प्रहरीको तथ्यांकअनुसार दैनिक कम्तीमा ७ जनासम्म महिला तथा बालिकाहरु बलात्कारपीडित बन्ने गरेका छन्। त्यसो त यो प्रहरीमा आएको मात्रै तथ्यांक हो। धेरै घटनाहरु प्रहरी कहाँ नआई सामसुम हुने गर्दछ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्त अर्थात् ५८ महिनाको अवधिमा देशभर १० हजार ३३२ बलात्कारका उजुरी परेका छन्। २०१९-२०२० मा २ हजार १ सय ४४ बलात्कार र ६ सय ८७ बलत्कार प्रयासका घटना दर्ता भएका थिए। यो तथ्यांकले पनि देशभर बलात्कार घटानहरु बढिरहेको देखाएको छ ।
सार्वजनिक ठाउँमा विशेष गरी सार्वजनिक सवारी साधनहरूमा पनि यौन उत्पीडनका घटना भइरहेका हुन्छन । यस्ता यौनजन्य घटनाले हत्या समेत निम्तिएको समाचार आइरहेका हुन्छन । यो कुरा सुन्दा तितो लाग्न सक्छ तर विभिन्न सर्वेक्षणहर अनुसार बालिकाहरूमाथि यौनहिंसा गर्ने प्रायः ठूला उमेरका आफ्नै आफन्तहरू नै हुने गरेको पाइएको छ ।
मोरंगको लेटाङ्गमा केहि महिना अगाडी एक नाबालिका यौन हिङ्ग्सामा परिन । वर्षौदेखि बालिकाको घर परिवारमा मेलोपात , खेतीपातीमा सघाउदै आएका एक ७६ वर्षीय वृद्धबाट ती अपाङ्ग बालिका पटकपटक यौन हिन्ग्सामा परेको परिवारको दावी छ । हिरासतमा रहेका ती वृद्धलाई अदालतले छोडेपछि हाल घरमै छन् र उनी विरुद्धको मुद्धा जिल्ला अदालत मोरंगमा चलिरहेको छ ।
बालबालिकाहरू आफ्नो घर तथा समाजमा सुरक्षित छन् भन्ने निश्चित नभएको यस अवस्थामा आमाबुबाले आफ्ना नानीहरूसँग केही समय बिताएर गूड टच र ब्याड टच (सही स्पर्श र गलत स्पर्श) विषयमा खुलेर कुरा गरेमा बालबालिकाले सही र गलत स्पर्शको बारेमा बुझ्न सक्छन् ।किताबी ज्ञानलाई मात्र महत्व दिने आमाबुबाहरूले यस्ता जीवन उपयोगी शिक्षा आफ्नो घरमै दिन समय निकाल्नुपर्छ । बालबालिकाहरूलाई दिइएको यस्ता ज्ञानहरूले समाजको अपराध नरोकिए पनि आफूले आफूलाई त्यस्ता अपराधहरूबाट बचाउन सक्छन् ।त्यसैले बालबालिकाहरूलाई गूड टच र ब्याड टच सिकाउने उत्तम अवसरको खोजि गर्नु आजको आवश्यकता हो ।
नेपाल प्रहरीको तथ्यांक अनुसार बलात्कारबाट सबैभन्दा पीडित उमेर समूह ११ वर्षदेखि १६ वर्षसम्मको छ। आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा मात्रै यो उमेर समूहका ४ हजार ५८ जना बालिका बलात्कृत भएका छन्।
७ वर्षको उमेरदेखि १३ वर्षको उमेरका बालबालिकाहरू यौन हिंसाको शिकारमा सबैभन्दा जोखिममा पर्ने भनिएता पनि अपराधीहरूले प्रतिरोध गर्न नसक्ने शिशुलाई प्रारम्भिक रूपमा शिकार गर्दछन् । यस कारणले गर्दा, जति बेलादेखि बच्चाहरूले अभिभावकको वचनहरू बुझ्न सक्षम हुन्छन्, त्यो नै राम्रो र नराम्रो स्पर्शको बारेमा कुरा गर्ने उत्तम समय हो ।
सर्वप्रथम, हामीले आफ्नो बच्चासँग बालमैत्रीपूर्ण भाषामा उनीहरूले बुझ्ने गरेर कुरा गर्नुपर्दछ । बच्चालाई सधैं बच्चा जस्तो भएर सम्झाउनु एउटा उपाय हुन सक्छ । बच्चाहरूलाई यस्तो कुराहरू गर्दा वा सिकाउँदा एकान्तभन्दा सबै भएको ठाउँमा सम्झाउनुपर्छ । यसो गर्दा उनीहरूले सही र गलत टचको बारेमा राम्रोसँग सम्झन्छन् र सुरक्षाको विषयमा ज्ञान पाउँदछन् ।
