जंगलमा एउटा स्याल भोकले रन्थनिएको थियो। उसले बाटो छेउमा पाकेको अंगुर लटरम्म फलेको देख्यो। अंगुर अलि माथि फलेकोले गर्दा उसले टिप्न सक्ने अवस्था थिएन। तैपनि स्यालले अंगुर खान उछाल मार्न थाल्यो। धेरै पटक उफ्रिएर प्रयास गर्दा पनि स्यालले अंगुरलाइ भेट्न सकेन। स्याल निरास भएर फर्किनै लागेको थियो, लामो समय देखि यो कुरा हेरिरहेको खरायोले सोध्यो “ काकी, किन नटिपेको अंगुर, यति मिहेनेत गरि सकेपछी खाएर नै गएको भए हुन्थियो नि”। प्रतिउत्तरमा स्यालले भन्यो “मैले उफ्रिएर हेरे, अंगुर पाकेको रहेनछ, त्यसैले नटिपेको”।
समाजमा हामी धेरैको अवस्था यस्तै छ। सफलता र सम्पति सबै जना कमाउन चाहेपनि सो कुरा आफुले आर्जन गर्न नसकेपछि बहानाबाजी र अरुको इर्श्या अनि आलोचना गर्नु बाहेक अरु उपाय बाकि रहन्न। धनि त हामी प्राय सबै हुन चाहन्छौ, तर धनि र सफल मानिसहरु प्रति हाम्रो नजरिया त्यति सकारात्मक हुदैन। जुनकुरा स्वर्ग जान सबैलाई मन भएपनि मर्न कोहि नचाहे जस्तै हो।
आज केहि मानिसहरुको हातमा संसारको आधा भन्दा धेरै सम्पति छ, जसको कारण संसारका धेरै मानिसहरु गरिबीमा बाच्न बाध्य छन। ति हुने मानिसहरुको सम्पति खोसेर नहुने मानिसहरुमा बाड्न जरुरि छ भन्ने विचार राख्ने मानिसहरुको कमि छैन समाजमा। धेरैलाइ लाग्छ, ति सम्पतिवालाहरुको सम्पति खोसेर अरुलाई बाढेको खण्डमा समाज धनि हुनेछ, तर यस्तो सायदै हुने गरेको पाइन्छ।
एक पटक एकजना मानिस एउटा ठुलो धनपति संग भेट गर्न आएका थिए । उनले धनपतिलाइ भने, ” तपाइको कारण आज यो संसारमा यति धेरै गरिब मानिसहरु छन् l” ति धनपतिले कागज र कालम उठाएर हिसाब गरेपछि एक डलर आफ्नो खल्तीबाट झिकेर ति मानिसलाई दिन्छन् l ति मानिस अचम्म मान्दै धनपतिलाई र उनले दिएको पैसालाइ हेर्छन् । धनपतिले भन्छन् “अरु पनि कोहि छन् भने उनीहरुलाई पनि आफ्नो भाग लिन पठाई दिनु” । म संग भएको सम्पति यदि मैले संसारको सबै मानिसहरुमा भाग लगाइदिए भने सबैको भागमा एक-एक डलर पर्न आउछ l तिमीलाई के लाग्छ, मैले संसार भरिका मानिसहरुमा आफ्नो सम्पति बाढे भने यो संसारका मानिसहरु धनि हुनेछन्?
