विराटनगरमा हत्याराको आममाफी विरुद्ध प्रदर्शन विराटनगरमा ‘ अचेत नागरिक समुह ‘ ले हत्याराको आममाफी विरुद्ध प्रदर्शन गरेको छ।
पछिल्लो समयहरुमा संविधान तथा गणतन्त्र दिवसको अवसरमा हत्या जस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाई पनि राष्ट्रपतिले आममाफी दिने प्रचलन बढ्दै गएको र यसरी अदालतको तीनै तहले सर्वस्वसहित जन्मकैद गरेका अपराधीहरुलाई विभिन्न दिवसको नाममा छाड्ने हो भने देशका प्रहरी , पत्रकार, वकिल , व्यवसायी , चिकित्सक , युवायुवती , वृद्ध बालबच्चा , दिदीबहिनी कोहि पनि सुरक्षित नरहने ठम्याउदै यस विरोध प्रर्दशन गरिएको कार्यक्रम संयोजक किरण खड्काले बताए ।
राज्यको यस्ता क्रियाकलापहरुले अपराध गर्नलाई हौसला र प्रसय दिइरहेको बताउदै संविधानको रक्षक भक्षक भइरहेको अवस्थामा कानुनले नै यस्ता जघन्य अपराधीहरुलाई छुटाउन मिल्ने भए त्यस्ता कानुन संसोधन गरिनुपर्छ भन्ने माग सहित नेपालगन्जमा रिगल भनिने योगराज ढकालले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरको अनसनलाई ऐक्यबद्धता जनाउनको लागि पनि आफुहरु प्रदर्शनमा आएको सविन घिमिरेले बताए।
‘ अचेत नागरिक समुह ‘ ले यस्ता बेथिति विरुद्ध राष्ट्रिय स्तरमा प्रत्येक गाउँ तथा शहरबाट जाग्न पनि अनुरोध गरेको छ। शान्तिपुर्ण प्रदर्शनमा युवाहरुले ‘ भारतीलाई न्याय दे’, ‘ मान्छे मार्न पाइदैन ‘, ‘ गुन्डाराज्य बन्द गर’ लगायतका नाराहरु लिएर उभिएका थिए। यस शान्तिपूर्ण विरोध प्रर्दशन दैनिक रुपमा संचालन हुने पनि आयोजकले बताएको छ । प्रदर्शनमा हस्ताक्षर संकलन पनि गरिएको थियो जुन जिल्ल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाउने पनि आयोजकले बताएको छ ।