तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले शिक्षकलाई काजमा तानेर शाखा प्रमुखको जिम्मेवारी दिएको खबर यतिबेला सामाजिक संजालमा चर्चित छ । वसन्त उच्च मावि, वसन्तपुरका निम्नमाध्यमिक तहका राहत कोटाका अंग्रेजी शिक्षक रामकृष्ण निरौलालाई ६ वर्षदेखि काजमा नगरपालिकामा ल्याएर सामाजिक शाखाको जिम्मेवारी दिइएको हो । निरौलालाई मेयर अर्जुन माबोहाङले काजमा नगरपालिकामा सरुवा गरेर सामाजिक विकास शाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।
२०७४ र २०७९ दुवै निर्वाचनमा जितेका मोबोहाङले पहिलोपटक चुनाव जित्नेबित्तिकै निरौलालाई विद्यालयबाट नगरपालिकामा काज सरुवा गरेका थिए ।
कांग्रेस निकट निरौलालाई नगरपालिकामा ल्याए पनि उनको ठाउँमा अर्काे शिक्षक राखिएको छैन । शिक्षक नहुँदा पठन–पाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ । अंग्रेजी पढाउने शिक्षक ६ वर्षदेखि अन्यत्र काजमा भएको विद्यालय प्रशासनका एक कर्मचारीले संचार माध्यमलाई बताएका छन् । पठन–पाठनमा समस्या भएको कुरा मेयरलाई पनि राम्रो जानकारी भएपनि उनी काज फिर्ता गर्न नचाहेको कर्मचारीको गुनासो रहेको छ।
नेपाली कांग्रेसका महासमिति सदस्य रहेका मेयर माबोहाङले निरौलालाई सामाजिक विकास शाखाको जिम्मेवारी दिइए पनि उनले मेयरको सचिवालयको काम गर्ने गरेका छन् ।
लोकान्तरमा उल्लेख भए अनुसार निरौलाले वसन्त उच्च माध्यमिक विद्यालय र नगरपालिकाबाट तलब लिने गरेका छन् ।
वसन्त उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र काफ्लेका अनुसार निरौलाको तलब विद्यालयको खातामा नगरपालिकाले पठाइदिन्छ अनि विद्यालयले उनको खातामा पठाउछ। नगरपालिकाले पनि ‘इन्सेन्टिभ’ भनेर थप पाँच हजार दिने गरेको पनि पाइएको छ ।
मेयर माबोहाङले भने विद्यालयमा विद्यार्थीको संख्या कम भएपछि निरौलालाई काज सरुवा गरेर ल्याएको दाबी गरेका छन् ।
‘पहिलो कार्यकालमा हामी निर्वाचित भएर आएलगत्तै धेरै विद्यालयले कक्षा थपको अनुमति मागे,’ उनले भने, ‘नयाँ भएकाले अनुमति दिइहाल्यौं । नयाँ कक्षा थपपछि राम्रो चलिरहेका विद्यालयहरूमा विद्यार्थीको संख्या कम भयो । हामीलाई पनि कर्मचारी अभाव भएकाले काजमा ल्याएका हौं ।’
अब निरौलालाई विद्यालयमै पठाउने मेयर माबोहाङले बताए ।
‘अनुमति थप गरेका विद्यालयहरूमा शिक्षकको तलबदेखि संरचना निर्माणको कामसमेत गर्नु परेकाले अहिले धान्न नसक्ने अवस्थामा पुगेका छौं । अब थप गरिएका कक्षाको अनुमति घटाएर निरौलालाई पुरानै काममा खटाउँछौं,’ उनले भने ।
निरौलालाई मेयर माबोहाङले शिक्षा शाखा हेर्नेगरी ल्याएको भए पनि त्यहाँ दरबन्दी अनुसारका कर्मचारी आएपछि सामाजिक विकास शाखाको जिम्मेवारी दिएका थिए । अहिले उनी शिक्षा शाखामै बसेर कामकाज गर्ने गरेका छन् । सामाजिक तथा सहकारी लगायतका शाखाको काम समेत निरौलाले नै गर्ने गरेको नगरपालिकाले जनाएको छ । यो पालिका डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
कर्मचारीहरूको सोच स्थानीय तहलाई लथालिङ्ग पार्ने खालको भएकाले पनि कर्मचारी नटिक्ने गरेको मेयर माबोहाङको आरोप छ ।
पहिलो कार्यकालमा पाँचजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । पहिलो कार्यकालको अन्तिमदेखि सबिना श्रेष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेकी थिइन् ।
यस्तै, गत असारमा राजीव खनाल प्रमुख प्रशासकीय अधिकृत बनेर आएका थिए । एक महिनामै उनको सरुवा भएको थियो । अहिले श्रेष्ठ नै निमित्त प्रमुख प्रशासकीय अधिकृत छिन् ।
( स्रोत : लोकान्तर डट कम )