हुनेहरुको सम्पति खोसेर नहुनेहरुलाई बाड्ने प्रयास बिगतको दिनमा नभएको भने होइन । धेरै देशहरुले यसको प्रयोग गरिसकेका छन् तर सफल भने हुन सकेनन् । सम्पति सिर्जना गर्ने कुरा हो, जुनकुरा मानिसले आफ्नो श्रम र बुद्दी विवेकको प्रयोगले आर्जन गर्न सक्दछ । मात्र केहि शताब्दि अघि समाजमा भएको अभाव र गरिबीले यो कुरा व्यक्त गर्दछ कि केहि सिमित मानिसहरुको नविनतम सोच, योगदान र बजारको विकासको कारण समाज आजको अवस्थासम्म आइ पुगेको हो ।
मात्र केहि दशक अघिसम्म, दसैँमा ऋण काडेर छोरा छोरिलाई स्कुलको ड्रेस किनेर बर्षभरी काम चलाउनु पर्ने बाध्यता नेपाली समाजको थियो । साधारण रेडियो र टि.भी अधिकांस मानिसहरुको निम्ति बिलासिताको बिषय रहेको समाज हाम्रै हो । स्वास्थ्य सेवाको अभावमा, ४ सन्तान मध्ये अल्पायुमै ३ जना छोराछोरि साधारण रोगको कारण गुमाउने मेरै हजुरआमा हुनुहुन्थ्यो । म केटाकेटि हुँदा साधारण बिस्कुट, चकलेट, बरफ र भुजिया समेत बिलासिताको बिषय रहेको मेरो मानसपटलमा अझ ताजै छ।
जसले जतिसुकै निरासाको कुरा गरेपनि साचो अर्थमा समाज यति धनि कहिले पनि थिएन जति धनि समाज आज छ । मात्र सताब्दी अघि संसारका अधिकांस मानिसहरु गरिबी र दासत्वमा बाच्ने गर्दथे भने शक्ति र सम्पति केहि मानिसहरुको पहुचमा सिमित रहेको थियो, जो शासन सत्ताको नजिकमा थिए । ३०-३२ बर्ष अघि म विभिन्न देशका टिकट र पुराना सिक्का संकलन गर्ने क्रममा संसारको सबै भन्दा धनि व्यक्ति बेलायतकि रानी एलिजाबेथ र ब्रुनाईका सुल्तान हसनअल बोल्किया हुन् भनेर सुन्ने गर्दथे, आज परिस्थिति बिल्कुलै फरक बनेको छ ।
बिगतका दिनमा एउटा राजाको पहुचमा समेत नभएको वस्तु तथा सेवाहरु आज एउटा साधारण मानिसले समेत उपभोग गर्न पाएको अवस्था छ । साधारण पंखाको हावा समेत खान राजा-महाराजाहरुले दुइजना पंखा हम्कने मान्छे राख्नु पर्थ्यो । हो अझैपनि नेपाल जस्ता थुप्रै यस्ता देश तथा समाज छन्, जहाका मानिसहरु गरिबीमा बाच्न बाध्य छन् । तर आज त्यहि देशका मानिसहरु गरिबीमा बाच्न बाध्य छन्, जुन देशको व्यवस्थाले बजार र मानिसहरुको आर्थिक क्रियाकलापलाई नियन्त्रण गर्ने नीति अंगालेको छ, र सत्ता तथा शक्ति केन्द्रको नजिकमा रहेका सिमित मानिसहरुको मात्र भरण-पोसण हुने आधार सिर्जना गरेको छ।
यदि कानुनि शासनलाइ बढावा दिई मानिसहरुलाई आर्थिक क्रियाकलाप गर्न र बजार अर्थतन्त्रले सहज तरिकाले काम गर्ने मौका दिने हो भने, ति देश र तिनका नागरिकहरु पनि ढिलो-चाडो गरिबीबाट बाहिर निस्किन सक्छन् भन्ने कुरालाइ धेरै देशहरुले अंगालेको आर्थिक विकासले प्रमाणित गरिसकेको अवस्था छ ।
