-सविन घिमिरे
रुपन्देही सुद्धोधन गाउँपालिका वार्ड ४ की मनरुपा रेग्मीले आफ्नो घर बेचेको ३ वर्ष पुग्न लाग्यो । १५ धुर जग्गामा बनेको एकतले घर ६४ लाखमा किनबेच भएपनि आफुले पाउनुपर्ने पैसा नपाउँदा रेग्मी परिवारको यतिबेला उठिबास लागेको छ । मनरुपाको घर २०७८ मंसिर १५ मा कपिलवस्तु वार्ड ४ का खुबवज गिरीले खरिद गरेका हुन् । खरिद गर्दा गिरीले मनरुपालाई विभिन्न मितिको ६३ लाखको चेक दिएपनि उक्त चेकको रकम नसाटिदा मनरुपाले हालसम्म पनि पैसा पाएकी छैनन् । चेकको विश्वासको आधारमा आफ्नो घर खुमवजको नाममा पास गरिदिएकी मनरुपाको परिवार यतिबेला न्यायको खोजीमा भौतारिरहेको छ । मनारुपाकी श्रीमान ७२ वर्षका भए । रेग्मी दम्पतिको ६ जना छोरीमध्ये एक ५ जनाको विहे भइसकेको छ भने कान्छी छोरी आशा उनीहरुसंगै छिन ।
आफ्नो १० कट्ठा खेत बेचेर बाँकी ऋणमा घर किनेका रेग्मी दम्पतीले सोहि ऋण तिर्न नसकेपछि घर बेच्ने निधो गरेका थिए । तर दलालले घरजग्गा कुम्ल्याएपछि उनीहरुले न त साहुको ऋण तिर्न सके न त घर नै आफ्नो भयो ।
बुटवल १२ तामनागरकी माया सुवेदीले घर खरिद गर्ने खुमवजलाई घरधनी मनरुपाकी माइला ज्वाईं राजेश लामसालसंग सम्पर्क गराएकी थीइन । आफ्नै ज्वाइको विश्वासको आधारमा घर पास गराएका रेग्मी दम्पतीले २०७८ मंसिर १५ गते मालपोत कार्यालय भैरहवामा गएर खुमबज गिरीलाई घरजग्गा पास गरिदिएका थिए । घर पास गर्दा गिरीले सोहि दिनको मितिमा १० लाख रुपैयाको चेक काटेर दिएका थिए । तर सो चेक नसाटिएको र त्यसपछि खुमबजले ४ लाख रुपैया नगद ल्याएर दिएको मनरुपाले बताइन । त्यस्तै २०७८ माघ १५ गतेको मितिमा २५ लाख रुपैयाको दोस्रो चेक र २०७८ चैत्र ३० गतेको मितिमा २८ लाख रुपैयाको तेस्रो चेक काटेर खुमबजले मनरुपालाई दिएका थिए । त्यसबाहेक छुट्टै १ लाख नगद मनरुपाले पाएकी थिइन् । यसरी ६४ लाख रुपैया घरधनीले पाउने गरी घर खरिद विक्री भएको देखिएपनि घर खरिद विक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ ।
यता घर किनबेचमा संग्लग्न ज्वाई राजेशले किनबेचमा मुख्य पात्रको रुपमा देखिएकी मायाले आफुलाई धोका दिंदा ससुरालीसंग पारिवारिक सम्बन्ध बिग्रिएको बताउदै आएका छन् । मनरुपा रेग्मीकी ७२ वर्षीय पति रत्नाखर रेग्मीले भने पैसा प्राप्त नहुँदा सम्म आफुहरुले घर पास गर्न नामाने पनि ज्वाइले भनेपछि पास गरिदिएको बताएका छन् । पिडीत रेग्मी दम्पतीले चेक बाउन्समा उजुरी हाल्ने तयारी त्यति नै बेला गरेपनि वृद्ध दम्पतिको सोझोपनको फाइदा उठाउदै घर किन्ने खुमबजले नगद ल्याएर दिन्छु भन्दै झुलाएर छ महिना कटाएको पिडितले बताएका छन् । हाल काठमाडौँ बस्दै आएका खुमबजले गरेको ठगी विरुद्ध पिडित रेग्मी दम्पतीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गराएपनि प्रहरीले यसबारे कुनै पनि कारबाही अगाडि बढाएको पाइएको छैन ।
रेग्मी दम्पतीको जग्गा किनेर ६० लाखभन्दा बढी रकम नतिरी पिडीतबाट सम्पर्कबिहिन भएका खुमबज गिरीले रेग्मी दम्पतीबाट खरिद गरेको घर जग्गा सृजना श्रेष्ठलाई विक्री गरी सकेको पनि खुलेको छ । यसरी आफ्नो घर जग्गा दलालले ठगेर पैसा नदिदा आफुहरुको विचल्ल्ली भएको बताउंदै आत्महत्या गर्ने अवस्थामा समेत पुगेको रेग्मी दम्पतीकी छोरीले हामीलाई बताएकी छिन । छोरी आशा न्यायको लागि प्रहरी , स्थानिय सरकार , वकिल कार्यालय जस्ता निकायहरुमा धाइरहेकी छिन भने उनको पढाइ पनि यहि कारणले अघाडि बढ्न सकेको छैन ।