विराटनगर- विकल्प एन अल्टरनेटिभले आश्मान नेपालसँगको सहकार्यमा १८ देखि ४० वर्ष उमेर समूहका युवा उद्यमी बन्न चाहने युवाका लागि आयोजित दोस्रो चरणको बुट क्याम्प सम्पन्न गरेको छ। स्वीस कन्ट्याक्टको आर्थिक सहयोगमा सञ्चालित “स्टेप अप” परियोजना अन्तर्गत विकासले तीन चरणमा ९० जना सहभागीलाई तालिम दिइनेछ भने प्रत्येक चरणमा ३० जना सहभागी हुनेछन् । कार्यक्रममा सहभागीहरूलाई अन्वेषण गर्न, विचारहरू परिमार्जन गर्ने र उनीहरूलाई आफ्नो व्यवसाय र स्टार्ट-अपहरू सुरु गर्न उत्प्रेरित गर्ने अवसरहरू प्रदान गर्न तयार गरिएका विभिन्न अन्तरक्रियात्मक शिक्षण विधिहरू, अतिथि व्याख्यान, विचार पिच, समूह कार्य गतिविधिहरू र भिडियो वृत्तचित्रहरू समावेश छन्।
हाल संचालित यस क्याम्पले कोशी प्रदेशको मोरङ र सुनसरी जिल्लाको सम्भावित युवा उद्यमीहरूको पहिचान गरेर सहभागीहरूलाई व्यवसाय विकासको बारेमा शिक्षित गर्न, तिनीहरूका विचारहरूलाई प्रयोगात्मक रुपमा प्रस्तुत गर्न तथा उनीहरुलाई उद्यमी बन्न सक्षम बनाउने उद्धेश्य राखेको जानकारी विकल्प एन अल्टरनेटिभका संस्थापक अध्यक्ष वसन्त अधिकारीले दिए ।
यस क्यामपको आयोजनाले समान विचारधाराका महत्वाकांक्षी युवा उद्यमीहरूका लागि उनीहरूको व्यापार उद्यमहरूका बारेमा आफ्ना विचार र चुनौतीहरू साझा गर्न नेटवर्किङ प्लेटफर्म सिर्जना गर्ने कार्यक्रम संयोजक सुमन राईले बताए।
यसले सहभागीको विचारलाई उद्यमशीलता र नेतृत्व व्यवस्थापन, स्टार्ट-अप र मार्केटिङका आधारभूत अवधारणाहरूसँग व्यापारिक चुनौतीहरूको मूल कारण बुझ्न र उनीहरूका विचारहरूमा प्रभावकारी रूपमा काम गर्न मद्दत गर्ने अर्की कार्यक्रम सह संयोजक रानु शाहले बताइन।
विराटनगरको श्रीकृष्ण होटलमा कार्तिक १७ र १८ गते आयोजित बुट क्याम्पमा २६ जनाको सहभागिता रहेको थियो जसमा विभिन्न क्रियाकलाप तथा प्रस्तुतिहरु सहित विभिन्न आमन्त्रित व्यक्तित्वहरुले कक्षा लिएका थिए । विकल्प एन अल्टरनेटिभका संस्थापक अध्यक्ष वसन्त अधिकारीले उद्यमशीलताको महत्वबारेमा युवाहरुलाई प्रष्ट्याएका थिए भने उधमीहरुले कसरी, कुन प्रकारले उद्यम गरिरहेका छन् भन्ने जानकारी दिने कक्षा नमस्कार होटल म्यानेजमेन्ट स्कुलकी निर्देशक तथा बारी रोस्टरिकी सह संस्थापक डिना प्रधानले लिएकी थिइन् । बि एफएमका निर्देशक तथा प्राध्यापक संदेश दास श्रेष्ठले उद्यममा नेतृत्वको भूमिका विषयमा सहाभागी युवाहरुलाई सिकाएका थिए। त्यस्तै एलो हर्बल प्रालिका संस्थापक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल काफ्ले, महिला उद्यमी समितिकी अध्यक्ष सुनिता छाराहांग , नव प्रवर्तक तथा उद्यमी समर्थन विशेषज्ञ अनिल पराजुलीले व्यवसायिक अनुभव सुनाउनुका साथै सहभागीहरुसँग छलफल तथा अन्तरक्रिया गरेका थिए भने सहभागी युवाहरुले उद्यमशीलता सम्बन्धि आ आफ्नो अनुभव तथा विचार राखेका थिए। आफ्नो व्यवसायको मोडल प्रस्तुत गर्ने उत्कृष्ट ८ युवाहरुलाई छनौट पनि यस बुट क्याम्पमा गरिएको थियो । यसरी ३ चरणबाट छनौट भएका २४ जना युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गरिनेछ । युवाहरुलाई आफ्नो उद्यम तथा व्यवसायमा थप परिमार्जित गर्नका लागि थप कार्यक्रम आयोजना गरिने पनि आयोजकले जानकारी दिएको छ ।