काठमाडौं- सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको छ । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भएपनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए ।
यसका लागि सरकारले कानूनमा आवश्यक संशोधन हुनेगरी सहकारीताको सिद्धान्त र नीति बमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गर्ने भएको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बचत तथा सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए । उनले बचत तथा ऋण सहकारीलाई एक आपसमा मर्ज हुन सहजिकरण गरिने बताए ।
सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र एक घर परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा ५ लाखसम्म बचत राख्ने सदस्यको बचत रकम फिर्ता गरिने घोषणा पनि गरिएको हो ।
यस्तै, सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको लागि ६ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको लागि ६ अर्ब ८२ करोड रकम विनियोजन गरेको बताए ।