– सविन घिमिरे
विराटनगर वार्ड न ३ स्थित मंलबार राति भयानक मोटर साइकल दुर्घटना भएको छ। दुर्घटनामा परी विराटनगर वार्ड ३ का ५० वर्षीय पुरुष गम्भिर घाइते भएका छन्। उनको हाल विराटनगर स्थित आर्य न्युरो अस्पतालमा आइसियुमा उपचार भइरहेको छ।
मंलबार राति षडानन्द चोकमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन ( मापसे ) जाँच गरिरहेकोमा दुर्घटनामा परेका व्यक्ति कन्चनबारी तर्फको बाटोबाट षडानन्द चोक आइरहेका थिए। केहि प्रत्यक्षदर्शीहरुले बताए अनुसार चेकिङलाई छल्न ती व्यक्तिले आफ्नो बाइकलाई वडा ३ कार्यलय छेउको सडकतर्फ लगे । त्यहा पनि ट्राफिक देखेपछि उनी सडानन्द चोक छेउको सडकबाट उत्तर तर्फ भाग्न खोजे । चोकमा बसेका एक ट्राफिक प्रहरीले लाठीले हान्न खोज्दै खेदाएपछि ती व्यक्ति भाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा यस घटनाबारे बुझ्दा प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक प्रहरीले लाठी प्रहार नगरेको तर भाग्न खोज्दा अनियन्त्रित भइ दुर्घटना भएको बताएका छन्।
यस घटनामा निष्पक्ष अनुसन्धानमा सहयोग पुग्ने एउटा माध्यम घटनास्थलमा जडित ३ वटा सिसिक्यामेरा हो।हामी सिसिटिभी फुटेजका लागि वडा ३ कार्यलयमा पुगेका थियौ। वडा ३ का अध्यक्ष वाशु बहादुर बस्नेतबाट सिसिटिभी ६ महिनादेखिनै बिग्रिएको जानकारी प्राप्त भएको छ। सिसिटिभी फुटेज सुरक्षित नहुनुले यस घटनाको अनुसन्धानमा बाधा पुग्ने देखिएको छ।