निसन्देह पनि बिल गेट्स, ज्याक मा, स्टिभ जब्स, जेफ बेजोज, एलन मस्क, वारेन वफेट, अम्बानी, आदि जस्ता व्यक्तिहरुले अथाह पैसा कमाएका छन् । तर उनीहरुले पैसा कमाउदा अरुको अहित गरि पैसा कमाएका छन् कि, धेरै भन्दा धेरै मानिसहरुको चाहना र आवश्यकता पुरा गरी उनीहरुको जीवनमा उपयोगिता सिर्जना गरेर सम्पति आर्जन गरेका हुन् भन्ने प्रश्न यहाँ महत्वपूर्ण हुन आउछ l जबकी स्वयं यी व्यक्तिहरु कुनै बेला न्यून आय भएका मानिसहरुको वर्गमा पर्दथे ।
उनीहरु यस कारण सफल भए किनकी उनीहरुले अरुले सोच्न नसकेको कुरा सोचे, अरुले नगरेको काम गरे, अरुभन्दा धेरै कठिनाइको समान गर्ने लगनशीलता देखाए। अझ त्यो भन्दापनि उनीहरुले संसारभरिका मानिसहरुको जीवनलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेले जसलाई बजारमा मानिसहरुले आफ्नो आवश्यकता पुरा गर्न गोजीको पैसाले उनीहरुको सेवा खरिद गरि पुरस्कृत गरिदिए र उनीहरु धनि र सफल हुन पुगे ।
बुझ्नु पर्ने कुरा के हो भने यी मानिसहरुले आफ्नो लागि मात्र सम्पति सृजना नगरेर समाजका अन्य मानिसहरु पनि समृद्ध हुने अवसर सिर्जना गरे । उनीहरुको नविनतम सोच र लगानीले रोजगारी र उत्पादनलाई बढावा दिएको छ, जसले समाजका अन्य मानिसहरुको चाहना र आवश्यकता पुरा गर्न सहयोग गर्नुको साथै संसारभरिका धेरै मानिसहरुको सामाजिक तथा आर्थिक स्तरलाई माथि उठाउन सहयोग पुर्याएको छ।
पैसा बोटमा फल्ने कुनै वस्तु होइन जसलाई सजिलै टिपेर जो कोहि रातारात धनि हुन सकोस् l पैसा दुई तरिकाले कमाउन सकिन्छ l पहिलो तरिका: आफ्नो पेशा-व्यावसाय र उद्यम मार्फत प्रभावकारी सेवा प्रदान गरेर l अर्थात् जोखिम लिएर, बचत र लगानी गरेर, दिमाग खियाएर, मिहेनेत गरेर, सस्तोमा बजारमा अरुले चाहेको जस्तो वस्ती तथा सेवा प्रदान गरे बापत पारिश्रमिक वा नाफा आर्जन गरेर l जुन बैधानिक तरिका हो ।
दोश्रो बलजफ्ती अर्काको सम्पति लुटेर, खोसेर वा नीति, नियम तथा कानुन बनाएर अरुको सम्पति आफ्नो पोल्टामा हाल्ने वातावरण बनाएर। यो अपराध हो । यदि कसैले अरुको सम्पति लुटेर कमाएका छन् भने ति व्यक्तिहरुको सम्पति जफत गरि उनीहरुलाई कारागारमा हालिनु पर्दछ भन्ने कुरामा दुइमत छैन ।
तर यदि उनीहरुले आफ्नो बुद्दी-विवेकको प्रयोग गरि सेवा दिएर सम्पति कमाउदै गर्दा अरुको पनि भलाई हुन पुगेको खण्डमा अरुको टाउको दुखाइको बिषय नहुनु पर्ने हो ।
तर हामी ति व्यक्तिहरुको योगदानको कदर गर्नु भन्दापनि उनीहरु प्रति इर्श्याको भावना व्यक्त गर्दछौ । जबकी यी व्यक्तिहरुले पुर्याएको योगदानको अभावमा हामी अहिलेको संसारको परिकल्पना समेत गर्न सक्दैनौ ।
लुडविग वन मिजेज (Ludwig von Mises) को भनाइ अनुसार पहिला-पहिला राजाका छोरा नै राजा हुन्थे, फलामको काम गर्नेको छोराले पनि फलाम कै काम गर्नुपर्ने बाध्यता थियो । राजाको छोरा नै राजा हुने र लोहारको छोरा लोहार नै हुने निश्चित भएपछि लोहारको छोराले राजाको छोराप्रति इर्श्या गर्ने कारण थिएन किनभने आ-आफ्नो भाग्य र भूमिका पहिला देखि नै निर्धारित थियो । तर बजार अर्थतन्त्रले सबैलाई बराबर प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दछ ।