हामीले बच्चाहरूलाई डर र त्रासको वातावरण दिनुहुँदैन । उनीहरूसँग सधैं साथी जस्तो व्यवहार गर्नुपर्छ । यस्तो व्यवहारले गर्दा बालबालिकाहरूले अभिभावकलाई आफ्ना कुराहरू नलुकाई बताउन सक्छन् । उनीहरूको शरीरको विभिन्न गोप्य तथा अन्य अंगहरूका नामहरू र ती अंगहरूलाई सुरक्षित राख्नु महत्त्वपुर्ण कुरा हो भनेर उनीहरूलाई सिकाउन पर्दछ ।
शब्दहरूको चयनमा विशेष ध्यान दिनुपर्दछ । यसरी बताइरहँदा निजी अंगहरू (जस्तै स्तन, योनी, नितम्ब, लिङ्ग) को लागि सही रचनात्मक नामहरू प्रयोग गर्न लाज मान्नु हुँदैन । यसले गर्दा उनीहरूले अरुलाई सही ढंगले यसबारे बताउन सक्छन् । उनीहरूलाई अनुपयुक्त रूपमा छोइन्छ भने उनीहरूले यसलाई अरूलाई सहीसँग व्याख्या गर्न सक्दछन् । यसको साथै बालक र बालिकाको शरीरको बनावटको भिन्नताका बारेमा पनि बताउनुपर्दछ । यस्ता क्रियाकलापहरूमा विभिन्न पुस्तक तथा युट्युब भिडियोहरूको सहायता लिन सकिन्छ ।
बालबालिकाहरूलाई गूड टच र ब्याट टचको बारेमा धेरैभन्दा धेरै बताउनु आवश्यक छ । कस्तो छुवाइलाई गूड टच र कस्तो छुवाइलाई ब्याड टच भन्ने सिकाउन सके उनीहरू कसैको यौनहिंसाबाट सुरक्षित हुनको लागि सतर्कता अपनाउन सक्छन् ।
उनीहरूकै हात मिलाएर, अंकमाल गरेर, हाइफाइभ गरेर यस्ता कुराहरू सेफ टच हो भनेर बालबालिकाहरूलाई सिकाउनु पर्दछ । तर यी कुराहरू उनीहरूको इच्छाविपरीत कसैले गरे त्यसबाट सतर्क हुने कुराहरू सिकाउन पनि भुल्नु हुँदैन । यस्तो प्रकारको छुवाइले उनीहरूलाई असहज वा असुरक्षित महसुस भए त्यसलाई वेवास्ता गर्न सक्ने अधिकार पनि उनीहरूमा छ भनेर आफ्ना बच्चाहरूलाई बताउनुपर्दछ ।
विभिन्न उदाहरणहरू दिएर उनीहरूलाई सेफ टचको बारेमा सिकाउन सजिलो हुन सक्छ । जस्तै डाक्टर तथा आमाहरूले उनीहरूको अंग छुन्छन् र त्यो उनीहरूको शरीरमा कुनै प्रकारको समस्या छ कि भनेर जाँच्न गरिएको हो भनेर बताइनु पर्दछ । तर डाक्टरहरूले पनि आमाबुबाको उपस्थितिमा मात्र छुन सक्छन् भनेर बताउन भुल्नुहुँदैन । यसबाहेक अरु कसैले पनि उनीहरूको अंग छुन वा कपडा खोल्नको लागि प्रेरित गर्न सक्ने छैन भनेर उनीहरूलाई भन्नुपर्दछ ।
आफ्ना बच्चाहरूलाई गूड टच र ब्याड टचको बारेमा बताउनका लागि स्विम सूटको उदाहरण दिन सकिन्छ । उनीहरूलाई स्विमिङ गर्ने क्रममा लगाइने कस्ट्यूमले शरीरको जुनभाग ढाकिन्छ, ती निजी अंग भएको तथा तिनलाई कसैले पनि छुन पाउँदैन भन्ने कुरा बुझाउन सकिन्छ । यदि कुनै व्यक्तिले उनीहरूका ती अंगहरूमा छोएमा अथवा छुने प्रयास गरेमा तुरुन्त आफ्ना बुबाआमालाई अथवा स्कूलमा शिक्षकलाई भन्नुपर्छ भनेर सम्झाउनु पर्छ । बालबालिकाले उनीहरूको शरीरमा केवल उनीहरूको मात्र अधिकार हुन्छ भन्ने कुरा स्पष्ट बुझ्नु पर्दछ ।कतिपय अवस्थामा आफू दुर्घटनामा पर्दा, चोटपटक लाग्दा अरुले सहायताको निम्ति छुन सक्छन् भनेर पनि उनीहरूलाई बुझाउनु पर्दछ ।
