विराटनगरमा सिटी सफारी चलाएरै आफ्नी छोरीलाई आँखाको चिकित्सक बनाइसकेका कटहरीका श्याम कुमार चौधरीको छोरा पनि राष्ट्रसेवक प्रहरी बनाइसकेका छन्। आमाबुबाले ३ वर्षको उमेरदेखि नै मामाघरमा छाडिदिनुभएपछि श्याम कुमारले मामाघरमै हुर्केर २०४२ सालमा एसएलसी पास गरे। आर्थिक अभावका कारण त्यस पछिको पढाइलाई निरन्तरता दिन नसकी उनले पढाइ छाडेर ट्याक्टरमा लेभर काम गर्न थाले । ट्याक्टरमा काम गर्दागर्दै उनले विवाह गरे।
विहे पश्चात पारिवारिक दायित्व बढ्दै गएपछि उनी कृषितर्फ लागे । विभिन्न बालीनाली उब्जाउदै छोराछोरी हुर्काउदै गरेका श्याम कुमारले पछि भैसी पालन समेत गरे । भैसी पालेको समयमा श्याम कुमारले दैनिक १८० लिटर दुध विक्री गर्दथे। १७ वर्ष सम्म भैसी पालन गरेर दुध विक्री गर्दै गरेका उनले पछि सिटी सफारी कुदाउन थाले । कोरोना महामारी पछि भने आम्दानी घट्दै गएको बताउने श्याम कुमारले सिटी सफारीबाट १५ घण्टा खटेर दैनिक हाल २ हजार देखि २२ सय सम्म कमाइ हुने बताउछन । त्यसो त उनले फोरम आन्दोलनको बेला एक दिन ९ हजार २ सय पनि कमाएका छन् भने बोनी नभएको त दिने हुदैन ।
४ जनाको सुखी परिवार रहेको उनको छोरी हाल भारत पुनमा आखा चिकित्सकको रुपमा कार्यरत छिन । उनका छोरा राष्ट्र सेवक प्रहरीका रुपमा कार्यरत छन् । सिटी सफारी चलाएको कमाइबाटै छोरा छोरीलाई उच्च्च शिक्षा हासिल गराउन सफल भएको बताउने ५९ वर्षीय चौधरीलाई अझै १० वर्ष सिटी सफारी चालककै रुपमा स्थापित हुने इच्छा छ।
सिटि सफारी संघ बुढिगङ्गा इकाई कमिटीका अध्यक्ष समेत रहेका चौधरीले विराटनगरमा बढ्दो सिटि सफारीको चापको विषयमा राज्यले चासो देखाउनुपर्ने धारणा राख्दछन । अधिकाङ्ग्स सिटी सफारी चालकलाई ट्राफिक नियम थाहा नभएको कारण जतापाए त्यतै मोडिदिने , साइडलाइट नबाल्ने , हतार गरेर मोडीदिने जस्ता कारण दुर्घटनाको जोखिम बढेको बताउदै यसमा राज्यका निकायहरुले रेखदेख गर्नुपर्ने उनी बताउछन । मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरेर सिटी सफारी चलाउने चालकहरु पनि रहेको कारण त्यसलाई राज्यले नियमन गरेर त्यस्ता चालकहरुलाई रोक लगाउनुपर्ने चौधरीको भनाई छ । साथै सिटी सफारी चालकहरुलाई लाइसेन्सको व्यवस्था गरेर रुट निर्धारण गरी व्यवस्थापन गर्न सके शहर व्यवस्थित हुन पनि सहयोग पुग्न सक्ने चौधारीको विचार रहेको छ । लाइसेन्सको विषयमा थप आफ्नो भनाई राख्दै चौधरीले अधिकाङ्ग्श सिटि सफारी चालक पढ्न लेख्न नजान्ने भएका कारण लाइसेन्सको लिखित परिक्षा दिन नसकेको कारण लाइसेन्स पाउनबाट बन्चित रहेको बताउंदै यस्ता चालकहरुलाई पनि लाइसेन्स निकाल्न सक्ने प्रवाधान राज्यले ल्याउनपर्ने बताएका छन्।
विराटनगरमा हाल सिटी सफारी पार्किङ्ग गर्ने समस्या , सिटी सफारी दर्ता समस्या , रुटको समस्या जस्ता विभिन्न समस्या यथावत छन् । स्थानीय सरकार , ट्राफिक प्रहरी कार्यालय , यातायात विभाग , कानुन मन्त्रालय लगायतका निकायहरुमा पटकपटक ज्ञापनपत्र लिएर गएका श्यामलाल चौधरीको सिटी सफारी चालकलाई पढ्न लेख्न नजानेको कारण दक्ष सफारी चालकलाई पनि लाइसेन्स बनाउन रोकिएकोमा राज्यले राम्रो योजना बनाउनुपर्ने धारणा छ । साथै सवारी चालकको अनुशासनको निगरानी पनि राज्यले निरन्तर गर्नुपर्ने उनी बताउछन ।