नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहन्शाह सिद्दिकी) बिगत १ बर्ष अघि प्रहरीको हिरासत हुदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति थुनामा राख्न मोरङ कारागार पठाइएको अवस्था छ । उनको आठ पटक पेशी सरि सकेको छ भने अझै फैसला कुरेर बसिरहेका छन् । दुई साझेदार बीच भएको आपसी मतभेदको कारण सिद्दिकी कारागार चलान भएका छन् । नेपाल टाइम्स मद्धेका साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरी अनुसार, सिद्दिकीले उनलाई चुनाबी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग छ ।
जबकि सिद्दिकीको भनाइ अनुसार चुनाब ताका नेकपा एमालेको तर्फबाट तत्कालीन प्रदेश १, अहिलेको कोशी प्रदेशको प्रदेश सभाको समानुपातिकका उमेद्वार रहेका अरुण राठीले बाराम्बार उनि लगायत उनि निकटका संगठनका उमेद्वारहरुलाई नेपाल टाइम्सलाई समर्थन र प्रबर्धन गर्न दबाब दिनुको साथै, बिपक्षी पार्टीका उमेद्वारहरुलाई बदनाम गर्न दवाब दिदा, आफ्नो मिडियाले कसैको पक्ष र बिपक्ष लिन अस्वीकार गरे पश्चात राठीले या त मिडिया आफ्नो बनाउने, अन्यथा सिध्याईदिने धम्की दिएका थिए । चुनाबमा राठी लगायत संगठनले अपेक्षित नतिजा ल्याउन नसकेको कारण त्यसको रिस आफु र आफ्नो संस्थासंग पोखेको सिद्धिकी बताउँछन् ।
यतिका ठूला ब्यापारी, त्यसमा पनि देशकै दोस्रो ठूलो राजनीतिक दल नेकपा एमालेको तर्फबाट प्रदेश सभाको समानुपातिकका उमेद्वार, जसको पछाडी पहँुच, शक्ति र पहिचान भएको जानकारी हुँदा हँदै पनि सहन्शाहले यति हल्का रुपले अपहरण गरि, शरीर बन्धक बनाइ कुटपिट गरेर दिउँसै मानिसहरुको चहलपहल भएको बाटोको बिचमा बसेर राठीबाट फिरौती रकम स्वरुप चेक लिए भनेर भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । त्यसमा पनि १० लाख भन्दा बढी फलोअर भएको नाम चलेको मिडिया, जसले १०–१२ जनालाई स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गरेको छ । त्यसको संस्थापकले १५ लाखको लागि आफ्नो नाम र आफ्नो संस्थाको नाम बदनाम गर्ने जोखिम लिन्छ कि लिदैन भन्ने बिषय सोचनीय छ ।
अरुण राठी र सहन्शाह बीच के भयो भन्ने कुरा यी दुवैलाई मात्र थाहा छ । तर घटनालाई सर्वसाधारणको नजरियाले हेर्ने हो भने यो कुनै अपहरण र अपराधिक घटना भन्दापनि आपसी लेनदेन र मनमुटावको घटना महसुस हुन्छ । अरुण राठी, निजका छोरा योगेश राठी तथा कर्मचारी बृज मोहन भगतले पटक पटक गरि नेपाल टाइम्सबाट रकम लागेको प्रमाणले पनि यो कुरालाइ स्पस्ट गर्दछ ।
