विराटनगर । विराटनगरस्थित जिल्ला कारागार मोरङमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएकोबारे छानबिन गर्न स्थानीय प्रशासनले चार सदस्यीय छानबिन समिति बनाएको छ ।
आफन्तले छानबिन समितिको माग गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानबिनका लागि भन्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरूमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको मृत्यु भएको घटनाका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएका छन् ।
पुर्पक्षको लागि थुनामा रहेका भुजेलको गत बिहीबार बेलुका साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवारले रहस्यमय भन्दै पोस्टमार्टम नगर्ने र घटनाको छानविन हुनुपर्ने अडान लिएका थिए । भुजेललाई कारागारभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको र मृत्यु भएको आफन्तको दाबी छ । मृतकका आफन्तले शव हेर्दा कुटपिट गरेको देखिएको र टाउकोमा चोट तथा रगत देखिएको दाबी गरेका छन् ।
पोस्टमार्टम गरेपछि छानबिन डिसमिस हुने अवस्था रहेको भन्दै आफन्तले कोशी अस्पतालको शव गृहमै शव राख्ने र छानबिन प्रतिवेदन आएपछि मात्रै पोस्टमार्टम गर्न दिने बताएका छन् ।
कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पुर्याएको जनाएको छ । कोशीको आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर उनको उपचारको लागि अरू अस्पताल नलगिँदा उनको मृत्यु भएको परिवारको दाबि छ ।