केरुङ नाकाबाट चीनतर्फको भन्सारमा जानको लागि एकदिने पासको व्यवस्था मिलाउन व्यवसायीहरुले गृहमन्त्रीसँग माग गरेका छन् बिहीवार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँग गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसहित नक्कली वस्तु बेचबिखन,कालोबजारी नियन्त्रण र गुणस्तर अनुगमनका विषयक छलफल कार्यक्रम व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले सरकारले केरुङ नाका हुँदै आउने ७ सय कन्टेनर थन्किएर बसेका जुत्ताचप्पल भन्सारमा पास गर्न सहजिकरण गर्न माग गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले चीन तर्फको केरुङ नाकाबाट चीनतर्फ जान नेपाली व्यवसायीहरुलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरिएको बताए । उनले चीनबाट केरुङ नाका हुँदै आउने जुत्ताचप्पल भन्सार नाकामा रोकिएर बसेकाले सरकारले सहज रुपमा नेपाल ल्याउने वातावरण बनाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुरोध गरिएको बताए । उनले चीनबाट आउने जुत्ताचप्पलको ब्राण्ड र गुणस्तर समस्या भएको भन्दै ७ सय कन्टेनर नाकामा नै थन्किएर बसेको भन्दै सरकारले भन्सार पास गर्न पहल गर्न सहजिकरणका विषयमा पनि छलफल भएको बताए । कटुवालले बजारमा नक्कली र सक्कली वस्तुहरुको बिक्रीवितरण नियन्त्रण गर्न पनि माग गरिएको बताए ।
उनले भने ,‘उपप्रधान तथा गृहमन्त्री,गृह सचिव,नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहित नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरुसँग छलफल थियो । छलफलमा व्यवसायीहरुले चीन तर्फको केरुङ नाकाबाट चीनतर्फ जान नेपाली व्यवसायीहरुलाई एक दिने पासको व्यवस्था मिलाउन माग गरेका छौं । अहिले लेबुल र बिग्रेको जुत्ताहरुका ७ सय कन्टेनरहरु केरुङ नाकामा थन्किएको छ । कसरी छुट्याउने विषयमा छलफल भएको छ । बजारमा नक्कली र सक्कली वस्तुहरुको विक्रिवितरण नियन्त्रणका विषयहरु पनि छलफलमा भएका छन् । बजारमा ब्राण्ड लेवल कसरी छुट्याउने विषयमा गहन छलफल भएको छ । पछिल्लो समय नेपाल भित्र धेरै वस्तुहरु चोरी पैठारी रुपमा भित्रिएकाले चोरी पैठारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरिएको छ । भन्सार नाकाहरुबाट हुने चोरी पैठारीको अन्त्य गर्नुपर्छ । त्यो विषयमा गृहमन्त्री ज्युले व्यवसायीहरु,उपभोक्ता अधिकार कर्मीहरु र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नु सकारात्मक रहेको छ ।’
त्यस्तै,उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले वस्तु र सेवा क्षेत्रमा दिनप्रतिदिन दिन दुई गुणा रात चौ गुणाले उपभोक्ताहरु ठगि रहेको अवस्था रहेको बताए । उनले उपभोक्ताहरुको लागि बनेका कानूनहरु कार्यान्वयनमा समस्या रहेको बताउनु भयो । उहाँले सरकारका जिम्मेवार निकायहरुले आफूलाई अनकुलता पर्दा कानून कार्यान्वय गर्ने तर अफ्ठ्यारो पर्दा कानून कार्यान्वयन नगर्दा बजारमा ब्राण्ड लेवलको समस्या बढेको बताए ।
उनले बजारमा नक्कली ब्राण्ड बनाएर बजारमा सामान बेचबिखन गर्नहरुलाई अनुगमन गरी कारबाही गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारी सबै निकायहरु समन्वय गरी अर्काको ब्राण्ड चोरी गरी उपभोक्तासँग चर्को मूल्य लिने कार्यलाई तत्काल रोक्नुपर्ने बताए ।