हुन सेन ३८ वर्षदेखि निरन्तर शासनमा
प्रधानमन्त्री सम्देच टेको हुन सेनको नेतृत्वमा रहेको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले भर्खरै सम्पन्न भएको भएको आम निर्वाचनमा अत्याधिक बहुमतले विजयी भएको छ ।
निर्वाचनको यो नतिजासँगै प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्ता आगामी ५ वर्षको लागि निरन्तर हुनेछ । निर्वाचन भएको १२५ संसदीय सिटमध्ये प्रधानमन्त्रीको पार्टी सीपीपीले १२० सिटमा जीत हाँसिल गरेको छ भने बाँकी ५ सिट फनसिनपेक पार्टीले जितेको राष्ट्रिय निर्वाचन समिति (एनईसी) बताएको छ ।
प्रधानमन्त्री सम्देच टेको हुन सेन सन् १९८५ देखि निरन्तर सत्तामा छन् । सातौं आमनिर्वाचनमा १८ राजनीतिक दलले प्रतिष्पर्धा गरेका थिए । सत्तारुढ पार्टी सिपिपिले निर्वाचनमा खसेको कुलमतको ८२.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । ३८ वर्षभन्दा बढी समयसम्म कम्बोडियाको प्रधानमन्त्रीको रूपमा रहनुभएका सेन ७० वर्ष पुगीसकेका छन् । प्रधानमन्त्री सेनले यही अगस्ट २२ मा प्रधानमन्त्रीको शपथग्रहण गर्नेछन । अर्को वर्ष फेब्रुअरी २५ मा हुने सिनेटको निर्वाचनपछि सिनेटको अध्यक्षको पद पनि लिनेछन ।
कम्बोडियामा भएको निर्वाचनलाई विश्वले मिश्रित प्रतिक्रिया दिएको छ । शक्ति राष्ट्र चीनले निर्वाचनलाई स्वागत गरेको छ भने अमेरिकाले न त स्वतन्त्र न निष्पक्ष भनेर टिप्पणी गरेका छ । कतिपय पश्चिमा राष्ट्रहरुले अधिनायकवादी शासन बिस्तार भनेर टिप्पणी गरेका छन् ।
आफ्नो ३८ औं वर्षको सत्तामा पुगेका हुन सेनले जिम्बाबेका स्वर्गीय रोबर्ट मुगाबे र लिबियाका स्वर्गीय मुअम्मर गद्दाफी जस्ता लामो समय सत्ता र शक्तिमा बसेका व्यक्तिहरूलाई पछाडी परेका छन् । यससँगै उनी विश्वको लामो समयदेखि जीवित राजनीतिक नेतृत्व गरिरहेका नेताहरूको सूचीको शीर्षमा परेका छन् ।
प्रधानमन्त्रीको हुनसेनको कार्यकालमा राजनीतिक दमन, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध, असहमतिको दमन, मानवअधिकार हननका आरोप जस्ता विषयलाई लिएर विश्वव्यापी मानवअधिकार संगठनहरूले आलोचना गर्दै आएका छन् ।