्तारित गर्नुपर्ने सुझाव पनि सुरानाले दिएका थिए।
विराटनगरका युवा पर्यटन व्यवसायी पुण्य पुण्य भट्टराईले चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रिय विद्यार्थी कोटा घटाउँदा शैक्षिक पर्यटन प्रभावित भएको बताए। । यसले गर्दा कोशी प्रदेशमा चिकित्सा अध्ययन गर्न आउने विद्यार्थीहरुको माध्यमबाट आउने आम्दानी पनि बन्द भएको उनको भनाई थियो । भट्टराईको भनाइ अनुसार भारत, बंगलादेश र माल्दिभ्स जस्ता देशका मेडिकल विद्यार्थीका परिवार आफ्ना बालबालिकालाई भेट्न कम्तीमा १५ दिन नेपालमा बस्ने गर्दथे । यसरी पटक पटकको भ्रमणमा उनीहरुले लाखौ यहाँ खर्च गर्छन तर आज त्यो अवस्था रोकिएको उनले बताए । भ्ट्टराइले नियमहरू लागू गर्नु अघि सरकारले अनपेक्षित परिणामहरू विचार गर्नुपर्ने र कुनै पनि सम्भावित हानिकारक प्रभावहरू राम्ररी अनुसन्धान गर्नुपर्ने सुझाव दिएका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङका चेतन निरौलाले पर्यटन संरक्षणका अत्यावश्यक पक्षहरु आतिथ्य र भ्रमणका कोशेली तथा सम्झनाहरू समावेश रहेको बताए । पर्यटन क्षेत्रको विकासमा लघु तथा साना उद्योगले अहम भूमिका निर्वाह गरे पनि यो उद्योग उपेक्षित भएको उनको गुनासो रहेको थियो । ढाका टोपी, खडा, माला, आदि जस्ता घरेलु र साना उद्यमहरूका उत्पादनहरूले पर्यटकहरूलाई स्वागत गर्ने आधारको रूपमा काम गर्दछ। फलस्वरूप, पर्यटन विकासका लागि यी उद्योगहरू बढाउनुपर्ने आवश्यकता रहेको र यसको प्रवर्धनमा विकासमा सरकार तथा सरोकारवालाहरुले उपेक्षा गर्न नहुने उनको भनाइ थियो ।
होटेल एशोसिएसन नेपाल कोशी प्रदेशका वाशुदेव भट्टराईले पहिले कोशी प्रदेशका प्राथमिक पर्यटकीय गन्तव्यहरू निर्धारण गर्नुपर्ने बताए । पर्यटकीय आकर्षण वा उत्पादनको रूपमा बजारमा के गर्न चाहन्छौं भन्ने कुरामा सरोकारवाला तथा निकायहरु स्पष्ट हुनुपर्ने उनको भनाई थियो । यस प्रदेशमा कस्ता कस्ता किसिमका पर्यटकलाई आकर्षित गर्न चाहने भनेर पनि ठोस रुपमा जान्न आवश्यक रहेको उनले बताए । भट्टराईले लक्षित बजारलाई पूरा गर्न ट्राभल प्याकेजहरू सिर्जना गर्न आवश्यक रहेको पनि बताए । कोशी प्रदेशमा कुनै नयाँ गन्तव्यको परिचय कुनै निकायले गराउन नसकेको र सरकारले ती पर्यटक स्थलहरूमा आफ्नो सेवाहरू प्रदान गर्न व्यवसायी तथा उद्यमीहरूलाई कुनै पनि प्रोत्साहन प्रदान गर्न नसकेको आरोप लगाएका थिए । विमानस्थलमा ध्यान दिनुको सट्टा अब सडक सञ्जाल बढाउन जोड दिनुपर्ने उनको भनाई थियो ।
उद्योग चेम्बर मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग सङ्घ मोरङ (सिआइएम)ले विराटनगरमा सम्मेलन र पर्यटन एक्स्पो आयोजना गरेको स्मरण गराउँदै त्यसले विराटनगरको पर्यटन उद्योगलाई केही हदसम्म मद्दत गरेको बताए । त्यसबेला पर्यटक र आगन्तुकहरूलाई समायोजन गर्न पर्याप्त होटलहरू खोज्न संघर्ष गरेको पनि उनले स्मरण गराए। विराटनगरमा विभिन्न प्रायोजनका लागि आएका पर्यटकका लागि पर्यटन प्केयाज दिने कुनै पनि ट्राभल एजेन्सीहरु सक्रिय नरहेको उनको भनाइ थियो । स्वास्थ्य, खेलकुद आदिसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनहरू जस्ता कार्यक्रमहरूमा विराटनगरले ध्यान केन्द्रित गरे त्यस माध्यमबाट विराटनगरले अरबौ रकम आर्जन गर्न सक्ने भट्टराईले बताएका थिए।
नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका विजयहरी शर्माले अस्पष्ट र भ्रामक नीतिका कारण लगानीकर्ताले पर्यटन क्षेत्रमा भरपर्दो लगानी गर्न नसकेको बताएका थिए। कोशी प्रदेशमा अझ धेरै पर्यटन विकास क्षेत्रहरू पहिचान गरी त्यसको संरक्षण र व्यवस्थापन गर्नुपर्ने शर्माको सुझाव थियो।
पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका अधिकृत रामसुन्दर थापाले प्रदेशको समृद्धिको लागि पर्यटन उद्योगको विकास आवश्यक रहेको प्रष्ट पारे । कोशी प्रदेशले साहसिक पर्यटन प्रवर्द्धनमा गर्न सक्ने जति काम गर्न नसकेको थापाले बताए । र्याफ्टिङलाई आकर्षक खेलको रूपमा प्रवर्द्धन गर्न मन्त्रालयले स्थानीयहरूलाई र्याफ्टिङ गाइड तालिमका लागि छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको पनि उनले जानकारी दिए। मन्त्रालयले रचनात्मक उत्पादन, स्थानीय उत्पादन ब्रान्डिङ, र जैविक उत्पादनलाई पनि महत्त्व दिइरहेको उनले उदृत गरे। उनले पर्यटन विकासका लागि मुख्य समस्या समन्वयको अभाव रहेको उल्लेख गर्दै समन्वयको अभावमा पर्यटन उद्योगको विकासका लागि नीतिहरू राम्ररी लागू गर्न गाह्रो हुने उनले बताए।
कोशी प्रदेशका बरिष्ठ प्रहरी उपरीक्षक जयराज सापकोटाले पर्यटन क्षेत्रको विकास ढिलाइ हुनुको मुख्य कारण नीतिगत अवरोधहरू रहेको बताए। संघीयताका कारण शक्ति बाँडफाँड भए पनि प्रहरी हालसम्म पनि केन्द्रकै निगरानि र आदेशमा चल्दा प्रदेश सरकारसंग सहकार्य सहज नभएको विचार सापकोटाले राखे। सगरमाथा पदयात्रीहरुको प्रदेशसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पर्दै उनले कोशी प्रदेशका हिमालहरु आरोहण गर्ने आरोहिहरुको सम्बन्ध प्रदेश सरकारसंग भए यस प्रदेशले लाभ लिन सक्ने सुझाव उनले दिए । कोशी प्रदेशमा आगन्तुकहरूप्रति अप्रिय घटना हुन नदिन र उनीहरको सुरक्षाको लागि प्रहरी प्रतिबद्द रहेको उनले स्पष्ट पारे। पर्यटकलाई सीमामा हेल्प डेस्क र सूचना प्रवाहको माध्यम प्रशस्त उपलब्ध गराउनु पर्ने र यसको लागि सरकारी तवरले पहल हुनुपर्ने उनले बताए। प्रहरी एजेन्सीले पर्यटकहरुको चेकजाँच गरेर उनीहरुले ल्याएका पैसाहरु जफत गरेको हल्ला पुर्ण रुपमा असत्य भएको प्रष्ट पार्दै उनले करोडौ रकम भएकाहरु जति पनि पक्राउ परेका छन् तिनीहरु अवैध धन्दा गर्ने र कुनै स्रोत नरहेको बताए। प्रहरीको तर्फबाट पर्यटकलाई कुनै बाधा नरहेको र पर्यटकको सेवा र सुरक्षाका लागि प्रहरी विभाग समन्वय गर्न सधैं तयार रहेको बताए ।
विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले पर्यटन सम्बन्धी सत्य तथ्यांक नरहेको बताइन् । उनले पर्यटनको सहि तथ्याङ्ग्कका साथ् पर्यटन सम्बन्धि दिगो लक्ष बोकेर अगाडी बढ्नु पर्ने बताउंदै विराटनगर महानगरपालिकाले पर्यटकलाई कम्तीमा दुई दिन यहाँ बस्न सक्ने बनाउने योजना बनाएको जानकारी दिईन । विरटनगरमा यहाँ आउने आगन्तुकहरुलाई होल्ड गराउनको लागि पर्याप्त गन्तब्य नभएको अवस्थामा महानगरपालिकाले विराट राजा दरबार सौन्दरिकरण, हनुमान मन्दिरमा अरतिको आयोजना र प्रधानमन्त्रि पार्कको निर्माणको पहल थालिएको जानकारी उप प्रमुखले गरेन । हरेक वर्ष विराटनगरमा हुने एसियाको दोस्रो ठूलो रथयात्रालाई राम्ररी ब्राण्डिङ र विज्ञापन गर्ने प्रक्रिया पनि सुरु गरेको उनले बताइन । पर्यटकको लागि सुचना केन्द्रलाई थप सक्रिय र व्यवस्थापन गर्न आफुहरुले पहल गरिरहेको जनाउंदै विराटनगरमा पर्यटन व्यवसायी , स्थानीय , प्रदेश तथा केन्द्रिय सरकार र सरोकारवालाहरुबीच समन्वय भए यहाँ पर्यटनको थप विकास गर्न सकिने उनको जिकिर थियो ।
समग्रमा कोशी प्रदेशको समृद्धिको आधार पर्यटन भएकोले यस प्रदेशलाई पर्यटकीय हब बनाउनुपर्छ । यसको लागि नेपाल सरकारका तीनै तहको समन्वय , सरोकारवाला र स्थानियवासीको सहकार्य आवश्यक छ । आउनुहोस , कोशीमा पर्यटन विकासका लागि हातेमालो गरौ ।