काठमाडौं– भारत सरकारले प्याज निर्यातमाथि गत वर्ष अगष्टदेखि लगाएको प्रतिबन्ध सनिबारदेखी हटाएको छ ।
नेपालमा खपत हुने करिब ९० प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । नेपाली बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो औषत ६० रुपैयाँ छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएकोले अब आयात हुने प्याजको मूल्य महँगो हुने व्यवसायीले बताएका छन् ।
भारतले शनिबारदेखि नै लागु हुने गरी प्याजको मिनिमम एक्सपोर्ट प्राइस (एमईपी) पनि तोकेको छ । प्रतिटन ४५ हजार ८ सय भारतीय रुपैयाँ एमईपी तोकिएको हो । भारत सरकारले गत वर्ष अगष्टदेखि ३१ डिसेम्बरसम्म प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क तोकेको थियो ।
यस्तै, ८ डिसेम्बरदेखि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । डिसेम्बरमा भारतीय बजारमा प्याजको मूल्य ८० रुपैयाँसम्म पुगेको थियो । भारतमा यो वर्ष १ करोड ९१ लाख टन प्याज उत्पादन हुने अनुमान छ । भारतको घरेलु बजारमा मासिक १७ लाख टन प्याज खपत हुन्छ ।
#karobarDaily