नेपाल सुनचाँदी कालिगढ संघ इटहरीको अध्यक्षमा लाल बहादुर विश्वकर्मा निर्विरोध चयन भएका छन्। पुरानो कार्यसमितिका अध्यक्ष , उपाध्यक्ष , सचिव तथा कोषाध्यक्षले राजिनामा दिएपछि पुरानो समिति विगठन गरी नया समिति चयन गरिएको हो। बिहिबार संघको कार्यलयमा भएको साधारण सभामा निर्विरोध ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो। नया कार्यसमितिको अध्यक्ष लाल बहादुर विक सहित उपाध्यक्ष अनिश तिरुवा , सचिव निकेश शंकर , उपसचिव सुमन शंकर , कोषाध्यक्ष मोहन बराइली चयन भएका हुन् । त्यस्तै सदस्यमा रमेश लकान्दी , डेविड लोहनी , बलराम खाती , अनुप तिरुवा , विकाश बराइली र धन बहादुर विश्वकर्मा निर्विरोध चयन भएका छन् भने वरिष्ठ सल्लाहकारमा रंजित खाती , मनोज सेन्चुरी , विक्रम रसाइली र सविन साइमन घिमिरे रहेका छन् ।
निवर्तमान सचिव रन्जित खाती लगायत निवर्तमान सदस्यहरुले नया समितिलाई सपथ ग्रहण गराई कार्यभार सुम्पिएका थिए। खाती लगायतका पुराना कार्यसमिति सदस्यहरुले नया कार्यसमितिलाई जिम्मेवार हस्तान्तरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए।
नव निर्वाचित अध्यक्ष लाल बहादुर विकले आफु अन्यायमा पर्दा कालिगढ संघले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै आफ्नो कार्यकालमा सुनचाँदी कालिगढ़हरुको हक , हित र अधिकारको लागि आफ्नो टीम अग्रस्थानमा उभिने बताएका थिए । त्यस्तै कलिगढ़ व्यवसायमा विद्यमान समस्याहरु निराकरणको लागि पहल गर्दै सामाजिक दायित्वका क्रियाकलापहरुमा पनि संघलाई अगाडी बढाउने बताएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष विकले कालिगढहरुको व्यक्तिगत , पारिवारिक , सामाजिक तथा व्यवसायीक समस्याहरुबारे अध्ययन तथा छलफल गरी त्यसको निराकरणका लागि आफुहरुले दिर्घकालिन योजनाहरु ल्याउने पनि बताएका थिए ।
इटहरीका हजारौ सुनचाँदी कालिगढहरुलाई संगठित गरेको नेपाल सुनचाँदी कालिगढ़ संघ इटहरी २०७६ सालमा स्थापित मुनाफारहित जनहितकारी अविछिन्न स्वशासित सामाजिक एवं परोपकारी संस्था हो । झुटो मुद्धामा ३ करोड बढी जरिवाना र १८ महिना जेल सजाय सुनाइएर ८ महिना जेल समेत बसेर छुटेका लाल बहादुर विश्वकर्माले संघको नेतृत्व लिएकोमा आफुहरु खुशी रहेको र आफुहरुको हक हित र व्यवस्थापनको लागि पनि विकको नेतृत्वले नयाँनयाँ कामहरु गर्नेआशा रेहको उपस्थित कालिगढहरुले बताएका थिए ।