बालबालिकाहरूलाई शारीरिक चोट पुर्याउने असुरक्षित टचको बारेमा पनि जानकारी दिनुपर्दछ । कसैले पिट्ने, घोच्ने, चिमोट्ने, लात्ती हान्ने, धकल्ने जस्ता क्रियाकलापहरू गरे त्यसबाट सावधान रहने कुराहरू पनि उनीहरूलाई सिकाउनु पर्दछ । त्यस्ता क्रियाकलापहरू जो कोहीले गर्ने प्रयास गरे आमाबुबालाई बताउनुपर्छ र अरुलाई त्यस्तो व्यवहार आफूले गर्नु कानूनविपरीत र अमानवीय हो भनेर उनीहरूलाई सिकाउनुपर्दछ ।
कसैले उनीहरूको गोप्य अंग हेर्न तथा छुन र त्यस्तो कार्य गर्न प्रेरित गर्नु असुरक्षाको संकेत हो भनेर बालबालिकाहरूलाई सिकाउनु नितान्त आवश्यक कुरा हो ।गूड टच र ब्याड टचको कुराहरू सिकाए पश्चात उनीहरूले बुझे कि बुझेनन् भनेर केही क्रियाकलापहरूको उदाहरण दिएर उनीहरूले सही छुट्याउन सकेका छन् कि छैनन् भनेर थाहा पाउन सकिन्छ ।
यदि कसैले आफूलाई गलत स्पर्श गर्न खोजे त्यो व्यक्तिलाई “नाईं”, “रोक्नुस्”, “मलाई यो मन पर्दैन”, “मलाइ नछुनुहोस्” जस्ता शब्द प्रयोग गरेर त्यसलाई इन्कार गर्ने र त्यहाँबाट उनीहरू भाग्न पनि सक्ने कुरा सिकाउनु पर्दछ । कति व्यक्तिहरूले बच्चाहरूलाई खराब नियतले छुएर यी कुराहरू गोप्य राख्नको लागि भन्दछन् भनेर आफ्नो बच्चाहरूलाई जानकारी दिनुपर्दछ । कस्ता कुराहरू गोप्य राख्ने र कस्ता कुराहरू गोप्य नराख्ने भनेर उनीहरूले छुट्याउन सक्ने शिक्षा हामीले दिनुपर्दछ ।
उनीहरूलाई उनीहरूको कुरा सुन्न र सुनाउन सक्ने वातावरण अभिभावकहरूले बनाउनु पर्दछ । जसको कारण उनीहरूले गोप्य भनिएको तर गोप्य राख्न नहुने कुराहरू निस्फिक्री साथ सुनाउन सक्दछन् ।आजको समयमा बालबालिकाहरू जति खुलेर रहन्छन् त्यति नै उनीहरूका लागि तथा अभिभावकका लागि पनि राम्रो हुनेछ । अभिभावकहरूको अर्को दायित्व यो पनि हुन्छ कि कसैले बालबालिकाहरूलाई असुरक्षित स्पर्श गरेको थाहा पाए, त्यसबारे बालबालिकाहरूलाई बताउनुपर्छ ।
अभिभावकहरूले गूड टच र ब्याड टचको शिक्षा एकपटकको वार्तालापबाट मात्र बालबालिकाहरूले सिक्न सक्दैनन् भनेर बुझ्नुपर्दछ । निरन्तर घरमा यस बारेमा शिक्षा दिइरहन सके उनीहरू दिन प्रतिदिन जान्ने र बुझ्ने हुँदै जान्छन् । विद्यालयको शिक्षामा पनि गूड टच र ब्याड टचको बारेमा खुलेर शिक्षा नदिनु हाम्रो लागि बिडम्बना हो । गूड टच र ब्याड टचको बारेमा सबै विद्यार्थीहरूलाई शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा छुट्टै क्लास दिन सके धेरै बालबालिकाहरूलाई यौन हिंसाबाट सुरक्षित राख्न सहयोग पुग्न सक्छ । स्कुलमा बच्चाहरूलाई नाता सम्बन्धको मर्यादाको बारेमा बताइन्छ । तर ती नजिकका आफन्तहरूबाट पनि बच्चा असुरक्षित हुन्छन् भनेर आमाबुबाहरूले ख्याल गरेका हुँदैनन् जसका कारण धेरै बालबालिकाहरू मानसिक रोगको शिकार बन्छन् ।
त्यसैले बालबालिकाहरूलाई बाल्यकालदेखि नै गूड टच र ब्याड टच तथा यौनशिक्षा दिन अत्यन्तै आवश्यक छ ।