काठमाडौँ। आईसीसी टी-२० विश्वकप क्रिकेट छनोट खेलिरहेको नेपाली क्रिकेट टोलीलाई नोबेल मेडिकल कलेजले रु १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। सो पुरस्कार रकम प्राप्त गर्न आईसीसी टी-२० विश्वकप २०२४ क्रिकेटमा छनोट हुनुपर्ने छ। साथै जारी प्रतियोगिताको फाइनलमा विजेता भएमा थप पाँच लाखसमेत दिने बताएको छ।
विराटनगरस्थित मेडिकल कलेजले नेपाली क्रिकेट र खेलाडीहरूको सम्मानमा उक्त घोषणा गरेको बताएको छ। प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले नेपालको इतिहासमा नेपाल र नेपालीलाई एक जुट बनाउने कार्यमा खेलकुदको भूमिका पनि महत्त्वपूर्ण रहेको छ भन्दै उक्त कार्यको सम्मानमा पुरस्कार घोषणा गरेको हो ।
काठमाडौँमा जारी ‘आईसीसी पुरुष टी-२० विश्वकप २०२४ एसिया छनोट’मा नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ। नेपाल विश्वकपमा छनोट हुनु नेपालका लागि गौरवको विषय रहेको भन्दै कलेजले नेपाली क्रिकेटको उच्च प्रशंसा गरेको छ। नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलाई कलेजका प्रमुख कार्यकारी प्रमुख डा. भोगेन्द्रप्रसाद उपाध्यायले पुरस्कार घोषणाको पत्र हस्तान्तरण गरेका थिए ।