एउटा गरिबको छोराले पनि विशेष क्षेत्रमा दक्षता हासिल गरी आफूलाई उत्पादनशील बनाउने हो भने उ सफल हुने निश्चित छ। विवेकपूर्ण तरिकाले कसैले यदि आफ्नो उधम र व्यापार सञ्चालन गरी धेरै भन्दा धेरै मानिसहरूलाई सेवा दिन्छ र आम मानिसहरूले उसको सेवालाई मन पराइदिएको खण्डमा साधारण मानिस पनि छोटो समयको अन्तरालमा समाजको धनी र प्रतिष्ठित मानिस बन्ने अवसर बजार अर्थतन्त्रले प्रदान गर्दछ। सँगै हुर्की बढी गरेका समान हैसियतका मानिसहरू मध्ये एउटाले विवेकपूर्ण निर्णय लिएर मेहनत गरी अगाडी बढ्ने र अर्कोले सोही अनुसार कार्य गर्न नसक्दा जहाँको त्यही रहने स्थिति सिर्जना हुन्छ । सफल हुनेहरूप्रति समाजका अन्य व्यक्तिले इर्श्या व्यक्त गर्नु बाहेक अन्य कुनै विकल्प रहँदैन। त्यसैले समाजमा मानिसहरूको सम्पत्ति सिर्जना गर्ने मानिसहरुहरु प्रतिको इर्श्या स्थिति त्यस्तै हो भन्ने धारणा मिजेज राख्दछन् । जुन कुरा धेरै हदसम्म साचो प्रतित हुन्छ ।
त्यसैगरी विश्वमा बजार र सम्पतिवाला मानिसहरु प्रति नकारात्मक छवि बन्नुको पछाडि मार्क्सवादी चिन्तन प्रमुख कारण मध्ये एक हो भनेर भन्दा फरक नपर्ला । जसले पूजी संग्रहको स्रोत श्रम तथा श्रमिकहरुको शोषण नै हो भन्ने तर्क अघि सार्दछ । यस विचारले संसार भरिका मानिसहरुको मन-मस्तिष्कलाइ गहिरो प्रभाव पारेको छ। जसलाई यसरि प्रसारित गरिएको छ कि अधिकांस मानिसहरुलाइ यो कुरा साचो प्रतित हुन्छ। यस कुराले उद्यमी तथा व्यावसायिहरुको छबीलाइ नकारात्मक बनाइ उनीहरुको योगदानलाइ पूर्ण रुपमा नजरअन्दाज गरि दिएको छ ।
यस विचारधाराको प्रभाव नेपालमा पनि राम्रै परेको छ l जसले अधिकांश राजनीतिक पार्टी र तिनका नेता, कार्यकर्तालाइ साम्यवादी चिन्तन तर्फ आकर्षित गरिदिएको छ । उनीहरूले गर्ने दैनिक सामाजिक बहस, पैरवी र टिका-टिप्पणीले पुजी, सम्पति र पुजीपति र बजार अर्थतन्त्र प्रति नकारात्मक छवि स्थापित गर्नुमा ठुलो भूमिका खेलेको छ । यसको अलावा रेडियो, पत्र-पत्रिका, टेलिभिजन, सिनेमा, सार्वजनिक वक्तब्य , किताब, प्राकासन, शैक्षिक अध्ययन-अध्यापन आदि सबैले पुजिवादी बजार अर्थतन्त्रलाइ समाज विकासको तगारोको रूपमा प्रस्तुत गरिदिँदा यसले आम जनमानसमा व्यापक प्रभाव पारेको कुरालाई नकार्न सकिन्न ।
धर्म तथा सामाजिक संस्कारले पनि समाजमा सम्पतिलाई हेर्ने दृष्टिकोणमा प्रभाव पारेको कुरालाई नकार्न सकिन्न । हिन्दु धर्मकै बर्णक्रम अनुसार, उत्पादन गर्ने र सम्पति सिर्जना गर्ने वैश्य बर्णका मानिसहरुलाई ब्राम्हण र क्षेत्रि पछि मात्र बर्गिकरणको श्रेणीमा राखेको कुराबाट समाजले सम्पति आर्जन गर्ने बिषयलाई प्राथमिकता नदिएको कुरालाई प्रस्ट गर्दछ । जसकारण पनि ब्यापार व्यवासय प्रति हेर्ने हाम्रो सामाजिक दृष्टिकोण त्यति सकारात्मक देखिदैन ।
