कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।एमालेका नेता हिक्मतकुमार कार्की यसअघि पनि दुई पटक मुख्यमन्त्री भइसकेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्कीलाई अघि सारेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै दाबी पेश गर्नका लागि संविधानको धारा १६८ को उपधारा (५) अनुसार वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
प्रदेश प्रमुख खापुङले भने मुख्यमन्त्री केदार कार्कीलाई समर्थन दिएका ५२ सांसदले समर्थन फिर्ता लिएको र प्रदेशसभाबाट समेत विश्वासको मत लिनेसम्बन्धी संकल्प प्रस्ताव पारित भएको अवस्थामा मुख्यमन्त्री कार्कीले त्यसबारे कुनै प्रस्ताव नगरेपछि बहुमत सांसदको मागबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको प्रदेश प्रमुख खापुङले जनाएका छन् भने मुख्यमन्त्री खोसिएपछि हालका मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत जाने भएका छन् ।