बुटवल। बुटवल उपमहानगरपालिका नागरिक टोल निवासी यम प्रसाद नेपालको न्यायको लागि भन्दै बुटवलमा शान्तिपुर्ण प्रदर्शन भएको छ। वाई जी गाइजले शनिबार बुटवलको योगिकुटी देखि मोटरसाइकल र्याली सुरुवात गरेर बुटवलको ट्राफिक चोक हुँदै उच्च अदालत तुल्सीपुर अगाडि न्याय हराएको भन्दै दिउँसै मैनबत्ती बालेर प्रदर्शन गरेका थिए । कुटपिट गरेको सम्पुर्ण प्रमाण हुँदा हुदै पनि आरोपीलाई छाडिएको भन्दै शान्तिपुर्ण र्याली गरिएको कार्यक्रमका संयोजक लक्ष्मण मल्ल बताए ।
घटना के हो ?
२०७९ पुष २२ गते २२ गते साँझ ५ बजे बुटवल उपमहानगरपालिका-१३ हाल नागरिकटोल (साबिक ताराटोल) का ५८ वर्षिय यमप्रसाद नेपालको मृत्यु भएको थियो । मृतक यमप्रसादका परिवारले गाउँलेहरुको अगाडि गायत्री पराजुलीको उक्सावटमा प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली, अनिल पराजुली, खेम पाण्डेले कु’टपिट गर्दा ज्यान गएको आरोप लगाएका थिए । २०७९ पुष २३ गते स्व यामप्रसादका जेठा छोरा दिवश नेपालले कर्तव्य ज्यान मुद्धामा प्रदीप पाण्डे, अमृत पराजुली, अनिल पराजुली, खेम पाण्डे विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दरखास्त पेश गरेका थिए।
उक्त जाहेरी दरखास्त अनुसार पुष २२ गते बेलुका ५ बजे अभियुक्तहरु मृतक नेपालको घरमा आई छलफलको लागि बाहिर बोलाएका थिए । छलफल चलिरहेको बेला अभियुक्त मध्येका प्रदिप पाण्डेले मृतक यम प्रसाद नेपालका जेठा छोरा दिवश नेपाललाई मुक्का हानेको र दिवशले प्रतिकार गर्दा अन्य अभियुक्तहरुले मृतक यम प्रसाद नेपाललाई लछारपछार गरी घिसार्दै बाहिर लागि कुटपिट गरिएको र उपचार गर्न लैजादा मृत्यु भएको भनेर जाहेरी दरखास्तमा उल्लेख छ ।
उता अभियुक्तहरुले भने आफुहरुले हत्या गरेको कुरालाई इन्कार गर्दै आएका छन् । उनीहरुले दिएको बयान अनुसार मृतक यम प्रसाद नेपालका कान्छा छोरा दिपेश नेपालले स्थानिय दुर्गा अधिकारीलाई कलेज गएको अवस्थामा थर्काउने , अपशब्द बोल्ने , एक रातको कति हो भनेर सोध्ने , सबैको अगाडि गालि बेइजति गर्ने जस्ता कुराले मानसिक तनाव दिएको कारण दिपेश नेपाललाई पटकपटक छलफलको लागि बोलाउँदा नआएपछि घरमै गएर छलफल गर्न जाने भनिएको कारण सो दिन निजको घरमा छलफलको लागि गएको बताएका छन् । पिडीत युवती र दिपेश नेपाललाई संगै राखेर छलफल चलिरहेको बेला दिपेश नेपालले समाजको अगाडि समाजमा नपच्ने अपशब्द बोलेपछि हत्या आरोपित प्रदिप पाण्डेले ” किन अपशब्द बोलेको ? ” भन्ने प्रश्न गर्दा दिपेश नेपालले पाण्डेलाई हाट छाडेको अभियुक्त भनिएकाहरुले बयानमा भनेका छन् । यसपछि मृतक यम प्रसाद नेपाल भित्रबाट बाहिर आई आत्तिदै चिच्याउदै भेला जम्मा भएको बीचमा गई होहल्लाबाट आत्तिएर अचानक भुइमा ढलेको वयान आरोपितहरुले दिएका छन् ।
शवको परिक्षण प्रतिवेदन अनुसार मृतक यम प्रसाद नेपालको मृत्यु कोरोनरि अर्टरि डिजिस ( हृदय घात ) बाट भएको उल्लेख छ । परिक्षण प्रतिवेदनका अनुसार टाउको , अनुहार तथा पाइतालामा वोधो चोटहरु देखिएका छन् तर सो चोटहरु मृत्यु गराउन सक्ने गम्भीरताको नभएको उल्लेख छ। मुटुको जाँच गर्दा दुइवटा मुख्य रगत नलिहरुमा गम्भीर किसिमको अवरोध देखिएको प्रतिवेदनमा उल्लेख छ ।
हत्याको प्रकरणमा पक्राउ परेका ४ जना मध्य ३ जनालाई २०७९ चैत १६ उच्च अदालत तुल्सीपुरले धरौटीमा छोड्न आदेश दिएको छ । त्यसअघिनै १ जना मुख्य आरोपित भनिनेलाई २०७९ माघ १८ गते नै रुपन्देही जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो ।
मृतक यमप्रसादका परिवारले हत्या भएको भनेर भनिरहेका छन्।