-बसन्त अधिकारी
सस्तो सामान खरिद गर्नको निम्ति विराटनगर लगायत आसपासका मानिसहरु जोगबनीको बजार जाने भएकोले विराटनगरको बजार सुकेको र जोगबनीको बजार फस्टाएको भन्ने निक्योल निकाल्दै विराटनगर महानगरपालिकाले २०८० श्रावन १ गते देखि विराटनगर भन्सार नाकामा कडाइ गर्ने भएको छ । स्वदेशमै सामान खरिद गरौ र स्थानीय बजारलाई प्रबर्धन गरौ भन्ने आशय राखेर भन्सारमा कडाइ गरेको यो निर्णय राम्रो सुनिए पनि यस निर्णयले नागरिकहरुलाई सस्तोमा सामान किनेर खानबाट बन्चित गराई महँगोमा सामान खरिद गर्न बाध्य बनाई सर्वसाधारणहरुको थोरै भए पनि बचत खोस्ने छ भन्ने मेरो बुझाइ छ ।
निसन्देह पनि स्वदेशको उत्पादनर बजारलाई प्राथमिकतामा राख्नु राम्रो हो । तर बुझ्नु पर्ने कुरा के हो भने मानिसको आफ्नो गोजीको पैसा खर्च हुने अवस्थामा सायदै भावनामा बगेर निर्णय लिन्छन, त्यस बेला उनीहरु आफ्नो स्वबिबेकको प्रयोग गर्दछन, चाहे त्यो पढे लेखेको मानिस हुन्, अथवा अनपढ नै किन नहोस् ।
किन विराटनगर तथा आसपासका मानिसहरु सामान खरिद गर्न जोगबनी तर्फ जान्छन होला त ? जवाफ स्पष्ट छ, किनकि विराटनगरको बजार भन्दा जोगबनीमा सामानहरु सस्तो पाइन्छ । किन जोगबनीको बजारमा सामान सस्तो पाइन्छ ? किनकि त्यहाँ बस्तु तथा सामान उत्पादन हुन्छ र त्यहाँको सामानमा नेपालमा लाग्ने भंसार दस्तुर लागेको हुदैन जसकारण सस्तो पर्दछ । जबकि यहाँका व्यापारीले त्यहीँ सामान नेपाल भित्र्याउदा थप भन्सार बुझाउनु पर्ने हुन्छ, जसले बस्तु तथा सामानको मूल्यलाई बढाई दिन्छ र पारि सस्तोमा पाउने त्यहीँ सामान उपभोक्तालाई नेपालमा महँगो पर्न जान्छ ।
नेपोलियोन बोनापार्ट भन्दछन, मानिसहरुलाई उत्प्रेरणा या डरले कुनै पनि काम गर्नको निम्ति निर्देशित गर्दछ । अधिकांस मानिसलाई विराटनगरको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा भन्दा जोगबनीको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा छ, किनकि त्यहाँ समान खरिद गर्दा केहि रकम सस्तो पर्न गई बचत हुन पुग्दछ । न्यून आय भएका मानिसहरुलाई त्यो बचत रकमले ठुलो महत्व राख्दछ ।
राज्यसंग बल र हिँसा प्रयोग गर्न पाउने एकाधिकार हुन्छ । सो अधिकारको प्रयोग गरि राज्यले आफ्ना नागरिकहरुलाई जोगबनी बजारबाट भित्र्याउने समानमा कर लादेर होस् वा बल प्रयोग गरेर भए पनि बोर्डर पारिबाट सामान ल्याउने प्रवृत्तिलाई निरुत्साहित गर्न सक्दछ । पारिको बजारबाट खरिद गरेको सामानलाई अतिरिक्त कर लाग्ने हो भने यता र उताको सामानको मूल्य उस्तै उस्तै पर्न जान्छ, जसकारण मानिसहरुलाई जोगबनी सामान खरिद गर्न जाने कुनै उत्प्रेरणा रहदैन l यस अवस्थामा मानिसहरु विराटनगरको बजारमा चाहेर वा नचाहेर सामान खारिद गर्न बाध्य हुन्छन । जबकि स्वतन्त्र बजारमा व्यापारिक लेनदेन बाध्यात्मक नभएर नितान्त स्वेच्छिक हुन्छ,जुन आम मानिसहरुको हितमा छ ।
राज्यले आफ्नो सिमा परिधिभित्र आफ्नो नीति, नियम कानुन लागु गर्ने अधिकार राख्दछ । तर राज्यको सबै नियम कानुनले सबैको हित गर्दछ भन्ने हुदैन l विराटनगरको भन्सार कडाइ गर्न नीतिले विराटनगरको व्यापार र व्यापारीलाई केहि राहत मिले पनि आम उपभोक्ताहरुको भने सायदै हित हुने देखिन्छ । मेरो बुझाइमा असल सार्वजानिक नीति त्यहि हो, जसले धेरै भन्दा धेरै मानिसहरुको हित गर्दछ, न कि न कि केहि सिमित मानिसहरुको ।
