भनिन्छ क्षमता (ट्यालेन्ट) सबैसँग हुन्छ, तर त्यो क्षमतालाई अगाडी बढाउने अनुशासन कमै मानिसहरुमा हुन्छ ।
संसारमा सबै मानिसहरु कुनै न कुनै क्षेत्रमा हामि भन्दा जान्ने हुन्छन । तर क्षमता मात्र भएर हुदैन, त्यो ट्यालेन्टलाइ मूर्तरुप दिनको निम्ति अनुशासन नितान्त आवस्यक छ । हामीले समाजमा यस्ता धेरै मानिसहरु देख्छौ जो संग ट्यालेन्टको कुनै कमि थिएन तर पनि उनीहरु असफल छन् । अर्को तिर यस्ता धेरै मानिसहरु भेटिन्छन्, जोसँग ट्यालेन्ट थिएन तर पनि सफल भएका छन् । यदि व्यक्तिसँग ट्यालेन्ट छ तर अनुशासन छैन भने, ट्यालेन्ट नभएको तर अनुशासन भएको मानिसले ढिलै भएपनि ट्यालेन्ट भएको मानिसलाई उछिनेर अघि बढ्न सक्छ भन्ने उदाहरण संसारमा धेरै छन् । त्यसैले यदि मलाइ कसैले तपाइँ ट्यालेन्ट भएको मानिससंग काम गर्न रुचाउनु हुन्छ कि अनुशासन भएको मानिससँग भनेर सोध्छ भने म अनुशासन भएको मानिस रोज्दछु ।
महान संगीतज्ञ विथोविनलाइ कन्सर्ट पश्चात एकजना महिलाले सोध्छिन्, “तपाइँ कसरी यति उत्कृष्ट संगीत दिन सफल हुनुभयो ? मपनि यत्तिको राम्रो संगीतज्ञ बन्नको निम्ति के गर्नु पर्छ ?” विथोविन भन्दछन्, “म्याडम तपाईँपनि म जस्ता दैनिक ८ घण्टा ४० बर्ष प्राक्टिस गर्नुस, तपाइँ पनि म जत्तिकै संगीत बजाउन सक्नु हुनेछ” ।
माइकल एन्जेलोलाइ “तपाइँ कसरी यति राम्रो मुर्ति र चित्रहरु बनाउनु हुन्छ” भनेर एकजना व्यक्तिले सोधेको जवाफमा माइकल एन्जेलो भन्दछन्, यदि मैले गरेको मिहेनत तपाईले देख्नु भएको भए सायद तपाइँ मेरो सफलताको बारेमा सोध्नु हुने थिएन । यी सबै कुराको निम्ति मैले दिनरात मेहेनत गरेको छु । सफलता त्यतिकै हात लाग्दैन, त्यसको पछाडी धेरै कुराले भूमिका खेलेको हुन्छ, जस्मद्धे मिहिनेत र अनुशासन (Discipline) को महत्वपुर्ण भूमिका रहेको हुन्छ ।
जिम रोन भनाइ अनुसार, लक्ष र लक्ष प्राप्ति बीचको सेतु हो अनुशासन । अनुशासन धेरैलाई मन पर्दैन, तर पनि सफलताको निम्ति यो कुरा अत्यावस्यक छ । जतिबेला हाम्रो मन र बिचारले हामीलाई दिग्भ्रमित गरिरहेको हुन्छ, त्यसबेला अनुशासनले हामीलाई सहि काम गर्न दिशानिर्देश गर्दछ । उदाहरणको लागि जाँचको बेला सायदै हामीलाई पढ्न मन लाग्छ, उसबेला हामीलाई फेसबुक चलाउन, टिभी, सिनेमा हेर्न, बजार घुम्न, साथीभाइ संग गफ गर्न, खेल्न मन लाग्न सक्छ । तर बिद्यार्थी भएकोले यदि हामीले अन्य कुरा भन्दा पढाइ तर्फ बढी ध्यान केन्द्रित गर्ने अनुशासन देखाएको खण्डमा राम्रो नतिजा ल्याएर पास हुने सम्भावना रहन्छ, अन्यथा आशा गरे अनुसारको नतिजा प्राप्त हुदैन ।
