विराटनगर । विराटनगर – ७ सातघुम्ती रोडमा रहेको कवाडीमा बुधबार अपरान्ह भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं लगिएका चारजना घाइतेहरू मध्ये एकजनाको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार विराटनगर– ६ की ६५ वर्षीया सुनिता कामतको उपचारका क्रममा किर्तिपुर स्थित बर्न अस्पतालमा बुधबार साँझ साढे ८ बजेतिर मृत्यु भएको जनाइएको छ ।
आगलागीमा परी घाइते भएका कवाडी सञ्चालक परिवारकै ३२ / ३४ उमेरका दिपक मण्डलको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बुधबार मृत्यु भएको थियो भने अर्का एकजनाको शव आगो नियन्त्रण गरेपछि उत्खननको क्रममा भेटिएको थियो । उत्खननको क्रममा भेटिएकी मृतक महिला विराटनगर महानगरपालिका– ६ की ५५ वर्षीय सुशीला पासवान भएको प्रवक्ता दाहालले जानकारी दिए ।
उपचारका लागि किर्तिपुर बर्न अस्पताल पुर्याइएका विराटनगर– ६ बस्ने अन्दाजी ६० वर्षीया रिता सरदार, विराटनगर– ६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका– ६ की ३० वर्षीया पिङ्की कामतको उपचार जारी रहेको छ ।
सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार दिउँसो २ः२० बजेतिर आगलागी भएको थियो । आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी बल , नेपाली सेना , नगर प्रहरी , बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीका कारण र क्षतिको यकिन विवरण आइसकेको छैन ।