विराटनगर – विराटनगरका केहि वार्डहरु समेटिएको सुनसरी मोरङ सिचाइ योजना अन्तरगतको हाइवे पश्चिम नहर दिनानुदिन फोहोर भएपछि विराटनगरका युवाहरुले दिर्घकालिन योजना सहित नहर सरसफाइ गर्ने भएका छन्। विराटनगर महानगरपालिकाको सहयोगमा युवाहरुको समुह ‘ अचेत नागरिक समुह’ र ‘ पाइला परिवर्तनको लागि’ ले विभिन्न चरणमा जनचेतना र दवावमुलक कार्यक्रम सहित नहर सरसफाइ वृहत अभियान संचालन गर्न लागेकोको अचेतका अध्यक्ष सविन साइमन घिमिरेले बताएका छन्।
पहिलो चरणमा माघ २० गते नोबेल गेटदेखि कन्चन केशलीया मार्गको पुलसम्म पुर्ण रुपमा सरसफाइ, रङरोगन , बोटविरुवा रोप्ने, बारबेर गर्ने काम गरी सो क्षेत्रलाई नमुना नहर बनाउने र त्यसको नियमित संरक्षण र निरिक्षण गर्ने घिमिरेले बताएका छन । त्यसपछि प्रत्येक सनिबार सफाइ अभियान हुने उनले बताए।
दोस्रो चरणमा सोहि नमुना नहर अनुरुप विराटनगरका अन्य क्षेत्रमा पनि स्थानियको सहभागिमा नहर सरसफाइ गर्दै लैजाने पनि घिमिरेले बताएका छन्। यसरी युवाहरुको पहलमा नहर सरसफाइ गर्ने क्रममा पुन: फोहोर हुन नदिन वडा तथा महानगरको सरसल्लाह र सहकार्यमा नहर फोहोर गर्नेलाई कारवाहिको लागि पनि युवाहरुले पहल गर्ने ‘पाइला परिवर्तनका लागि’ का अध्यक्ष ग्याल्जेन डुक्पा लामाले बताएका छन्।
त्यसका साथै नहर सरसफाइ वृहत अभियान गरिरहदा आवश्यक परेको खन्डमा सरोकारवालालाई खबरदारी गर्न विभिन्न दबाबमुलक कार्यक्रम पनि गरिने संयोजक संजयबाबु शर्माले बताए। स्थाानियवासि तथा व्यवसायिहरुलाई ‘ पानी जीवन हो , पानीको स्रोत सफा राख्नु जीवन बचाउनु हो’ भन्ने मुल नाराका साथ चेतनामुलक कार्यक्रमहरु पनि गर्दै जाने पनि अचेतले जनाएको छ ।
केहि समय नहर सफा गरेर मात्र नहर सफा नहुने हुँदा दिर्घकालिन योजना सहित अगाडि बढ्ने युवाहरुको योजना रहेको छ। स्थानीय सरकार ,विभिन्न निकाय तथा सरोकारवालाको सहकार्यमा गर्न सकिने दिर्घकालिन योजनाहरुमा नहर सरसफाइ सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रत्यक्ष तथा संचार माध्यमबाट निरन्तर गर्ने ,फोहोरलाई मोहोर वृहत कार्यक्रम , कुहिने फोहोरबाट घर घरमा मल बनाउन सिकाउने र सोहि मल खरिद गर्ने , नकुहिने फोहोरबाट पनि विभिन्न वस्तुहरु बनाउने तालिम प्रदान गरी त्यसबाट आय आर्जन गर्ने ,ग्रिन स्कुल कन्सेप्ट,पुरस्कार र दण्ड जरिवाना , व्रिक्षारोपण तथा चेतनामुलक पेण्टिङ्ग तथा रंगरोगन, सिसिटिभी जडान ,गस्ती टोली परिचालन तथा नहरको अतिक्रमण गरिएको भु-भाग पहिचान गरी खालि गराउने जस्ता योजनाहरु रहेको अचेतका अध्यक्ष घिमिरेले बताएका छन्।
युवाहरुले आयोजना गरेको यस कार्यक्रममा विराटनगर महानगरले पुर्ण रुपमा सहयोग गर्ने विराटनगर महानगरपालिका सरसफाइ विभागका प्रमुख पुनम दाहालले बताए। महानगरपालिकाले विराटनगरलाई सफा बनाउने अभियान गरिरहेकोमा युवाहरु अग्रसर भएर नहर सफाइ गर्न दिर्घकालिन योजनासहित अग्रसर भएकोमा महानगरको विराटनगर सफाइ अभियानमा ठुलो टेवा पुग्ने दाहालले बताएका छन्। युवाहरुको यस अभियानमा महानगरले फोहोर उठाउने ट्रयाक्टर र आवश्यक सफाइ उपकरण उपलब्ध गराउनुका साथै सफाइ तथा अन्य कर्मचारीहरुले पनि सरसफाइ अभियानमा श्रमदान गर्ने दाहालले जानकारी दिएका छन्।
बिहिबार यस विषयमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासंग पनि आयोजक टिमले वैठक बसेको थियो। मेयर कोइरालाले अभियानप्रति खुशी हुँदै सामाजिक हितमा अगाडि बढ्ने हर युवाहरुलाई आफुले सहयोग गरिरहेको प्रष्ट्याउँदै यस अभियानमा पनि महानगरको पुर्ण साथ रहने प्रतिवद्धता जनाएको संयोजक संजयबाबु शर्माले जानकारी दिए।