उद्यम र ब्यापार फस्टाउनको निम्ति आर्थिक स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको हुन्छ र कुनै पनि देशको आर्थिक विकासमा उद्यम र व्यापारको महत्वपूर्ण भूमिका रहेको हुँदा नेपाल यसको अपवाद हुन सक्दैन भन्ने कुरालाई मध्यनजर गर्दै विकल्प-एन अल्टरनेटिभले विराटनगर महानगरपालिकासंगको सहकार्यमा “उद्यमशीलताको विकासमा आर्थिक स्वतन्त्रताको महत्व ” बिषयक माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता समापन गरेको छ ।
विराटनगरका १९ वटा निजि तथा सामुदायिक विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रमुख अतिथिको रुपमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला, विशिष्ट अतिथिको रुपमा उप-मेयर शिल्पा निराला कार्की, विशेष अतिथि विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र पराजुली रहेका थिए भने कार्यक्रमको अध्यक्षता विकल्प-एन अल्टरनेटिभका अध्यक्ष डा भेष प्रसाद धमलाले गरेका थिए । कार्यक्रम संचालन विकल्प फेलोजका समिर क्षेत्रीले गरेका थिए।
उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा महिला उद्यमी ,किण्डर पिलर इटहरीका संस्थापक र ओपन हाउस लाउन्ज एण्ड बाराकी संचालक श्रुति शर्मा , वेक्कप कफी विराटनगरका संचालक अभिनायक मल्ल तथा बारी रोस्टरिका संचालक युनेश राज श्रेष्ठ रहेका थिए ।
प्रतियोगितामा हरेक प्रतियोगीहरुले ५ मिनेटको समयमा “उद्यमशीलताको विकासमा आर्थिक स्वतन्त्रताको महत्व” को बारेमा प्रस्ट्याएका थिए । २२५ जना भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा विराटनगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीले पनि आफ्नो भनाइ राखेका थिए ।
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा १८ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सेन्ट मेरिज माध्यमिक विद्यालयकी कक्षा ११ मा अध्यनरत छात्रा सृजा बस्नेत प्रथम भएकी हुन् । प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयका कक्षा १२ मा अध्यनरत छात्र अभिनभ बस्नेत द्वितीय, सत्यनारायण माविकी कक्षा ११ मा अध्यनरत छात्रा सिवानी राउत तृतीय र मिल्स माविकी करिना महतोले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँका साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएकोमा विजेताहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र अर्थशास्त्री डा. भेषप्रसाद धमलाले पुरस्कार र प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
उक्त प्रतियोगितालाई बिराटनगर महानगरपालिका, एम के टेक , रिलायबल फुड एण्ड वेवरेज , वेक्कप कफी , मयुर डिजिटल प्रिन्ट प्रेस , ग्लोबल होराइजन एजुकेशन प्रालि , ग्रेस इण्टरनेशनल एजुकेशनले सहयोग गरेका थिए ।