विराटनगरको आर्थिक विकासको निम्ति वहस आवश्यक रहेको ठानी विकल्प एन अल्टरनेटिभले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । बुधबार श्रीकृष्ण होटलमा आयोजना गरिएको कार्यक्रममा विराटनगर महानगरपलिकाका मेयर नागेश कोइराला सहित विभिन्न राजनैतिक पार्टीका , उद्योग संगठन मोरंग , विराट व्यापार संघ , होटल एशोसिएसन , प्याब्सन , घरेलु तथा साना उद्योग जस्ता संघसंस्थाहरुको प्रतिनिधि र उद्यमी , व्यवसायी , प्राध्यापक , अर्थविद जस्ता व्यक्तित्वहरुको उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुले विराटनगरलाई आर्थिक हिसाबले कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अन्त्रर्किर्या भएको थियो ।
कार्यक्रममा विकल्प एन अल्टरनेटिभका संस्थापक अध्यक्ष वसन्त अधिकारीले विराटनगर नेपालको दोस्रो ठुलो सहर हो भन्ने कुरा हामीले सानै देखि सुन्दै आएको तथा आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा विराटनगरको निकै ठुलो योगदान रहेको स्मरण गराउंदै आज त्यो सांख गुम्दै गएको अवस्थालाई प्रष्ट्याएका थिए । आज सम्म जतिपनि देशहरुले आर्थिक विकास गरेका छन्, ति देशहरुले उद्यम र ब्यापार फस्टाउने नीति अंगालेर मात्र सम्भव तुल्याएका बताउंदै विराटनगर पनि यसको अपवाद हुन नसक्ने अधिकारीको जिकिर थियो । के कस्ता नीति नियमहरुले विराटनगरको व्यावसायिक वातावरणलाई फस्टाउन दिएको छैन, के कस्ता नीति नियमहरु परिमार्जन गर्न जरुरि छ भन्ने कुरामा बहस तथा खोज अनुसन्धान आवस्यक रहेको अधिकारीले बताएका थिए। यी नै कुराहरुलाई मध्यनजर गर्दै बिराटनगरको आर्थिक विकासको निम्ति बहस आवस्यक ठानेर यस कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए । यस पटक सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटिएको भए पनि अर्को पटकको अन्तरक्रिया विभिन्न संघसंस्थासंग छुट्टाछुट्टै गरिने पनि अधिकारीले बताए।
समृद्धि फाउण्डेसनका अध्यक्ष दिपेन्द्र चौलागाईंले विराटनगर महानगरपालिकाको समग्र विकासको लागि आवश्यक सुधारात्मक पहलहरुको बारेमा चर्चा गरेका थिए । विराटनगर कसरी लिडर स्थानिय सरकार बन्न सक्छ भनेर उनले चर्चा गरेका थिए । यहाँको नागरिकलाई उच्चस्तरीय सार्वजनिक सेवाहरु प्रदान गर्नको लागि विराटनगरले आवश्यक पहल चाले , वसोबासको लागि उत्कृष्ट शहर विराटनगरलाई बनाउन सकिने उनको जिकिर थियो । चौलागाईंले विराटनगरको आर्थिक विकासका लागि विभिन्न नीतिगत तथा वस्तुगत आधारहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेयर नागेश कोइरालाले विराटनगरको भविष्य कस्तो बनाउने भनेर योजना तयार गर्नको लागि विभिन्न क्षेत्रका विज्ञ व्याक्तिहरुसंगा सहकार्य गर्न चाहेको बताए .। उनले विराटनगरलाई विभिन्न विषयको हबकै रुपमा अगाडि लान सक्ने धारणा राखेका थिए । विराटनगरलाई उत्कृष्ट महानगर बनाउनको लागि विभिन्न पक्षहरुबाट आएको उचित सल्लाह तथा सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने मेयर कोइरालाको भनाई थियो । कोइरालाले विरटनगरमा विद्यमान रहेको विभिन्न समस्याहरुको पनि चर्चा गरेका थिए । ती समस्याहरुको समाधानको लागि सबैको सहकार्य आवश्यक पर्ने मेयर कोइरालाले बताएका थिए। उनले विराटनगरमा क्रिकेट स्टेडियम निर्माण हुने देखि लिएर रात्रीकालिन बजारको सम्भावना पनि मेयरले चर्चा गरेका थिए।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत , नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भिम घिमिरे , विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की , प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइराला , मोरंग व्यापार संघका अध्यक्ष नविन रिजाल लगायतले विराटनगरको विकासको लागि आवश्यक कदमहरुको बारेमा वृहत चर्चा गरेका थिए ।
यस पटकको कार्यक्रममा सबै क्षेत्रका प्रतिनिधिहरुलाई समेटेर छलफल अगाडि बढाइएकोमा अर्को पटकदेखि यस विषयको अन्तरक्रिया कार्यक्रममा संघसंस्थाहरुसंग छुट्टाछुट्टै छलफल गरिने विकल्प एन अल्टर्नेटिभका अध्यक्ष वसन्त अधिकारीले जानकारी दिएका छन्।