सिराहाको मिर्चैयामा मृत फेला परेका विराटनगर १० का सिद्धान्त भट्टराईको घटनाको अनुसन्धान प्रहरीले उदासिनता देखाएको पीडित परिवारले गुनासो गरेका छन् । वुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सिराहाको मिर्चैया नगरपालिका ५ स्थित शम्भु होटेलको पछाडि साउन २३ गते मृत फेला परेको घटना अनुसन्धानमा प्रहरीले चासो नदेखाएको परिवारले गुनासो गरेका हुन् ।
मृतकका बुबा सुरेश भट्टराईले घटनाको प्रकृति हेर्दा छोरा सिद्धान्तको दुर्घटना नभएर हत्या भएको बताएका छन् । घटना भएको यतिका दिनसम्म पनि प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बारे जानकारी नदिएको भन्दै बुबा सुरेशले गुनासो गरेका छन् । छोराको अपरहण गर्न खोजिएको र सो योजना पुरा हुन नसकेपछि हत्या भएको उनको भनाई छ । उनले मोरङमा बसोबास भएको व्यक्ति सिराहाको होटलमा मृत फेला पर्दा प्रहरी पीडित परिवारमैत्री नभएको गुनासो गरेका हुन् । घटनास्थल र शवको प्रकृति हेरेपछि सुरेश र आफन्त तथा स्थानीयले सिद्धान्तको मृत्यु नभई हत्या भएको आशंका गरेका छन् । सिद्धान्तको शव भेटिएको शम्भु होटलमा प्रहरीकै मिलेमत्तोमा लागूऔषधको कारोवार, वेश्यावृत्ति हुने गरेको र यसअघि पनि मृत्युका घटना भएको स्थानीयले बताएपछि भट्टराई परिवार सिद्धान्तको हत्या नै भएको निष्कर्षमा पुगेको छ । प्रहरीले छापा मार्दा लागू औषध फेला परेको बताइएको छ ।
गत मंगलबार आफैले संचालन गरिरहेको पाथीभरा कापी उद्योगको व्यवसायिक काम लिएर मिर्चैया पुगेका भट्टराई सहदेव होटलमा बसेका थिए । साँझ खाना खाएर बाहिर निस्केका उनी आफू बस्ने होटल नजिकैको अर्को होटलमा मृत फेला परेका हुन् । भट्टराई होटलको पछाडिपट्टि जिन्स पाइण्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका थिए। उनले लगाएका जुत्ता शव भन्दा केहि पर रहेको थियो । घाटीको सिक्री र पाइन्टको गोजीमा मोबाइल तथा पर्स भएपनि हातको घडि र चस्मा अझैसम्म भेटिएको खबर नआएको पारिवारिक स्रोतले बताएको छ।
सधै आफ्नै निजि साधनमा निस्किने सिद्धान्त सो दिन को १ च ९१७२ नम्बरको पिअकप जीपमा मार्केटिंगका लागि निस्किएका थिए । गाडीका चालक सागर रायासंगा मिचैयाको सहदेव होटेलमा खाजा र खाना खाएपछि नजिकैको शम्भु होटेलमा निस्किएका थिए । सोहि होटलको पछाडि सिद्धान्तको मृत्यु भएको खबर सहदेव होटलमा सुतेका चालक रायलाई रति १ बजे जानकारी गराइएको थियो। त्यसपछि प्रहरीलाई पनि घटनाको जानकारी गराइएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले पीडित परिवारले अहिले नै अनुसन्धान नभएको भन्न नमिल्ने बताए । उनले पीडामा परेकाहरुलाई तत्काल न्याय चाहिने भएपनि अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेको बताए । ‘होटलका सञ्चालक बाबु–छोरालाई पक्राउ गरिएको भएपनि बाबु शम्भुलाई छोडिएको थियो’ उनले भने–शम्भु साह भागेका छन्, छोरा हाम्रो नियन्त्रणमै छन्, अनुसन्धानको काम विभिन्न कोणबाट भईरहेको छ । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरेर निष्कर्षमा पु¥याउने दावी छ ।
सबैका प्यारा थिए सिद्धान्त
सिद्धान्त भट्टराईको रहस्यमय मृत्यु भएपछी यतिबेला उनका साथीहरु पनि शोकाकुल भएका छन् । उनीहरु भेटघाट गर्ने चिया पसल अहिले शुन्य भएको छ , एक प्रकारले खालि भएको छ । सिद्धान्तका साथीहरुका अनुसार सिद्धान्त अत्ति नै मिलनसार , मेहनती र इमान्दारी स्वभावका थिए । अहिलेसम्म कोहिसंग मनमुटाव नरहेको , सबैसंग हासेर मिलेर बस्ने सिद्धान्तको अल्पायुमै भएको यस घटानले गर्दा साथीहरु मरमाहित मात्र भएका छैनन् , उनका साथीहरु असम्भव भएपनि पनि उनी फर्किने आशामा बसेका छन् । सिद्धान्तका मिल्ने साथि लकेश भन्छन , ” अहिले पनि चिया पिउन जान सिद्धान्तलाई कल गर्न खोज्छु । सधै चिया पिउन निस्किदा कल गरेर निस्किने बानि थियो । अहिले पनि उनी यतै छन् जस्तो लाग्छ । हामी साथीहरुलाई सम्हाल्ने गाह्रो भएको छ । “