त्यसबाहेक सर्वसाधारणको नजरले हामीले हेर्दा अपहरण भएको भनिएको घटनाको ५ दिन पछि (२०७९ मंसिर १८ गते) मात्र राठीले प्रहरीमा जाहेरी दरखास्त दिएको देखिन्छ । सहिन्शाले उजुरी परेको खबर पाए लगतै नेपाल टाइम्सका एक सहकर्मीसंग जिल्ला प्रहरी कार्यालय पुगी घटना बारे प्रहरीसंग आवस्यक छलफल गरि फर्किएको , २०७९ साल मंसिर २९ गते आफ्नो फेसबुक प्रोफाइलमा स्टाटस लेखेर सहन्शाह आफैले अनुसन्धानमा सहयोग गर्नको निम्ति जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको, सहन्शाह संगै पक्राउ परेका चिखु भाइ अजय भनिने जय कुमार राम नाम गरेका ड्राइभर १ लाख रुपैया धरौटीमा छुटेको, उनले प्रहरी र अदालतमा फरक फरक प्रकृतिको बयान दिएको, राठीले आरोप लगाए अनुसार अपहरण गरेर अंगभंग हुनेगरी कुटपिट गरेको सिसिटिभी फुटेजहरुमा नदेखिएको, फिरौती भनिएको रकम राठीले चेक सहन्शाहको नाममा नभएर कम्पनीका महानिर्देशक आफै भएको नेपाल टाइम्सको नाममा दिएकोजस्ता घटनाहरु सामेल छन्, जुन बिषयहरु सायद मुद्दाको फैसला हुदा ध्यानमा राखिने छ ।
आफु निर्दोष भएको जनाउदै सहन्शाहले जेलबाट नै धेरै पटक राठीलाई केस मिलाइदिन आग्रह गरेका थिए । सहन्शाहले गरेको अपराधको सजाय भोगिसकेको र कसैको भबिस्य बिगार्ने नियत आफ्नो नभएकोले पाउनु पर्ने रकम वा चेक पाएको खण्डमा सहन्शाह कारागार मुक्त हँुदा गुनासो नरहने कुरा राठीले उनको घरमा मसंग छलफल हुदा बताएका थिए । सहन्शाहको भाइले बकपत्र हुनु अघि २ पटक गरि २ लाख बुझाएको मेरो जानकारीमा छ । जसमा १ पटक म स्वयम् सहन्शाहको भाइको अनुरोधमा अरुण राठीको घर गएको बेला राठीले सहन्शाहको कान्छो भाइबाट १ लाख नगद बुझेका थिए ।
१० लाख फलोअर्स भएको नाम चलेको मिडिया संचालक अपहरणको मुद्दामा पुर्पक्षको निम्ति १ बर्षसम्म जेलमा रहदा पनि थोरैले मात्र उनको बारेका चासो राखेको वा बोलेको सुनियो । सहन्शाहको मुद्दालाई लिएर समाजमा जति बहस सिर्जना हुनु पर्ने थियो त्यति बहस सृजना हुन सकेन ।
पत्रकार महासंघ मोरंगले आफ्ना सदस्यहरुलाई कहिँ कतैबाट आक्रमण भएको अवस्थामा सधै ढाल बनेर प्रतिरक्षा गर्ने गरेको छ । यो कुरा हिजोको दिनमा नागरिक दैनिकका पत्रकार खिला ढकालमाथि प्रहार हुदा होस् अथवा आवर बिराटनगर मिडियाका पत्रकार प्रेम देवानमाथि भर्खरै दुर्व्यवहारको बिषयमा स्पस्ट देख्न सकिन्छ । तर त्यहि किसिमको व्यवहार भने नेपाल टाइम्सका संचालक सहन्शाह सिद्दिकीको हकमा भएको देखिदैन ।
अदालतमा विचाराधीन मुद्दा भएको कारण पत्रकार महासंघ वा सो संग आबद्द मानिसहरुलाई बोल्न असहज भएको हुनसक्छ, जुन कुरा धरैहदसम्म जायज देखिन्छ । तर सहन्शाह सिद्दिकी पत्रकार महासंघ मोरंगको सदस्य नभएकोले संस्थाले उनको बचाउमा बोल्न आवस्यक नठानेको हुनसक्छ भन्ने तर्क एकजना संचारकर्मी मित्रले भन्दा आश्चर्यचकित भए । जबकि उनि पत्रकारिता क्षेत्रमा सक्रिय रहेको बिषय सबैलाई ज्ञात छ ।
