विराटनगर । विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरूले दश हजार फिट माथी उड्ने रकेट बनाएको कलेजले दाबी गरेको छ । रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्जमेकर्स’ सँगको सहकार्यमा शिक्षादीप कलेजले आयोजना गरेको ६ दिने विज्ञान सम्बन्धी कार्यशालामा विद्यार्थीहरुले १० हजार फिट माथी उड्न सक्ने रकेट बनाएको कलेजले जनाएको हो । विद्यार्थीहरुले बनाएको ४ किलो वजन भएको १० हजार फिट उचाइसम्म पुग्न सक्ने रकेटमा जडित यन्त्रले वायुमन्डलको ह्युमिडिटि तथा प्रदुषणको तथ्यांक संकलन गर्न सक्ने द स्क्वाड अफ चेन्जमेकर्सको टिमले बताएको छ । सुरक्षाको जोखिम , भूगोलको अभाव र निति नियमको कारणले सो रकेट परिक्षण गर्न नसकिएको पनि कलेजले जनाएको छ।
देशका विभिन्न कलेजहरुमा विज्ञानलाई प्रयोगात्मक तरिकाले सिकाउदै हिडेको द स्क्वाड अफ चेन्ज्मेकर टिमको नेतृत्वमा विद्यार्थीहरुले बनाएका ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट , ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन , आगलागी तथा भुकम्प सूचक यन्त्र , मापसे सूचक यन्त्र इत्यादि सोमबार प्रदर्शन गरिएको थियो ।
कार्यशालाको पहिलो दिन ७ जना विद्यार्थीहरुले पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार पारेका थिए । त्यसपछि कार्यशालामा उनीहरुले १० हजार फिट उचाइमा उड्ने रकेट बनाएका हुन् । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको छ ।कार्यशालामा विद्यार्थीहरुले विभिन्न किसिमको टेलिस्कोपको सहायताले ग्रह , उपग्रह, तारा तथा चन्द्रमा अवलोकन गर्नुका साथै छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकेका थिए । कार्यशालमा विद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक सिकेका थिए ।
विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि ६ दिनसम्म संचालन भएको कार्यशालामा विद्यार्थीहरूले रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गरेका थिए । कक्षा १२ मा विज्ञान संकाय अध्ययन गर्दै आएका ४९ जना विद्यार्थीहरू कार्यशालामा सहभागि भएको शिक्षादीपले जनाएको छ ।
द स्क्वाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराई, संयोजक एलन बराल, प्रशिक्षकहरु दिवस खनाल, विहाग सापकोटा, प्रनिश शर्मा, रिसम साह, सफल निरौला र विशाल न्यौपानेले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।
कर्याशालाको समापन कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्काले काठमाण्डौ बाहिर पहिलो पटक विज्ञानसँग सम्बन्धी कार्यशालाबाट विद्यार्थीहरुले धेरै ज्ञान आर्जन गरेको बताए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर बाहिरी ज्ञान र सिपलाई व्यवहारमा उतारेको उनको भनाई थियो । प्रधानाध्यापक खड्काले यस्तो कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्नुका साथै विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास बढाउने बताउंदै विराटनगरमा पनि वैज्ञानिक उत्पादन हुने जनाएका थिए ।
कार्यक्रममा शिक्षादीप कलेजका अध्यक्ष तथा कोशी प्रदेश सांसद भिम पराजुलीले विद्यार्थीहरुको क्षमता अभिवृद्धीको लागि काठमाण्डौ बाहिर पनि विज्ञानसँग सम्बन्धी कार्यशाला जरुरी रहेको बताएका थिए । पराजुलीले यस आवश्यकतालाई द स्क्वाड अफ चेञ्जमेकरले परिपूर्ति गरिरहेकोमा विज्ञान म प्रविधि तथा अनुसन्धानमा राज्यले लगानी गरिनुपर्ने बताएका थिए । कोशी प्रदेशमा विज्ञान ,प्रविधि तथा अनुसन्धानमा बजेट बढाउन तथा छुट्याउनको लागि आफुले पहल गर्ने पनि सांसद पराजुलीले बताएका थिए। यस्ता कुराहरुमा राज्यको लगानी न्युन र सिमित भएकाले इनोभेसनले उत्प्रेरणा नपाएको उनको भनी थियो । संसद पराजुलीले विद्यार्थीले बनाएका विभिन्न यन्त्र तथा उपकरणहरुको अवलोकन पनि गरेका थिए ।