भनिन्छ जीवनमा दुइ किसिमको पिडा हुन्छ, एउटा अनुशासन पालना गरेको पिडा, अर्को पश्चातापको पिडा । कास ! मैले हिजोको दिनमा यो कुरा गरेको भए आजको दिन यो परिस्थिति भोग्नु पर्ने थिएन भन्ने कुरा पश्चातापको पिडा हो, जसलाई अनुशासनमा बसेर समाधान गर्न सकिन्छ । कुनैपनि प्रकारको अनुशासन सहज भने हुदैन, तर यसले अन्त्यमा सहि नतिजा नै निम्त्याउँछ । छोरा मानिस होस् कि छोरी मानिस, हामि सबै आकर्षक शरिर होस् भन्ने कामना गर्दछौ, तर आकर्षक शरीर त्यसै बन्दैन । राम्रो र आकर्षक शरिर उसैले बनाउन सक्दछ जसले खानपिन, शारीरिक व्यायाम र स्वास्थमा अनुशासन देखाउँछ । ४० डिग्रीको गर्मीमा ५० केजीको फलाम हरेक दिन २ घण्टा वर्षौसम्म उठाउन र खानामा परहेज गर्ने कुरा सहज हुदैन, त्यसको लागि कडा अनुशासन चाहिन्छ ।
यदि कुनै खेलाडीले १० सेकेन्डमा १०० मिटर दौड दौडेर रेकर्ड राख्दछ भने १० सेकेन्डमा रेकर्ड राखेको देखिएपनि त्यसको पछाडी उसको बर्षौको मिहेनत रहेको हुन्छ भन्ने कुरालाई बिर्सिनु हुदैन । जति बेला अरु मानिस रमाइलो गर्न र मनोरन्जन ब्यस्त थिए त्यो खेलाडी रमाइलो गर्ने इच्छा त्यागेर आफ्नो लक्षको पछाडी दौडिरहेको थियो । रमाइलो गर्ने इच्छा उसको पनि नभएको हैन, तर उसले आफ्नो लक्षमा पुग्नको निम्ति अनुशासन कायम राख्न आवस्यक थियो । अनुशासनको पीडाले अन्तत राम्रै नतिजा ल्याउँछ ।
अनुशासन र आदतको गहिरो सम्बन्ध हुन्छ । हामि त्यहि अनुशासनलाई पालना गर्दैछौ जस्तो आदतलाई हामि बढावा दिन्छौ । त्यसैकारण आदत बिचार गरेर मात्र रोज्नु पर्दछ । पहिला मानिसले आदत बनाउँछ, अनि आदतले मानिसलाई । यो कुरालाई एउटा उदाहरणले बुझ्ने प्रयास गरौ ।
एउटा गाउँमा बाढी आएको थियो । मानिसहरुको घरमा पानी पस्न थाले पछि ओत लाग्न सबैजना अग्लो पुल तर्फ लागेछन् । पानीको बहाव ठुलो थियो, धेरै कुरा बगाएर ल्याएको थियो । एकजनाले चिच्यायो “अरे कम्बल बगाएर ल्याएको छ”, अर्कोले कम्बल निकाल्न लुगा खोलेर खोलामा हाम फाल्छ । कम्बल पक्रिए पछि बचाउ-बचाउ भनेर हल्ला गर्न थाल्छ । बाहिरका मानिसहरु उसलाई हकार्दै भन्छन, “कम्बल तान्न सकिनस् भने बाहिर आइज, के को हल्ला गरेर बस्छस् । खोला भित्रको मानिसले भन्छ, “यो कम्बल हैन रहेछ, यो त भालु रहेछ, मैले त यसलाई अघि नै छोडिसके तर अब यसले मलाइ पक्डिएको छ” ।
आदत त्यस्तै कुरा हो, पहिले हामि यसलाई पकड़छौ, त्यसपछि आदतले हामीलाई पकड़छ, जसबाट निस्कन हामीलाई मुश्किल पर्दछ । भनिन्छ आदत जाडोको न्यानो ओछ्यान जस्तो हुन्छ, जसभित्र छिर्न सजिलो हुन्छ, तर निस्कन गाह्रो । आदत भन्ने कुरा एकदम बलियो हुन्छ, एकपटक यसको चंगुलमा फसेपछि निस्कन सहज छैन । मानिसहरु परिवार, साथीभाइ, इष्टमित्र, जागिर, इज्जत सबैकुरा गुमाउन तयार हुन्छन, तर आदत छोड्न तयार हुँदैनन् । आदतलाई छोड्नु भन्दा पनि यसलाई निरन्तरता दिन सहज महसुस हुन्छ ।