एकजना साथीले सहन्शाहको ब्ततष्तगमभ (अरुलाई मतलब नराख्ने स्वभावको) ठीक नभएकोले मानिसहरु उनको पक्षम बोल्न नरुचाएको भन्ने धारणा ब्यक्त गरे भने, कसैले राठीले बिज्ञापन नदेलान वा दिएको बिज्ञापन रोकिदेलान भन्ने डरले पनि धेरैले बोल्न नसकेको भावना ब्यक्त गरे । केहिले घटना घटाएकै हुन् भन्ने तर्क दिए त कसैले उनि मुस्लिम समुदायको भएको र उनको नामको कारणले पनि उनीमाथि शंका गर्ने आधार रह्यो भन्ने जस्ता तर्कहरु पनि दिए । स्वयम् उनकै समुदायका मानिसहरुले पनि खासै चासो दिएको देखिएन । यदि सिद्धिकी कुनै राजनीतिक पार्टीको सदस्य भएको भए सायद उनि जेल जानु पर्ने अवस्था हुने थिएन, कुनैपनि राजनीतिक पार्टीको सदस्य नभएको कारण उनको पक्षमा उभिदिने नभएको भन्ने जस्ता तर्कहरुले म अलि झस्किए ।
यदि एकजना ब्यक्तिले आफुलाई निर्दोष साबित गर्न र उसको बिषयमा बहस सिर्जना हुनको लागि कुनै पार्टीको वा संगठनको सदस्य नै हुनुपर्ने, ठूलाबडा मानिस र नेता चिनेकै हुने पर्ने हो भने हामी कस्तो समाजमा बाचिरहेका छौ भन्ने प्रश्न आउछ । एउटा संचारकर्मीले न्याय पाउन राजनीतिक पार्टी र महासंघको सदस्य नै हुनुपर्ने, बोली व्यवहार अलि खरो र मुस्लिम समुदायको भएको आधारमा तिरस्कृत हुनुपर्ने वा जाहेरी दिने मानिस समाजको प्रतिष्ठित, पहँुच र सम्पतिवाला ब्यक्ति भएकै आधारमा कसैले जेल जीवन बिताउनु पर्ने वा न्यायमा ढिलाई हुने कुरा सभ्य समाजको लागि पाच्य हुदैन ।
यदि सहन्शाहले राठीले भने अनुसार घटना घटाएका हुन् र सबुत प्रमाणले त्यो कुरा प्रमाणित हुन्छ भने उनले कानुन बमोजिम सजायको भागेदार हुनु पर्दछ । तर उनीमाथि लागेको अभियोग उनीले घटाएको पुस्टि हुदैन र उनको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण, पक्षमा बोलिदिने र उभिदिने कोहि नभएकै आधारमा उनि जेलमा सड़ीरहनु न्याय संगत हुदैन । यसले केहि गर्छु भन्ने युवाको भबिष्यलाई अन्धकारमा धकेलीदिनेछ ।
भनिन्छ “Justice Delayed is justice Denied ” न्याय दिनमा गरिएको ढिलाई अन्याय हो । यसरी कोहि पनि ब्यक्ति अनिर्णयको बन्दी बनि रहनु हुदैन । एक बर्ष निकै लामो समय हुन्छ बर्ष दिनसम्म फैसलाको आशमा बसिरहनु निकै पीडादायी हुन्छ । त्यसैले सत्य तथ्यको छानबिन गरि छिटो भन्दा छिटो राठी र सहन्शाहको मुद्दाको फैसला हुन् जरुरी छ । जहासम्म मेरो बुझाइ छ राज्य र यसका संयन्त्रहरुको उत्पति बलियाबाट कमजोरहरुलाई बचाउनको निम्ति स्थापना गरिएको हो । कमजोर भएकै कारण कोहि अन्यायमा पर्नु हुँदैन र पहँुच र शक्ति भएकै भरमा न्याय कसैको पक्षमा हुनुपर्छ भन्ने हुदैन । आशा छ सत्य र न्यायको जित हुनेछ ।