इटहरी : मालिकको ठगि धन्दामा फसेका इटहरीका लालबहादुर बिकलाई ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले निर्दोष ठहर गरेको छ । सुनसरी जिल्ला अदालतले मतियारको रूपमा दोषी ठहर्याएको आदेशलाई उल्ट्याउदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश ‘उल्टि’ गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक गजमेरको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले ३ करोड १४ लाख भन्दा बढी जरिवाना र १८ महिना जेल सजाय तोकेको थियो ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै लाल बहादुरले उच्च अदालतमा पुनरावेदन गराएका थिए। उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेकाे मुद्दामा मंगलबार फैसला भएको हो।
उच्चको आदेश संगै विश्वकर्मा बुधबार कारागार मुक्त हुनेछन् । क्षेत्रीय कारागार झुम्कामा कैदीबन्दीको रुपमा रहेका विश्वकर्मालाई प्रक्रिया पूरा गरि बुधबार छोड्ने कारागार कार्यलयले जनाएको छ ।
शुरुवाती चरणदेखि नै यस मुद्धालाई उठान गरेका विकल्प खबरका पत्रकार सविन घिमिरे अहिले उच्च अदालत विराटनगरमा लाल बहादुरलाई छुटाउनको लागि पत्र कुरिरहेका छन् ।