काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन्। सर्वसाधारणले राजस्व तिरेको रकम आफ्नै खातामा जम्मा गर्ने यातायात व्यवस्था कार्यालय कोशी , इटहरीका तत्कालीन प्रमुखसहित पाँचजना कारागार चलान भएका हुन् ।
राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका ५ जनालाई पक्राउ गरी जेल चलान गरेको जिल्ला प्रहरी कार्यालयका मोरङका प्रवक्ता एवं डिएसपी रञ्जन दाहाल बताएका छन् ।
डिएसपी दाहालका अनुसार सोमबार प्रहरीले तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो।
उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर अदालतमार्फत कारागार चलान गरिएको हो । विशेष अदालतले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना तोकेको छ। मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना तोकेको छ भने कुमारबहादुरलाई ६ वर्ष कैद र एक करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको छ। टीकारामको हकमा ९ वर्ष कैद, २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ। उनीहरूबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो।
यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९/०७० र २०७०/०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्म भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो।राजस्व हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो। कैद तोकिएपछि उनीहरू सबै फरार थिए।