विराटनगर । मोरङ अदालतले विराटनगरबाट सञ्चालित नेपाल टाइम्सका संस्थापक तथा सञ्चालक अब्दुल खताब (शाहंशाह सिद्दीकी) विरुद्धको मुद्दामा बहस नोट पेस गर्ने आदेश दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले बिहीबार मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेस गर्न आदेश दिएको हो ।
बहसलाई छोट्टाउन सरकारी पक्ष र प्रतिवादीका कानुन व्यवसायीबाट बहस नोट झिकाइएको हो । दश दिनको समय दिएर बहस नोट माग गर्ने आदेश आएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । बहस नोट बुझाएपछि फेरी पेशी तोकिने उनले बताए ।
सिद्दीकीको मुद्दामा पटक पटक पेसी तोकिँदै आए पनि फैसला नभई सर्दै आएको छ । झन्डै १५ महिना देखि प्रहरीको हिरासत हुँदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागारमा रहेका खताबले विराटनगरका व्यवसायी अरुण राठीलाई अपहरण गरेको आरोप छ । २०७९ मङ्सिर १४ गते भएको भनिएको घटनाबारे मङ्सिर १८ गते राठीले मोरङ प्रहरीमा जाहेरी दिएका थिए । नेपाली टाइम्सका सञ्चालकसमेत रहेका राठीले अर्का सञ्चालक खतावविरुद्ध दिएको जाहेरीपछि मङ्सिर २९ गते उनी प्रहरीसामु उपस्थित भएका थिए ।
खताब २०७९ साल पुस २८ गते पुर्पक्षको लागि कारागार चलान भएका हुन् । सो प्रकरणमा उनका चालक जयकुमार राम भने १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । राठीले आफूलाई बोलाई बन्धक बनाएर १५ लाख रुपैयाँ असुल गरेको आरोप खताबमाथि लगाएका छन् । खताबले भने मिडिया साझेदार रहेकोले उनले सो रकम नेपाली टाइम्सलाई दिएको र कुनै अपहरणको घटना नभएको जिकिर गर्दै आएका छन् ।
दुई साझेदारबीच भएको आपसी मतभेदको कारण आफू कारागारमा बस्नु परेको खताबको गुनासो छ । राठीले प्रहरीमा दिएको उजुरी अनुसार, खताबले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मङ्सिर १४ गते अपहरण गरी शरीर बन्धक बनाइ फिरौती लिएका थिए ।
राठी नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य हुन् । उनी गत प्रदेशसभा निर्वाचनमा एमालेको समानुपातिक सुचीका उम्मेदवारसमेत थिए ।
( रातोपाटि अनलाईनबाट साभार गरिएको )