कुनैपनि कुरालाई लामो समयसम्म दोहर्याइरहेको खण्डमा आदत बन्न पुग्दछ । आदत राम्रो र नराम्रो दुवै हुन सक्छ । राम्रो आदतले मानिसलाई राम्रो नतिजा दिन्छ भने नराम्रो आदतले मानिसको ब्याक्तित्वलाइ नकारात्मक बनाइ असफलता तर्फ धकेलिदिन सक्छ l पढ्ने, खेल्ने, व्यायाम गर्ने, चिया खाने, खैनी, चुरोट, गुटका, रजनीगन्धा, रक्सि, गाँजा, लागु पदार्थ सेवन आदि जस्ता कुराहरु सबै आदत हुन् । लामो समयसम्म यी कुराहरुलाई दोहर्याइरहेको खण्डमा यी मद्धे कुनै पनि विषयहरुको लत बस्न सक्छ । जुन कुराहरुलाई मन र सरिरले पुनुरुक्ति गर्न चाहन्छ, नपाएको खण्डमा मन र सरिरलाइ बेग्लै किसिमको छटपट्याहट र बेचैनी हुन सक्छ ।
पहिलो चोटी चुरोट खानेलाई खोकी लागेको हुन सक्छ, खैनी र गुटका खानेलाई वाकवाकी लागेको हुन सक्छ, बियर र रक्सि खानेलाई तितो वा टर्रो लागेको हुन सक्छ, गाँजा र लागुपदार्थ सेवन गर्नेहरुलाई २ दिन सम्म होस् नआएको हुन सक्छ । आदत एकै दिनमा बस्ने कुरा हैन, आदत बन्नलाई समय लाग्छ । त्यसैकारण धेरैलाई यो समस्या हो जस्तो लाग्दैन । खराब लतको सिकार एकैदिनमा नहुने भएकोले व्यक्तिलाई जतिबेला पनि यसबाट निस्कन सक्छु भन्ने आत्मविश्वास रहन्छ । तर बिस्तारै यसको लतमा फसेपछि भने निस्कन निकै गाह्रो पर्दछ । तर राम्रो कुरा के हो भने आदत बदल्न सकिन्छ । अलि गाह्रो होला, तर नराम्रो आदतलाई राम्रो आदतले प्रतिस्थापन गर्न सकिन्छ ।
आज हामि जे छौ त्यो हाम्रो आदतको कारण छौ, हाम्रो ब्यक्तित्व र चरित्र कस्तो हुनेछ भन्ने कुरा हाम्रो आदतमा भर पर्दछ । हामि सफल छौ कि असफल, सुखी छौ कि दुखि, धनी छौ कि गरिब, सकारात्मक छौ कि नकारात्मक भन्ने कुरा धेरै हदसम्म हाम्रो आदतमा भर पर्दछ । त्यसैले म फलानोको कारणले गर्दा बिग्रिए वा सप्रिए भन्नु बेकार छ । मानिस अन्तत आफ्नै आदत र अनुशासनको कारणले गर्दा सप्रिन्छ वा बिग्रिन्छ ।
William Jennings Bryan भन्दछन् “Destiny is not a matter of chance; it is a matter of choice अर्थात भाग्य मौका भन्दा पनि ब्यक्तिको निर्णय र छनौटको बिषय हो । मानिसले जीवनमा जस्तो निर्णय र छनौट गर्दछ त्यहि अनुसारको भविस्य र भाग्य निर्माण गर्दछ । सफलता अनायास आउने होइन, हाम्रो भोलि जहिले पनि हाम्रो आजबाट सृजित हुने भएकोले आजको दिनमा हामि कस्तो निर्णय लिन्छौ, कस्तो आदत र अनुशासनलाई पस्छ्याउछौ भन्ने कुराले हाम्रो भबिस्यलाइ प्रभावित पार्छ ।