व्यापारको मुख्य उदेश्य आफ्नो बस्तु तथा सेवा मार्फत अरुको आवस्यकता र चाहना पुरा गरि नाफा आर्जन गर्नु हो । तर धेरै समाजले नाफालाइ गलत रुपमा लिएको पाइन्छ । मानिसहरुलाई सानै देखि परोपकारी हुनु पर्दछ, आफ्नो हितको भन्दा पहिला अरुको हितको बारेमा सोच्नु पर्दछ, समाजको हितको निम्ति व्यक्तिगत हितलाई आहुति दिनु पर्दछ भन्ने जस्ता मान्यता घर, स्कुल तथा समाजमा सिकाइन्छ, जसको समाजिक प्रभाव व्यक्तिमा पर्नु स्वाभाविक हो ।
तर यथार्थमा मानिसहरु जे पनि गर्छन् स्व-उत्प्रेरणाले प्रेरित भएर गर्ने गर्दछन् । यदि कुनै काम गर्ने उत्पेरणा नहुने हो भने मानिसले त्यो काम गर्दैन । स्वार्थ र उत्प्रेरणामा फरक छ । स्वार्थले आफ्नो हितलाइ बढावा दिदा अरुको अहित गर्ने सम्भावना राख्दछ भने, उत्प्रेरणाले आफ्नो हितलाई बढावा दिदा अरुको पनि हित पनि सुनिस्चित गर्दछ ।
व्यापार उत्प्रेरणाद्वारा निर्देशित भएर गरिने क्रियाकलाप हो, जसमा क्रेता तथा बिक्रेता दुवै लाभान्वित हुने स्थिति हुन्छ । तर सामाजिक मान्यताहरुको कारण व्यापारिक लेनदेनलाई परस्पर हितको रुपमा नहेरेर एउटाको हित र अर्कोको अहित हुने स्थितिको रुपमा दर्साइञ्छ जसकारण उद्यमी, व्यापार -व्यावसाय प्रति नकारात्मकता हुनु स्वाभाविक देखिन्छ ।
सबै उद्यमी तथा व्यापारी सहि हुन्छन् भन्ने हुदै । बजारमा केहि मानिसहरु हुन्छन् जो आफ्नो हितको निम्ति अरुको अहित गरी सम्पति आर्जन गर्न पछि पर्दैनन् । यस्तै स्वार्थ बोकेका व्यापारि तथा व्यापारिक समूहहरूले आफ्नो स्वार्थलाइ बढावा दिनको निम्ति अरुको अहित गर्न पछि नपरेकोको कारण पनि उद्यम, व्यापारी र बजारको छबि नकरात्मक बनाएको छ । केहि सिमित स्वार्थ समुहहरुको गलत क्रियाकलाप र आपसी साँठगांठले निम्त्याएको एकाधिकारले आम उपभोक्ताहरूलाइ छनौटको अवसरबाट बन्चित गरि बढी मूल्य तिर्न बाध्य बनाई धेरैको अहित गर्ने भएको कारण यसले अरुको छवि पनि धुमिल हुन पुगेको अवस्था छ ।
निसन्देह कुनैपनि मानिस, वाद र व्यवस्था पूर्ण हुदैन । सबैका धेर थोर राम्रा नराम्रा पक्ष हुन्छन् । तर केहिले गलत काम गरे भन्दैमा यसको दोष अरु सबै माथि थोपर्नु कदापि सहि हुन सक्दैन । अवश्य पनि गलत कार्य गर्नेहरु कानुनि कारवाहीको भागीदार हुनु पर्दछ । त्यसैको लागि नै राज्य तथा तिनका निकायको जन्म गरिएको हो । अरुको जीवनलाइ सहज बनाएर सम्पति सिर्जना गर्न सहयोग पुर्याउने बजार र मानिसहरु प्रति नकारात्मक भएर समाजलाई बिकासको तर्फ डोर्याउन सम्भव छैन l राम्रो वा नराम्रो जे कुरालाई प्रोत्साहन गरिन्छ त्यो बढ्दै जान्छ l उद्यम र उधमीहरुको सवालमा पनि यो कुरा लागु हुन्छ । अन्डा दिने कुखुरालाई मारेर अन्डाको अपेक्षा गर्नु मुर्खता हुनेछ,जुन कुरा सम्पति सिर्जनाको बिषयमा पनि लागु हुन्छ ।