कुनैपनि नीतिगत निर्णयका द्रिस्य र अदृश्य पक्ष रहेका हुन्छन । महानगरको भन्सार कडाइ गर्ने निर्णयको देखिने पक्ष भनेको यसले विराटनगरको अर्थतन्त्रलाई चलायमान बनाइ यहाँको व्यापार र व्यापारीको हित गर्दछ भन्ने हो । तर यस निर्णयले विराटनगर लगायत आसपासका मानिसहरुलाई सस्तोमा सामान खरिद गर्नबाट बन्चित गराई बढी रकम तिर्न बाध्य बनाउनेछ । साथै पारीको तुलनामा नेपालमा वस्तु तथा सामानको मूल्य महँगो पर्ने हुँदा अबैध (कर छली गरेको) सामान नेपाल भित्राउने उत्प्रेरणालाई झन् बढाई दिन्छ ।
मानिसहरु त्यहीँ कानुन मान्दछन, जुन कानुनमा नैतिक आधार हुन्छ, जुन कानुनमा नैतिक आधार हुदैन, मानिहरु त्यो कानुनलाई कुनैपनि हालतमा मान्दैनन । अन्तत त्यो कानुन जबरजस्ती लागु गर्नु पर्ने हुन्छ, जुन कानुनलाई तोड्न मानिसहरु पछि हट्दैनन् । बोर्डर पारि सामान सस्तो पाइने भएकोले जोगबनीबाट २ किलो दाल, चिनी, मसला र तेल ल्याएर खपत गर्ने कुरालाइ कसैले पनि ठुलो अपराध गरेको ठान्दैन र सस्तोमा आफ्नो आवश्यकताका सामान खरिद गर्नु अपराध पनि हैन । यदि नेपाल तर्फ नै सुपथ मुल्यमा ति सामानहरु पाउने भएको भए सायदै किनमेल गर्न हामी मध्ये कोही पारि जाने थिए ।
बोर्डर खुल्ला भएपछि मानिसहरु सहज रुपले आउजाउ गर्न सक्छन, जसकारण मानिसहरु पारि गएर सस्तो सामान किनेर ल्याउदछन, यसले यताको व्यापारीहरुलाई अवश्य पनि असर पर्दछ । यो स्थितिलाई रोक्न बोर्डरलाई पूर्ण रुपले बन्द गरि मानिसहरुको आवत-जावतमा विशेष निगरानी राख्ने व्यवस्था हुनुपर्दछ, जुनकुरा त्यति सजिलो देखिदैन ।
दोस्रो तरिका भनेको नेपाली नागरिकहरुले बोर्डर पारिबाट खरिद गरि ल्याएको सामानलाई धेरै भन्दा धेरै कर लगाउने, जसले उनीहरुमा पारिबाट समान खरिद गर्न कुनै उत्प्रेरणा रहने छैन(जुन अहिले लागु गर्न लागिएको निर्णय हो) । यसले नेपालको व्यापारलाई राहत त मिल्छ तर आम सर्वसाधारणहरु महंगीको मारमा पर्ने छन् l जसले धेरै भन्दा धेरै मानिसहरुको बचतलाई खोसिदिन्छ ।
तेस्रो उपाय भनेको स्वयम् ग्राहकहरु सचेत भई बोर्डर पारिको बजार नगएर विराटनगरको बजारमै सामान खरिद गरि स्थानीय व्यापार प्रबर्धन गर्नको निम्ति सहयोग पुर्याउनु हो, तर यसो गर्न सायदै ग्राहकहरु उत्प्रेरित होलान होलान् !
चौथो उपाय भनेको बोर्डर पारिबाट नेपाल भित्रिने वस्तु तथा समानमा न्युनतम भन्सार शुल्क लगाउने नीति लिने, जसले वस्तु तथा समानको मूल्य लागत कम पर्न गई झन्डै पारि कै मूल्यमा नेपालका ग्राहक तथा व्यापारीले खरिद-बिक्रि गर्ने अवसर प्राप्त गर्ने छन् । यो सबैभन्दा व्यवहारिक नीति देखिन्छ ।
हामी नेपाली अरुमाथि धेरै परनिर्भर बनेको अवस्था छ । हाम्रा नीति निर्माण तह र तप्काका शाशक र राज्य सेवकहरुले नेपालमा नै उद्यम र व्यापार फस्टाउने सहज नीति अंगाली उत्पादन र रोजगारीलाई बढावा दिन सकेको खण्डमा नेपाली नागरिक तथा बजारको हित हुने थियो । अहिलेको विश्व आत्मनिर्भर भन्दा पनि अन्तर निर्भरतामा आधारित छ । बाहिरि मुलुकहरुले हामीलाई सस्तोमा सामान उपलब्ध गराउनु भनेको हाम्रो अहित हुनु हैन । यदि त्यहीँ वस्तु तथा सामान नेपालले उत्पादन गर्दा बढी मूल्य पर्न जान्छ भने अरुबाट सस्तो वस्तु तथा सामान खरिद गरि आफ्नो सबल क्षेत्रमा उद्यम र व्यापारको विकास गर्न पहल गरि बाहिरि देशलाई आफ्नो वस्तु तथा सेवामाथि निर्भर बनाउन सकेमा नेपाल र नेपालीको हित हुने देखिन्छ ।